नेपालबाट सिधै समुन्द्रसम्म इन्टरनेट केबल जोडिने, प्राधिकरणले माग्यो परामर्शदाता

Technology Khabar १८ चैत्र २०७५, सोमबार

नेपालबाट सिधै समुन्द्रसम्म इन्टरनेट केबल जोडिने, प्राधिकरणले माग्यो परामर्शदाता
Classic Tech

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ब्रोडब्याण्ड कनेक्सनलाई भरपर्दो बनाउने उद्धेश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्याउने भएको छ । प्राधिकरणले भूपेरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तरगत नेपालबाट सिधै समुन्द्रसम्म आफ्नै ब्रोडब्याण्ड इन्टरनेटको लागि तार बिछ्याउने भएको हो ।

प्राधिकरणले समुन्द्रसम्म भएको इन्टरनेट केबलसम्म नेपालबाट सिधै इन्टरनेट कनेक्सनको लागि संभाव्यता अध्ययन गराउन लागेको छ । त्यसको लागि प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै ईच्छुक परामर्शदातासँग काम गर्न प्रस्ताव माग गरेको छ ।

समुन्द्रसम्म नेपालबाट सिधै इन्टरनेट जोड्नका लागि भरपर्दो, सस्तो र प्रभावकारी वैकल्पिक उपाय पहिचान गर्न अध्ययन गराउन लागेको हो ।

प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालले भरपर्दो र ब्याकबोनको रुपमा इन्टरनेटको विकास गर्न आफ्नै कनेक्सन समुन्द्रसम्म पुर्याउनको लागि अध्ययन गराउन लागिएको जानकारी दिए ।

‘हामीले देशैभर ब्रोडब्याण्ड कनेक्सन पुर्याउँदैछौं, त्यसको लागि पनि नेपालबाट सिधै इन्टरनेट कनेक्सन समुन्द्रसम्म पुर्याउन कसरी सकिन्छ भनेर अध्ययन गराउन लागिएको हो,’ प्रवक्ता अर्यालले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार हाल नेपालबाट सिधै समुन्द्रसम्म कनेक्सन नभएको हुँदा वैकल्पिकरुपमा नयाँ अप्टिकल केबल बिछ्याउन सकिने बारेमा अध्ययन गर्न खोजिएको हो । भूपेरिवेष्ठित मुलुकले आइटियूको प्रावधानको आधारमा सिधै समुन्द्रसम्म अप्टिकल फाइबर केबल पुर्याउन सक्नेछ ।

परामर्शदाताले छिमेकी मुलुकहरु चीन, भारत, बंगलादेशलगायत कुन देशहुँदै सबमरिनसम्म अप्टिकल फाइबर पुर्याउन सजिलो, भरपर्दो, सुरक्षित र सस्तो किसिमले कसरी सकिन्छ भन्ने सुझाव दिनेछ ।

के के गर्नेछ परामर्शदाताले अध्ययन ?

सो परामर्शदाता कम्पनीले सिस्टमको अध्ययन, प्राविधिक पक्ष, ब्याकबोन कनेक्टिभिटी, क्रस बोर्डर इन्टरनेट कनेक्सन, लागतको बारेमा अध्ययन तथा अनुसन्धान गर्नेछ । सो अध्ययन तथा अनुसन्धानको आधारमा तयार पारिएको रिपोर्टको आधारमा प्राधिकरणले भविश्यमा नेपालबाट सिधै समुन्द्रसम्म अप्टिकल फाइबर बिछ्याएर ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन गराउनेछ ।

परामर्शदाता कम्पनीले वर्तमान ब्रोडब्याण्ड नेटवर्क र ब्याण्डविथ आवश्यकताको अध्ययन गर्नुपर्नेछ । त्यस्तै सबमरिन केबलसम्म पहुँच पुर्याउनका लागि आवश्यक नियम कानूनहरुको बारेमा अध्ययन तथा विश्लेषण गर्नेछ । यसविषयमा रहेको अन्र्तराष्ट्रिय ट्रेण्ड, प्राक्टिसको बारेमा बताउनुपर्नेछ ।

विभिन्न देशहरुको सरकारबिचको सहकार्य वा व्यवसायीक संस्थाहरु बिचको सहकार्यको बारेमा स्पष्ट व्याख्या गर्नुपर्नेछ ।

नेपालमा समुन्द्रसम्म पुर्याउने अप्टिकल केबलको लागि उपयुक्त बाटोहरुको बारेमा सुझाव दिनुपर्नेछ ।

यस सूचनाबाट आएका कम्पनीहरुमध्येबाट एक कम्पनीलाई परामर्शदाताको रुपमा छनौट गरिनेछ भने त्यसले तोकिएको ४ महिनाभित्र आफ्नो अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने प्राधिकरणले उल्लेख गरेको छ ।

नेपालबाट सिधै समुन्द्रसम्म अप्टिकल फाइबर बिछ्याउने अध्ययन अनुसन्धानको लागि आवश्यक परामर्श सेवाको लागि प्राधिकरणले ४९ लाख ३५ हजार रुपैयाँ छुट्याएको छ ।

हाल नेपालभित्र भारत र चीनको मार्ग हुँदै निजी कम्पनीहरुमार्फत इन्टरनेट कनेक्सन गरिएको छ । जसले गर्दा नेपालको इन्टरनेट निकै महंगो भएको गुनासो आउने गरेको छ ।

TK Viber

प्रकाशित: १८ चैत्र २०७५, सोमबार

Loading...