यूटिएललाई अप्टिकल फाइबरको टेण्डर दिने अधिकारीलाई कारबाही गर- महालेखा प्रतिवेदन

Technology Khabar ८ चैत्र २०७५, शुक्रबार

यूटिएललाई अप्टिकल फाइबरको टेण्डर दिने अधिकारीलाई कारबाही गर- महालेखा प्रतिवेदन

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले प्रदेश नम्बर ४ र ५ मा ब्रोडब्याण्ड बिस्तारको जिम्मा युनाईटेड टेलिकमलाई दिँदा स्वार्थपूर्ण निर्णय गरेको र त्यसको लागि नियमनकारी निकाय नै प्रयोग भएको भेटिएको छ ।

प्राधिकरणले यूटिएललाई प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिस्तार गर्नका लागि २०७३ साल चैत्र १८ गते छनौट गरेको र गत वर्ष वैशाखमा गरेको सम्झौता स्वार्थपूर्ण ठहर भएको हो ।

प्राधिकरणले गरेको सो सम्झौता गर्ने कार्य स्वार्थपूर्ण रहेको स्पष्ट रुपमा महालेखा परिक्षणको प्रतिवेदनमा लेखिएको छ । सो सम्झौताको क्रममा यूटिएलले बोलपत्र दर्ता गर्दा सिलबन्दी नगरी कन नै दर्ता गराएको र त्यसमा कुनै कारबाही गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

कुनै सेवा प्रदायकलाई टेण्डरमा सहभागी गराउने स्वार्थपूर्ण अवस्थासहित बिना कारण आरएफए संशोधन गरिएको महालेखा परिक्षकले ठहर गरेको छ । सो प्रतिवेदनअनुसार बोलपत्रको कागजात र मूल्यांकनको शर्तमा दि एप्लिकान शुड डिस्क्राई दि इट ह्याज नट इक्योर्ड फाइनान्सियल लसेज फोर लास्ट केन्सेक्यूटिभ थ्री ईयर्स भन्ने १७.१ मा भएको व्यवस्था हटाउने निर्णय गरिएको थियो ।

यस्तो निर्णयबाट भएको टेण्डर प्रकृयाले प्राविधिकरुपमा टाट पल्टेको, नेट अर्निंग नै ऋणात्मक भएको र बैकले परियोनाको लागि समेत नपत्याएको सेवा प्रदायक छनौट भएको छ, प्रतिवेदनमा लेखिएको छ ।

यूटिएललाई सो टेण्डर दिँदा मापदण्डलाई विभिन्न बहानामा तोडमोड गरेर सार्वजनिक खरिदको सामान्य मुल्यलाई समेत बेवास्ता गरेको महालेखाले औंल्याएको छ ।

महालेखाले सम्झौताअनुसार उक्त क्षेत्रमा १५ वर्षको दूरगामी पूर्वाधार निर्माण गर्ने कार्यले कुनै कम्पनीको तत्कालको नगद प्रवाह व्यवस्थापनमा सहयोग पुग्ने जस्तो स्वार्थपूर्ण विषयमा सम्पूर्ण क्षेत्रको नियमनकारी निकाय प्रयोग भएको स्पष्ट देखिने ठहर गरेको छ ।

त्यसैगरि सो टेण्डर दिँदा नीतिगत विचलत समेत देखिएको महालेखाको भनाई छ ।

प्रतिवेदनले सो संशोधन गर्ने स्पष्ट आधार र मापदण्ड समेत उल्लेख नगरी पारदर्शी, तथ्य र कारण बिनाको यस्तो संशोधन गरी २ अर्ब १ करोड रुपैयााको सम्झौता गर्ने पदाधिकारीलाई आवश्यक छानबिन गरी कारबाही गर्नुपर्ने बताएको छ ।

easy care

प्रकाशित: ८ चैत्र २०७५, शुक्रबार