टेलिकमको एफटीटीएच सेवा जनकपुरमा, ५५ एमबीपीएस सम्मको इन्टरनेट दिने

Technology Khabar २९ चैत्र २०७५, शुक्रबार

टेलिकमको एफटीटीएच सेवा जनकपुरमा, ५५ एमबीपीएस सम्मको इन्टरनेट दिने
NTC_Advt

काठमाडौं ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले चैत २९ गते शुक्रबार जनकपुरधाममा नेपाल टेलिकमको एफटीटीएच (FTTH-Fiber To The Home) सेवाको औपचारिक शुभारम्भ गरे।

दूरसञ्चार कार्यालय जनकपुरको प्राङ्गणमा आयोजित सो कार्यक्रममा माननीय मन्त्रीले एफटीटीएचमार्फत प्रदेश नम्बर २ का सचिव दीपक सुवेदीलाई टेलिफोन कल गरी सेवाको औपचारिक शुभारम्भ गरेका हुन्।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले डिजिटल नेपालको अवधारणालाई साकार बनाउदै राष्ट्रको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्नका लागि नेपाल टेलिकमले सधैँ सरकारलाई साथ दिनुपर्ने बताए । उनले आगामी वर्ष धेरै आयोजनाहरु सम्पन्न गर्नुपर्ने भएकाले नेपाल टेलिकमको लागि समृद्धिको वर्ष हुने र कम्पनीको सेवाप्रति आम ग्राहकको उच्च आस्थालाई निरन्तरता दिनका लागिसमेत कम्पनी थप ग्राहकमुखी हुदै जानुपर्ने बताए ।

सो कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीका सेवाहरूको विस्तारसँगै बजारीकरणलाई पनि थप मजबुत बनाउदै लगिने जानकारी दिए ।

सोही अवसरमा नेपाल टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले सेवा विस्तार कार्य समयमा नै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा नेपाल टेलिकम, वायरलाइन तथा ग्राहक सेवा केन्द्रका निर्देशक प्रमोदकुमार परमार लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो ।

जनकपुरमा हाल दुई हजार लाइनको एफटीटीएच जडित क्षमता रहेकोमा २४० लाइन वितरण भैसकेको र निकट भविष्यमा थप लाइन जडान र वितरण गर्ने कार्यक्रम रहेको छ । जनकपुर क्षेत्रमा ८ एमबीपीएस देखि ५५ एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध गराउनेछ ।

वित्तीय संस्थाहरुलाई लिज लाइनको व्यवस्था पनि फाइबरबाट उपलब्ध गराइने छ । एक वर्षका लागि ८ एमबीपीएसको प्याक ८ हजार ५ सय रुपैयाँमा उपलब्ध गराइने छ । यसवापत एक थान वाइफाई राउटर र एक सय मिटरसम्म फाइबर निःशुल्क उपलब्ध गराइने छ । नयाँ लाइन जडानको समयमा भ्वाइस सेवा तीन महिनाका लागि निःशुल्क उपलब्ध गराउनेछ ।

हाललाई यो सुविधा जनकपुरको भानुचोकदेखि शुभचोक, रेलवे स्टेसन, वकिल टोल एरिया र विद्यानगरसम्म उपलब्ध गराइने छ । यस्तै जनकपुर चुरोट कारखाना पूर्व गेटदेखि पिडारी चोक पूर्वसम्म परिक्रमा सडकमा र जनकचोकदेखि भानुचोक सम्म मेनरोडमा उपलब्ध छ । निकट भविष्यमा अरु क्षेत्रमा पनि नेटवर्क विस्तार गर्ने कार्यक्रम रहेको टेलिकमले जनाएको छ ।

प्रकाशित: २९ चैत्र २०७५, शुक्रबार