वर्ल्डलिंकको काठमाडौं बाहिरको सेवा गैरकानूनी, जरिवाना गरी बन्द गराउन सुझाव

Technology Khabar ३ चैत्र २०७५, आईतवार

वर्ल्डलिंकको काठमाडौं बाहिरको सेवा गैरकानूनी, जरिवाना गरी बन्द गराउन सुझाव
NTC_Advt

काठमाडौं ।

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन प्रालिले अनुमति नै नलिई देशका बिभिन्न शहरहरुमा सेवा संचालन गरेको भेटिएको छ । अनुमती नै नलिई सेवा संचालन गरेको हुँदा वर्ल्डलिंकलाई कारबाही गर्नुपर्ने महालेखाको प्रतिवेदनमा लेखिएको छ ।

इन्टरनेट सेवा प्रदायकको रुपमा संचालनमा रहेको वर्ल्डलिंकले आफ्नो महत्वपूर्ण हित नियन्त्रणमा राखी काठमाडौं उपत्यका बाहिर कम्पनी नै संचालन गरि सेवा संचालन गरेको भेटिएको महालेखा प्रतिवेदनले औंल्याएको छ ।

महालेखाले सो कम्पनीले बीरगंज, नेपालगंज, भैरहवा, पोखरा, चितवन, लाहान, हेटौंडा, दाङ, मिथिलाञ्चल, पूर्वाञ्चल, फारवेष्ट र वेष्ट प्रालि कम्पनीहरु स्थापना गरी उपत्यका बाहिर दूरसंचार सेवा प्रवाह गरेको भेटिएको उल्लेख गरेको छ ।

कुनैपनि दूरसंचार सेवा शुरु गर्नु अघि नेपाल दूरसंचार प्राधिकरणबाट तोकिएको शर्त र कानुन बमोजिम ईजाजत प्राप्त गरे पश्चात मात्र दूरसंचार सेवा शुरु गर्नुपर्नेमा सो नगरेको महालेखाको प्रतिबेदनमा स्पष्ट पारिएको छ ।

महालेखाले दूरसंचार ऐनअनुसार अनुमतीपत्र नलिई दूरसंचार सेवा संचालन गर्न नपाउने र कुनै व्यक्तिले ऐन बमोजिम अनुमती नलिई दूरसंचार सेवा संचालन गरेमा प्राधिकरणले त्यस्तो व्यक्तिलाई ५ लाख रुपैयाँसम्म जरिवाना गरी त्यस्तो काम बन्द समेत गराउन सक्ने व्यवस्था बारे सचेत गराएको छ ।

त्यसैगरी ऐनको व्यवस्थाअनुसार वर्ल्डलिंकलाई कारबाही गरी जरिवाना असुल गर्नुपर्ने महालेखाले स्पष्ट पारेको छ ।

प्रकाशित: ३ चैत्र २०७५, आईतवार