नेपालका टेलिकम कम्पनीको नाफा अत्यधिक, उपभोक्तालाई भने महंगो सेवा

काठमाडौं । नेपालका टेलिकम अपरेटरहरुले उपभोक्तालाई चर्को शुल्क तोक्ने र अधिक नाफा कमाउने गरेको पटक-पटक आरोप लाग्दै आएको छ ।

विश्व बजारमा टेलिकम सेवाको मूल्यमा निरन्तर कमी आएपनि नेपालमा त्यसअनुसार मूल्य समायोजन हुन नसकेको र यसमा नियमनकारी निकायले ध्यान दिन नसकेको आरोप अहिले पुष्टि भएको छ ।

महालेखापरीक्षकले नेपालमा संचालित टेलिकम कम्पनीहरुले उपभोक्तालाई महंगोमा सेवा दिएको स्पष्ट पारेको छ । हालै सार्वजनिक ५६ औं वार्षिक प्रतिवेदनमा यसरी अधिक नाफा कमाउने तर महंगोमा उपभोक्तालाई सेवा दिने बारे नियमन गर्नुपर्ने सुझाव समेत दिएको छ ।

महालेखापरीक्षकको प्रतिवेदनले अमेरिका, बेलायत, यूरोप, जर्मनी, जापान, चीन, मलेसिया, भारत र नेपालका विभिन्न टेलिकम अपरेटरहरुको संचालन नाफाको तुलनात्मक विश्लेषण अध्ययन गर्दै नेपाली टेलिकम अपरेटरहरुले चर्को सेवा शुल्क लिएर अधिक नाफा आर्जन गरेको ठहर गरेको हो ।

प्रतिवेदनमा भनिएको छ, ‘विश्वका विभिन्न मुलुकका दूरसंचार सेवा प्रदायकले आर्जन गरेको संचालन नाफाको आधारमा विश्लेषण गर्दा विश्वका विभिन्न मुलुकहरुका दूरसंचार सेवा प्रदायकको संचालन नाफा २४ देखि ३७.८ प्रतिशतसम्म रहेकोमा नेपालका सेवा प्रदायकहरुको संचालन नाफा ५८ देखि ६२ प्रतिशतसम्म रहेकोले ती सेवा प्रदायकले प्रदान गर्ने सेवाको मूल्य निर्धारणमा नाफाको अंश अधिक रहेको छ ।’

प्रतिवेदनमा गरिएको विश्लेषणअनुसार जर्मनीको टेलिकम कम्पनीको नाफा २४ प्रतिशतमात्र रहेको छ भने नेपालको निजी टेलिफोन सेवा प्रदायक कम्पनीको नाफा ६२.४० प्रतिशत रहेको छ ।

प्रतिवेदनमा नेपालमा संचालित दुई टेलिकम अपरेटरहरु नेपाल टेलिकम र एनसेल प्रालिको बारेमा नाम उल्लेख नगरी आर्जन गरेको संचालन नाफा प्रतिशत लेखिएको छ । जसमा एक टेलिकम कम्पनी भन्दै नेपाल टेलिकमको नाफा ५८ प्रतिशत तथा एनसेलको नाफा ६२.४० प्रतिशत वित्तीय विबरणअनुसार उल्लेख गरिएको छ ।

यसरी संचालन नाफामा अत्यधिक अन्तर हुनको औचित्यता सम्बन्धमा निमयनकारी निकायले विश्लेषण गगर्न नसकेको ठहर महालेखाले गरेको छ भने सर्वसाधारणले महंगो मूल्यमा सेवा लिनुपर्दा उपभोक्ताको हित संरक्षण हुन नसकेको स्पष्ट पारेको छ ।

महालेखाले यस्ता सेवा प्रदायकको मूल्य निर्धारणको आधारबारे संचार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसंचार प्राधिकरणले अनुगमन गरी गुणस्तर र मूल्य निमयन गर्न समेत सुझाब दिएको छ ।