क्यानाडामा ६०० मेगाहर्ज ब्याण्ड अक्सन, ३.५ बिलियन डलर कमाई

क्यानाडाले मोबाइल सेवाहरुका लागि ६०० मेगाहर्ज ब्याण्डमा उपलब्ध भएको ७० मेगाहर्ज अक्सन गरेर ३.४७ बिलियन क्यानेडियन डलर उठाएको छ । समग्रमा कुल १०४ वटा लाइसेन्स ९ वटा क्यानेडियन कम्पनीहरुलाई अवार्ड गरेको छ भने त्यसमध्ये ४० वटा लाइसेन्स क्षेत्रिय सेवा प्रदायकहरुलाई दिएको छ ।

क्षेत्रिय सेवा प्रदायकले यो अक्सनपछि उनीहरुसँग रहेको लो ब्याण्ड स्पेक्ट्रमको हिस्सालाई दोब्बर बनाउने छन् । यसले गर्दा तिब्रगतिमा बिस्तार भईरहेको मोबाइल सेवाहरुमा तिब्र प्रतिस्पर्धा हुने र गुणस्तरमा पनि सुधार हुने क्यानेडियन सरकारको अपेक्षा छ ।

यहि गएको मार्च १२ मा शुरु भएको अक्सनमा १२ योग्य बोलीलगाउनेहरु सहभागी थिए । ६०० मेगाहर्ज ब्याण्डमा रहेको ७० मेगाहर्जलाई कुल १० मेगाहर्ज ब्लकमा प्रत्येक सेवा क्षेत्रहरुको लागि छुट्याईएको थियो, जसमा ३० मेगाहर्ज क्षेत्रिय सेवाप्रदायकहरुका लागि प्रत्येक क्षेत्रमा राखिएको थियो । केबल ८ ब्लकमा अक्सनमा राखिएको थिएन् ।

क्यानाडामा भएको ६०० मेगाहर्ज ब्याण्डको अक्सनमा रोगर्स वायरलेसले सबैभन्दा धेरै स्पेक्ट्रम हासिल गरेको छ । जसले ५२ वटा लाइसेन्सका लागि १.७२५ बिलियन क्यानेडियन डलर खर्च गर्यो, यो कम्पनीले करिब ३५.१ मिलियन जनसंख्यालाई कभर गर्ने अनुमान गरिएको छ । कम्पनीले सबै उपलब्ध ब्लकहरु लिएको थियो । यी फ्रिक्वेन्सीहरु भविश्यमा आउने ३,५०० मेगाहर्ज र एमएमवेभ स्पेक्ट्रमसँग समाहित गरिनेछ जसले क्यानाडाभरी ५जी नेटवर्क बनाउन सहयोग गर्ने कम्पनीले उल्लेख गरेको छ । रोगर्सले यसअघि नै एरिक्सनसँग मिलेर नेटवर्क विकास गरिरहेको छ ।

त्यसैगरि टेलसले १२ वटा लाइसेन्सका लागि ९३१.८ मिलियन क्यानेडियन डलर खर्च गरेको छ । कम्पनीकाअनुसार यो फ्रिक्वेन्सी शहरी क्षेत्रको क्षमता अभिवृद्धिका लागि प्रयोग गर्नेछ भने ग्रामिण क्षेत्रमा ब्रोडब्याण्ड सेवा बिस्तार गर्नेछ ।

केबल अपरेटर साओ कम्यूनिकेसको फ्रिडम मोबाइलले ११ वटा लाइसेन्समा बोलि लगाउँदै ४९२ मिलियन डलर खर्च गरेको छ । यो कम्पनीले ३० मेगाहर्ज विभिन्न स्थानहरुका लागि लिएको छ, जसले आफ्नो एलटिई सेवालाई अपग्रेड गर्नेछ भने ५जी नेटवर्कको आधार तयार पार्नेछ ।

क्विबेक केबल अपरेटर भिडिओट्रोनले १० वटा लाइसेन्समा २५५.८ मिलियन डलर खर्च गरेको छ जसले १३० मेगाहर्ज मोबाइल स्पेक्ट्रम क्विेबेक क्षेत्रहरुमा लिन सफल भएको छ। त्यस्तै यसले अर्को ९० मेगाहर्ज पनि लिएको छ ।

अन्य साना बोलिकर्ता कम्पनीहरुमध्ये आईरिसले ७ वटा लाइसेन्स, साक्सटेलले ३ वटा लाइसेन्स, एक्सप्लोरनेटले चारवटा, ब्रागले ४ वटा लाइसेन्स हात पारे ।

क्यानाडामा भएका दूरसंचार सेवा प्रदायकहरुमध्ये बेल क्यानाडाले भने कुनैपनि अक्सनमा सहभागी भएन् । कम्पनीले यसअघि नै ७००,८५०, १९००, २५००,३५०० मेगाहर्जमा प्रसस्त फ्रिक्वेन्सी आफूसँग रहेको उल्लेख गरेको छ। बेलले ३० अप्रिलमा आफ्नो सिडिएमए नेटवर्क बन्द गर्दैछ जून फ्रिक्वेन्सी आगामी दिनमा ५जी सेवाका लागि उपयोग गर्ने बताएको छ ।