दूरसंचार प्राधिकरणका कर्मचारीलाई संचारमन्त्रीले भने- तलब नपुगे लिन आउनुस्

Technology Khabar ४ चैत्र २०७५, सोमबार

दूरसंचार प्राधिकरणका कर्मचारीलाई संचारमन्त्रीले भने- तलब नपुगे लिन आउनुस्

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । प्राधिकरणले २१ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको हो ।

प्राधिकरणको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीहरुलाई सेवा सुविधा माग्ने नाममा आन्दोलन नगर्न चेतावनी दिए । उनले प्राधिकरणका कर्मचारीहरुको सेवा सुविधा सरकारी बाणिज्य बैंकहरुपछि उत्कृष्ट भएको भन्दै सेवा सुविधाको नाममा आन्दोलन गरे आफूलाई मान्य नहुने गरिने चेतावनी दिए ।

‘म दाबाका साथ भन्छु, तपाईँका अफिसरले सम्पूर्ण गरिकन करिब ५० हजार भन्दा तल भयो भने म कहाँ तलब लिन आउनुस म दिन्छु,’ उनले भने, ‘यो संस्थाको जस्तो तलब अरुले पनि नदिने हुँदा ईमान्दारीतापूर्वक काम गर्नुस्, सबैै माग मात्रै नराख्नुस् ।’

संस्था बलियो भयो भने सेवा बढाउन सकिने भन्दै राम्रो काम गर्न आग्रह समेत गरे ।

‘अन्याय भएको रहेछ भने पो हेर्ने हो तर कमाएको जति मेरै पोल्टैमा लेउ भन्दा अरुलाई के दिने ? कसैले उचालेको भने त्यो पनि चल्दैन है, यो धम्की पनि होईन्, सल्लाह नै हो मेरो पनि, मैले तरिका यहि हो भन्ने,’ उनले भने ।

सरकारले डिजिटल नेपालको अवधारणा ल्याएको र यो संस्थाले त्यसको जिम्मेबारी बोकेको संस्था सुस्त बन्न नहुने बताए ।

उनले सरकारले नेतृत्व गरेका कुनैपनि संस्थाहरु कमजोर नहुने भन्दै दूरसंचार पूर्वाधारको लागि छुट्टै कम्पनी ल्याउन लागेको जानकारी दिए । सरकारी कम्पनीहरुसँग प्रसस्त रकम जम्मा भएको भन्दै दूरसंचारको क्षेत्रमा सम्पूर्ण काम गर्न आग्रह समेत गरे ।

उनले प्राधिकरणसँग धेरै अवसर भएको तर फ्रिक्वेन्सी लिने काम नगर्ने, ठेक्का लिने काम नगर्ने, कागजको रिपोर्ट मात्र हाल्ने जनतालाई झुक्याउने, सरकारलाई झुक्याउने र संस्थालाई बदनाम बनाउनेलाई प्राधिकरणले टुलुटुलु हेरेर बस्न नमिल्ने बताए ।

कार्यक्रममा प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले खुल्ला बजार नीतिलाई आत्मसात गर्दै राज्यका शहरी र ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा सर्वसुलभ र भरपर्दो बनाउन प्राधिकरण प्रयत्नरत रहेको जानकारी दिए।

प्राधिकरणले यो वर्षको ‘प्राधिकरण सेवा पुरस्कार’ कर्मचारी राजेन्द्र थापालाई प्रदान गरेको छ । पुरस्कारको राशि रु १५ हजार छ । सो अवसरमा अतिरिक्त क्रियाकलापमा सहभागी तथा उत्कृष्ट भएका कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

दूरसञ्चार सेवालाई नियमित र व्यवस्थित गर्ने उद्देश्यले दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा विसं २०५४ फागुन २० गते प्राधिकरणको स्थापना भएको थियो ।

easy care

प्रकाशित: ४ चैत्र २०७५, सोमबार