एप्पलले दुई नयाँ आइप्याड लन्च, सस्तो मूल्यको आइप्याड मिनी पनि उपलब्ध

काठमाडौं । एप्पलले हालै दुई नयाँ आइप्याड सार्वजनिक गरेको छ । कम्पनीले हालै विश्व बजारमा १०.५ इन्चको आइप्याड एयर (10.5 inch iPad Air) तथा अर्को ७.९ इन्चको आइप्याड मिनी (7.9 inch iPad Mini) सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको नयाँ आइप्याड एयरमा रेटिना डिस्प्ले प्रयोग गरिएकोछ, जसको रिजोल्यूशन २२२४x१६६८ पिक्सेल रहेको छ । यसको डिस्प्लेलाई आइप्याड एयर २ को जस्तै ग्लाससँग लेमिनेटेड गरिएको छ भने यसमा ट्रू टोन टेक्नोलोजी समेत रहेको छ ।

अर्कोतर्फ ७.९ इन्चको आइप्याडको डिस्प्ले २०४८x१५३६ पिक्सेलको छभने यसलाई पनि लेमिनेटेड गरिएको छ । यो आइप्याडमा पनि ट्रू टोन तथा वाइड कलर फीचर रहेको छ ।

दुबै नयाँ आइप्याडहरु एप्पलको ए१२ बायोनिक चीपद्धारा संचालन हुनेछ जसमा न्यूरल इन्जिन तथा एम१२ कोप्रोसेसर रहेको छ ।

दुबै आइप्याडको आन्तरिक स्टोरेज ६४ जीबी तथा २५६ जीबी अप्सनमा उपलब्ध हुनेछ भने दुबैमा सिम प्रयोग गर्न सकिनेछ ।

यी दुबैमा एप्पल पेन्सिल फस्ट जेनेरेशन प्रयोग गर्न सकिन्छ ।

फोटोग्राफीका लागि दुबै आइप्याडमा ८ मेगापिक्सेलको रियर क्यामरा छ, जसले १०८० पिक्सेलको भिडियो खिच्न सक्दछ । त्यस्तै भिडियोकलका लागि यसमा ७ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ जसले १०८० पिक्सेलको भिडियो खिच्न सक्छ ।तर दुबै मोडलहरुमा फेस आईडी छैन भने यसमा पुरानै प्रविधिको टचआईडी टेक्नोलोजी प्रयोग गरिएको छ ।

कनेक्टिभिटीका लागि दुबैमा ड्यूल ब्याण्ड वाईफाई छ भने ब्लूटूथ ५.०भर्सन, गीगाबीट क्लास एलटिई, जीपीएस राखिएको छ । दुबैमा नयाँ ईसिम सपोर्ट फिचर रहेको छ भने नानो सिम प्रयोग गर्नुपर्नेछ ।

नयाँ आइप्याड एयरको मूल्य ४९९ अमेरिकी डलरदेखि शुरु हुनेछ भने यसमा वाईफाई मात्रै तथा वाईफाई प्लस सिम प्रयोग गर्न मिल्ने अप्सन सहितको भेरिएन्छ उपलब्ध छ, जसको अधिकतम मूल्य ७९९ डलर रहेको छ ।

त्यस्तै सस्तो मूल्यको आईप्याड मिनीको न्यूनतम मूल्य ३९९ अमेरिकी डलरदेखि शुरु हुनेछ भने यसको अधिकतम मूल्य ६७९ डलर रहेको छ। यसमा पनि वाईफाई मात्र वा वाईफाई प्लस सिम प्रयोग गर्न मिल्ने अप्सनसहितको भेरिएन्ट उपलब्ध छ ।

पहिलो चरणमा दुबै नयाँ आइप्याड अमेरिका, यूरोप र यूएईमा उपलब्ध हुनेछ भने दोस्रो चरणमा चीन र मेक्सिकोमा तथा तेस्रो चरणमा भारतसहित अन्य मुलुकहरुमा उपलब्ध हुने बताईएको छ।

यी दुबै नयाँ आइप्याडको लागी एप्पलले विभिन्न एसेसरिज पनि सार्वजनिक गरेको छ, जसमा नयाँ स्मार्ट कभर, स्मार्ट किबोर्डलगायत छन् ।