मोबाइल सेवा परीक्षणमा सबै टेलिकम कम्पनी फेल, स्मार्टको सेवा सबैभन्दा कमजोर

Technology Khabar २७ फाल्गुन २०७५, सोमबार

मोबाइल सेवा परीक्षणमा सबै टेलिकम कम्पनी फेल, स्मार्टको सेवा सबैभन्दा कमजोर

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुको मोबाइल सेवाको गुणस्तर परीक्षण काठमाडौंमा मात्र गर्ने गरेकामा अब भने जिल्लागतरुपमा पनि गर्न शुरु गरेको छ । हालै प्राधिकरणले भक्तपुर, पोखरा, बागलुङ र पृथ्वी राजमार्गको क्षेत्रमा गुणस्तर परीक्षण गरेको छ ।

प्राधिकरणले गर्ने सो परिक्षणलाई ड्राइभ टेस्टमार्फत गरेको थियो जसको प्रतिवेदन हालै सार्वजनिक गरेको छ । सो प्रतिवेदनअनुसार माघ पहिलो र दोस्रो साता नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको ड्राइभ टेस्ट गरिएको हो ।

सो ड्राइभ टेस्टअनुसार सबैभन्दा खराब मोबाइल फोन सेवा स्मार्ट टेलिकमको देखिएको छ । स्मार्ट टेलिकमसहित अन्य दुई टेलिकमको मोबाइल सेवा परीक्षण तीन फरक स्थानमा गरिएको थियो, जसमा सबैभन्दा खराब सेवा स्मार्ट टेलिकमको देखिएको छ ।

बाग्लुंग पोखरा र भक्तपुरमा गरिएको ड्राइभ टेस्टको प्रतिवेदनअनुसार बागलुङमा कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा तीनवटै कम्पनीहरु प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समयको मापदण्डमा असफल भएका छन जसमा स्मार्टको ६५.७१ प्रतशत, एनसेलको ९४।३३ प्रतिशत र नेपाल टेलिकमको ९६.१५प्रतिशत रहेको छ । तर आफैं फोनकल वा सम्पर्क विच्छेद हुने दर भने सबैभन्दा धेरै स्मार्ट टेलिकमको रहेकोछ । स्मार्टको फोनकल विच्छेद हुने दर ६.५२ प्रतिशत छ भने नेपाल टेलिकमको ४ प्रतिशत छ । तर एनसेलले भने यसमा मापदण्ड पुरा गरेको छ । यसको लागि प्राधिकरणले २ प्रतिशतको मापदण्ड तोकेको छ ।

त्यसैगरि अर्को जिल्ला भक्तपुरमा पनि खराब मोबाइल सेवा स्मार्ट टेलिकमको नै देखिएको छ । जसमा कल स्थापना हुन लाग्ने समय र सफलताको दर अन्य कम्पनीको भन्दा कमजोर रहेको छ । यसमा सफलताको दर ९९ प्रतिशत वा सो भन्दा माथि हुनुपर्नेमा स्मार्टको केबल ६९.५२ प्रतिशत रहेको छ भने एनसेलको ९५.१४ प्रतिशत रहेको छ । त्यस्तै नेपाल टेलिकमको ९३.४८ प्रतिशत रहेको छ ।

पोखरामा आफैं फोनकल वा सम्पर्क विच्छेद हुने दरको मापदण्डमा तीनवटै कम्पनी उत्तीर्ण भएका छन भने कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा सबै कम्पनीहरु फेल भएको प्रतिवेदनमा उल्लेख छ । यसमा पनि सबैभन्दा कमजोर स्मार्ट टेलिकमको मोबाइल सेवा देखिएको छ जसको दर केबल ९२.८६ प्रतिशत छ भने एनसेलको ९५.७१ प्रतिशत रहेको छ । त्यस्तै नेपाल टेलिकमको भने ९८.७१ प्रतिशत रहेको छ ।

स्मार्ट टेलिकमको मोबाइल सेवा उल्लेखित तीनवटै जिल्लाहरुमा फोन नलागेको वा फोन काटिएको दर अन्य दूई कम्पनीको भन्दा अत्यधिक बढि रहेको देखिएको छ ।

प्राधिकरणले पृथ्वी राजमार्गमा भने नेपाल टेलिकम र एनसेलको मात्रै मोबाइल सेवाको गुणस्तर परिक्षण गरेको छ । जहाँ फोन कलको मापदण्डमा दुबै कमजोर देखिएका छन भने एनसेलको सेवा नेपाल टेलिकमको भन्दा अझ कमजोर गुणस्तरको रहेको छ ।

पृथ्वी राजमार्गमा कल स्थापना हुन लाग्ने समय र सफलताको दर एनसेलको ७४.०५ प्रतिशत छ भने नेपाल टेलिकमको ८३.४७ प्रतिशत रहेको छ ।त्यस्तै आफैं फोनकल वा सम्पर्क विच्छेद हुने दर एनसेलको ८.२५ प्रतिशत छ भने नेपाल टेलिकमको ६.९३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

TK Viber

प्रकाशित: २७ फाल्गुन २०७५, सोमबार

Loading...