हावाहुरीका कारण पाँचसय बिटिएसमा क्षति, विद्युत नहुँदा टावर चलेनन्

Technology Khabar १८ चैत्र २०७५, सोमबार

हावाहुरीका कारण पाँचसय बिटिएसमा क्षति, विद्युत नहुँदा टावर चलेनन्
सांकेतिक
NTC_Advt

काठमाडौं ।

काठमाडौं । आइतबार साँझ आएको हावाहुरीका कारण प्रभावित जिल्लाका ५०० बढी मोबाइलका बिटिएस टावरमा क्षति पुगेको छ । बिटिएस टावरमा क्षति पुगेका कारण ती जिल्लामा दूरसञ्चार सेवा अवरुद्ध भएको छ ।

प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकम, एनसेल नेपाललगायतका दूरसञ्चार सेवा प्रदायकलाई तत्काल सेवा सञ्चालन हुने वातावरण बनाउन आवश्यक निर्देशन दिइएको जानकारी दिए ।

उनले नागरिकलाई विपद्को समयमा लामो कुरा नगर्न र अत्यावश्यक विषयमा छोटो संवाद गर्न मात्रै आग्रह गरिएको जानकारी दिए।

कार्यबाहक अध्यक्ष खनालले सहज दूरसञ्चार सेवा उपलब्ध गराउन प्राधिकरणको तर्फबाट आवश्यक समन्वय गरिएको र छिट्टै सहजरुपमा सेवा सञ्चालन हुने विश्वास व्यक्त गरे।

नेपाल विद्युत् प्राधिरकणको पोल ढलेका कारण विद्युत् आपूर्तिमा समस्या आउँदा दूरसञ्चार सेवा प्रदायकको टावरले काम गरेका छैनन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले हावाहुरी प्रभावित क्षेत्रमा तत्काल दूरसञ्चार सेवा उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

उता नेपाल टेलिकमका सह प्रवक्ता कृष्ण प्रसाद भण्डारीले विद्युत सेवा नहुँदा टेलिफोन सेवा प्रभावित भएको जानकारी दिए । ‘२० प्रतिशत साइट पावरको कारण प्रभावित भएको छ, हामी काम गरिरहेका छौं, पावर सप्लाई हुने बित्तिकै सेवा शुचारु हुनेछ,’ उनले टेक्नोलाेजी खबरसँग भने ।

प्रकाशित: १८ चैत्र २०७५, सोमबार