प्रतिकात्मक

नेपालको आफ्नै स्याटेलाइटः यसको प्राविधिक पक्ष र उपयोगिता

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपालले हालै आफ्नै स्याटेलाईट लन्च गर्ने योजनाका साथ फ्रान्स सरकार र फ्रान्सेली कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । नेपालले निकै वर्षअगाडिदेखि देखेको आफ्नै स्याटेलाइट राख्ने सपना पुरा हुने पहिलो कदमको रुपमा यो समझदारी पत्र हुनसक्ने छ ।

यहि विषयलाई मुख्य केन्द्रमा राखेर स्याटेलाइट, यसको प्राविधिक विषयहरु, उपयोगीताहरुको बारेमा श्रृंखलाबद्धरुपमा जानकारी दिने प्रयास गर्नेछौं ।

नेपालको तर्फबाट नेपाल दूरसंचार प्राधिकरण र नेपालको लागि स्याटेलाईट बनाई दिने थालेस एलेनिया स्पेसबिच समझदारी पत्रमा हस्ताक्षर भएकोमा सो कम्पनीले नेपालका लागि बनाईदिने स्याटेलाइट समयमै बनाएर प्रक्षेपण भएमा यो नेपालको प्रविधिको क्षेत्रमा निकै ठूलो फड्को हुनेछ ।

भौगोलिक बिकटता र अझैपनि अति दूर्गम भेगमा सरकारी सेवा सुविधाबाट बन्चित हुने जनताहरुलाई पनि नेपालको आफ्नै स्याटेलाईटबाट विभिन्न सेवाहरु पुर्याउन सकिने छ । यसले सामान्य दूरसंचार सेवाका साथै सूचना प्रविधिको क्षेत्रमा मात्र नभई समग्र अन्य क्षेत्रहरुमा नै सकारात्मक प्रभाव पार्नेछ ।

यस्तो छ अर्बिटल स्लट
अन्तराष्ट्रिय दूरसंचार संघ(आईटियू)ले नेपालका लागि धेरै अघि स्याटेलाइट राख्ने स्थान जसलाई अर्बिटल स्लट उपलब्ध गराएको थियो । आईटियूले सन् १९८४ मा नै नेपालका लागि ५० डिग्री र १२३.३ डिग्रीको दुईवटा अर्बिटल स्लट छुट्याएको थियो । आईटियूले छुट्याएको स्थान सन् २०१५ भित्रै प्रयोगमा ल्याईसक्नुपर्ने भएपनि नेपालले स्याटेलाइट पठाउन सकेको थिएन् ।

यो बिचमा नेपालले आफ्नै स्याटेलाइट राख्ने विभिन्न किसिमका योजना र छलफलहरु भएपनि आउन सकेको थिएन् । संचार मन्त्रालयले गराएको अध्ययनबाट पनि नेपालका लागि आईटियूले छुट्याएको अर्बिटल स्लटमा स्याटेलाइट राख्न उपयुक्त नभएको देखिएको थियो ।

प्राधिकरणको स्याटेलाइटको लागि आवेदन प्रकृया
यसको लागि नेपाल दूरसंचार प्राधिकरणले दुईवर्ष अगाडिदेखि जिम्मा लिँदै नेपालकै स्याटेलाइट प्रक्षेपण गर्ने योजनासाथ काम गर्दै आएको थियो । यसको लागि नै प्राधिकरणले सन् २०१६ अक्टोबर ६ तारिखमा इच्छुक कम्पनीहरुसँग आवेदन माग गरेको थियो । जसमा २१ वटा कम्पनीहरुले आवेदन दिएका थिए । यस्तो आवेदन दिने कम्पनीहरुमा भारत, थाइल्याण्ड, सिंगापुरका २÷२ तथा जापान, फ्रान्स, कोरिया, रुस, क्यानाडा, इजरायल, साउदी अरब र लक्जेम्बर्गका एक÷एक कम्पनी रहेका थिए । ती कम्पनीहरुको प्रस्ताव मूल्यांकन गरिएको भएपनि त्यसको बारेमा कुनै ठोस निर्णय र प्रकृया अगाडि बढ्न सकेको थिएन् ।

त्यसबेला आवेदन दिने कम्पनीहरुमध्येबाट टेण्डरमा छनौट हुने कम्पनीले अर्बिटल स्लटको अध्ययन गर्ने र त्यसको अवस्थाको आधारमा स्याटेलाइटको डिजाइन गर्ने, तयार पार्ने र अन्तरिक्षमा स्थापना गर्ने योजना थियो । टेण्डर पाएको कम्पनीले नै संचालन र मर्मतको जिम्मा पनि लिनुपर्ने गरि प्रकृया अगाडि बढाईएको थियो तर त्यो प्रकृया अगाडि बढ्न सकेन् । यसको लागि तत्कालिन समयमा विज्ञको परामर्श पनि लिएको प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले बताए ।
‘हामीले त्यसको लागि विज्ञको परामर्श र सुझावको आधारमा काम गरेको थियौं, त्यसबेला २१ वटा कम्पनीले स्याटेलाइट स्थापना गर्न इच्छा देखाएका थिए,’ उनले भने । तर सो प्रकृया कहाँ पुगेको छ भन्ने बारेमा भने भन्न नसक्ने उनले बताए ।

