ह्वावेले ‘मोबाइल नेपाल कंग्रेस’ आयोजना गर्दै, नयाँ प्रविधि र आविश्कार देखाउने

Technology Khabar २३ चैत्र २०७५, शनिबार

ह्वावेले ‘मोबाइल नेपाल कंग्रेस’ आयोजना गर्दै, नयाँ प्रविधि र आविश्कार देखाउने

काठमाडौं ।

काठमाडौं । स्पेनको बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेस (एमडब्लूसी) लाई विश्वको मोबाइल प्रविधि र सेवाको लागि कुम्भ मेला भन्ने गरिन्छ । अब नेपालमा पनि यस्तै कुम्भमेला आयोजना हुने भएको छ ।

स्पेनको बार्सिलोनामा हुने एमडब्लूसीलाई जीएसएमले आयोजना गर्ने गर्दछ । जीएसएमले विश्वभर मोबाइल सेवाको लागि मापदण्ड र मानक कायम गर्ने गर्दछ । तर नेपालमा हुने यो सूचना प्रविधिको कुम्भ मेला भने एउटा चीनियाँ टेक कम्पनीले आयोजना गर्न लागेको हो ।

चिनियाँ टेक कम्पनी ह्वावेले मोबाइल वल्र्ड कंग्रेसको जस्तै मोबाइल नेपाल कंग्रेस (एमएनसी) Mobile Nepal Congress 2019 आयोजना गर्न लागेको हो ।

एमडब्लूसीको जस्तै सम्मेलन जीएसएमले चीनमा चाइना मोबाइल कंग्रेसको नाममा गर्दछ भने त्यसैको नक्कल गर्दै छिमेकी मुलुक भारतले पनि भारतीय मोबाइल कंग्रेसको आयोजना गर्ने गर्दछ । भारतको सम्मेलनलाई भारतीय सरकारले संचालन गर्ने गर्दछ ।

तर नेपालमा भने ह्वावेको सहायक कम्पनी ह्वावे टेक्नोलोजीज नेपाल कम्पनी लिमिटेडले आयोजना गर्न लागेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डेंग शुल्जेनले पठाएको सो सम्मेलनको निम्तोपत्रमा नै ह्वावेले मोबाइल नेपाल कंग्रेस आयोजना गर्न लागेको भनेर जानकारी दिएको छ ।

मोबाइल नेपाल कंग्रेसको निम्तोपत्रकाअनुसार डिजिटल नेपाल बनाउका लागि टेलीकम तथा सूचना प्रविधिको स्टेकहोल्डर भएको हुँदा नेपाली नागरिकको आशा र अपेक्षा पुरा गर्न खोजिएको उल्लेख छ ।

ह्वावे नेपालका एक अधिकारीले भने प्रत्येक दिन फरक फरक क्षेत्रका मानिसहरुलाई ह्वावेको प्रविधि र उपकरणहरुको बारेमा जानकारी गराउन यो एक्जिविसन आयोजना गरिएको जानकारी दिए ।

‘यो हाम्रो कम्पनीको डिभाइस र टेक्नोलाेजीबारे जानकारी दिन आयोजना गरिएको हो, यसमा सहभागीहरुलाई त्यसको बारेमा जानकारी दिईन्छ । कुनै छलफल तथा डिस्कसन होईन्,’ नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने ।

आयोजक ह्वावेकाअनुसार मोबाइल नेपाल कंग्रेसमा स्मार्ट ग्रीड, स्मार्ट सिटी, सेफ सिटी, आर्टिफिशियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स, क्लाउड डाटा सेन्टर र क्लाउड कम्प्यूटिंगलगायतका विषयवस्तुहरु रहेका छन् ।

ह्वावेले आफू सूचना प्रविधि पूर्वाधारको क्षेत्रमा विश्वको नेतृत्वदायी कम्पनी भएको हुँदा ह्वावेले यो उद्योगको बिस्तार र विकासमा ध्यान दिने उल्लेख गरेको छ । सो सम्मेलनमा वर्तमान प्रविधिको प्रवृत्ति, बिजनेस सोलुसन र कम्पनीले आफूले अनुसन्धान र विकास गरेका नयाँ आविश्कारहरु प्रदर्शन गरिने जानकारी दिएको छ ।

मोबाइल नेपाल कंग्रेस २०१९ यहि अप्रिल ७ देखि १० तारिखसम्म अर्थात चैत २४ गतेदेखि २७ गतेसम्म आयोजना हुनेछ । जसको शुरुवाती दिनमा वार्मअपकोरुपमा ह्वावेका मोबाइलहरु नेपालमा लन्च गरिनेछ भने त्यसपछिका अवधिमा अन्य प्रविधिहरु देखाईने बताईएको छ ।

Sajilo Visa

प्रकाशित: २३ चैत्र २०७५, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार