सीजी टेलिकमको मोबाइल सेवाको लाइसेन्स अझै अनिश्चित, यस्तो छ कारण

Technology Khabar १३ चैत्र २०७५, बुधबार

सीजी टेलिकमको मोबाइल सेवाको लाइसेन्स अझै अनिश्चित, यस्तो छ कारण

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सीजी टेलिकमको लाइसेन्स नविकरण तथा मोबाइल सेवाको लाइसेन्सको विषयमा मन्त्रालयसँग थप जानकारी माग्ने भएको छ ।

प्राधिकरण बोर्ड बैठकले मन्त्रिपरिषदको निर्णयअनुसार सीजीलाई यसअघि दिने भनिएको मोबाइल टेलिफोन सेवाको लाइसेन्सको लागि थप स्पष्ट हुनुपर्ने भन्दै सूचना तथा संचार मन्त्रालयलाई थप जानकारीको लागि लेखिपठाउने निर्णय गरेको हो ।

यसअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सीजीलाई २०७४ जेठमा मोबाइल सेवाको लाइसेन्स दिनको लागि बाटो खुला गरेको थियो । त्यसबेला मन्त्रिपरिषदले सो कम्पनीलाई पूर्वाधार बिना नै लाइसेन्स दिनसक्ने गरि कानूनी बाटो खुला गर्ने निर्णय गरेपनि त्यसमा प्रकृयागत कागजात नपाएको भन्दै मन्त्रालयसँग कागजात माग्ने निर्णय गरेको प्राधिकरणका एक बोर्ड सदस्यले बताए।

‘सीजीलाई तत्कालिन मन्त्रिपरिषदबाटै लाइसेन्स दिने बाटो खोलेपनि सो विषय कानूनी प्रकृयाकोरुपमा आएको जानकारी नभएको हुँदा मन्त्रालयलाई यसबारेमा थप स्पष्ट पार्न भनेका छौं,’ प्राधिकरणका एक बोर्ड सदस्यले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार तत्कालिन समयमा मन्त्रिपरिषदको सो निर्णयअनुसार राजपत्रमा प्रकाशित हुनुपर्नेमा सो नदेखिएको हुँदा त्यसबारेमा स्पष्ट पार्न भनिएको हो ।

https://technologykhabar.com/2019/02/27/21639/

सीजीलाई कानूनअनुसार प्रिक्वालिफिकेसन पुरा गरेर मात्र लाइसेन्स दिनुपर्ने हुन्छ तर तत्कालिन मन्त्रिपरिषदले भने पोष्टक्वालिफिकेसन पुरा गरे हुने निर्णय गरेको थियो । सो निर्णय राजपत्रमा प्रकाशित हुनुपर्नेमा हालसम्म सो छापिएको वा नछापिएको नै जानकारी नआएको ती बोर्ड सदस्यको भनाई छ ।

‘यदि राजपत्रमा सो निर्णय प्रकाशित भएको थियो भने हामीलाई पनि राजपत्र उपलब्ध गराईदिनु पर्यो, यदि सो प्रकाशित भएको छैन भने छैन भनेर जानकारी दिनुपर्यो भनेका छौं,’ उनले भने ।

तत्कालिन समयमा राजनीतिक शक्ति प्रयोग गरेर प्रकृया पुरा नगरेपनि लाइसेन्सको लागि बाटो खोलेको थियो तर कानूनी प्रकृया पुरा नहुँदा अझै कम्पनीले लाइसेन्स पाउन नसकेको प्राधिकरणका अधिकारीको भनाई छ ।

सीजी टेलिकमको ग्रामीण दूरसंचारको लाइसेन्स यहि मंसिरमा सकिएको र सो भन्दा अगावै कम्पनीले नविकरणको लागि प्राधिकरणमा निवेदन दिएको थियो । तर यो विषयमा प्राधिकरणले अझै ठोस निर्णय गर्न सकेको छैन् ।

easy care

प्रकाशित: १३ चैत्र २०७५, बुधबार