अर्बिटल स्लटको अध्ययन
नेपालले पाएको दुबै अर्बिटल स्लटको बारेमा हालसम्म अध्ययन नै हुन सकेको छैन् । हाल चर्चामा आएको १२३.३ डिग्रीको स्लटको वरिपरि अन्य देशका धेरै स्याटेलाइटहरु रहेको एक विज्ञले बताए । जसले गर्दा नयाँ स्याटेलाइट स्थापना गर्न केहि कठिन हुने र अन्य स्याटेलाइटसँग त्यसको सिंक्रोनाइज हुनुपर्नेछ । पुराना स्याटेलाइटको लागि नयाँ स्याटेलाइट पुग्नाले त्यहाँ फ्रिक्वेन्सी जुध्ने वा अनावश्यक तरंगहरु उत्पन्न हुनसक्ने अवस्था रहन्छ । त्यसको लागि अन्य स्याटेलाइट पठाएका देशहरुसँगको सहकार्य हुनु आवश्यक छ ।

‘पुराना स्याटेलाइटको लागि अर्को नयाँ स्याटेलाइट नोइज हो, त्यसैले स्याटेलाइटको पावर लेबल आईटियूसँग भनेर मात्र बढाउन सकिन्छ,’ एक विज्ञले नाम उल्लेख नगर्ने शर्तमा भने ।

यसको लागि पनि स्याटेलाइट बनाउने कम्पनी र नेपालले आईटियूसँग सहकार्य गर्नुपर्ने आवश्यकता छ नत्र अन्य स्याटेलाइटले नेपालको स्याटेलाइटलाई प्रभाव पार्ने संभावना रहन्छ ।

यस्तो छ प्राविधिक विषय
फ्रान्सको थालेस एलेनिया स्पेसले नेपाललाई आईटियूले उपलब्ध गराएको १२३.३ डिग्रीकै स्लट प्रयोग गरी स्याटेलाइट स्थापना गर्ने गरि समझदारीमा सम्झौता भएको हो । आईटियूले सो १२३.३ डिग्रीको स्लट केबल छुट्याएको मात्र हो त्यो स्लट प्रयोग गर्न स्लट नजिक रहेका स्याटेलाइट धनी मुलुकहरुसँग फ्रिक्वेन्सी कोअर्डिनेसन गर्नुपर्ने हुन्छ । सो काम गर्न नै २ देखि ३ वर्षको समय लाग्नसक्ने अर्का विज्ञको भनाई छ । तर त्यो भएन भने कसरी अगाडि बढ्ने भन्ने स्पष्ट हुनुपर्ने हुन्छ । किनकी ३० वर्ष अगाडि छुट्याईएको स्लटको नजिक धेरै स्याटेलाइटहरु स्थापना गरिएको छ ।

हालको अर्बिटल स्लटमा नै स्याटेलाइट लन्च गरिएकामा ९ फिटभन्दा ठूलो एन्टेना प्रयोग गर्नुपर्ने विज्ञहरुको भनाई छ । जुन ढुवानी गर्न र संचालन गर्न पनि कठिन हुने बताईन्छ । यदि सानो एन्टेना प्रयोग गर्ने हो भने स्याटेलाइटको पावर बढाउनुपर्ने हुन्छ, तर त्यसो गर्दा अर्को देशको स्याटेलाइटसँग फ्रिक्वेन्सीको समस्या आउनसक्नेछ ।

त्यस्तै १२३.३ डिग्री स्लटमा राखिएको स्याटेलाइटको फुटप्रिन्ट फैलाउँदा पावर घट्ने हुन्छ जसले गर्दा उपलब्ध हुने ब्याण्डविथ निकै थोरै र कम भरपर्दो हुनसक्नेछ ।

कति देशसँग छ स्याटेलाइट पठाउने क्षमता
हाल विश्वमा केबल सिमित देशहरुसँग मात्र स्याटेलाइट बनाउने र प्रक्षेपण गर्नसक्ने क्षमता छ । विश्वभर २०० वटा देशहरुमध्ये ६० वटाजति देशहरुले मात्र स्याटेलाइट प्रक्षेपण गरिसकेका छन् । बाँकी देशहरुले अन्य स्याटेलाइटहरुको उपयोग गरिरहेका छन् ।

स्याटेलाइट बनाएर अन्तरिक्षमा प्रक्षेपण गर्नसक्ने क्षमता अमेरिका, रुस, फ्रान्स, जापान, चीन र भारतसँग मात्र रहेको छ । यी देशहरुको स्टेशनबाट मात्र स्याटेलाइट अन्तरिक्षमा पठाउन सकिन्छ ।

Leave a Reply