सार्क मुलुकमध्ये नेपालको मोबाइल डाटा निकै महंगो, कति पर्छ १ जीबीको मूल्य ?

Technology Khabar २२ फाल्गुन २०७५, बुधबार

सार्क मुलुकमध्ये नेपालको मोबाइल डाटा निकै महंगो, कति पर्छ १ जीबीको मूल्य ?
Global IME Bank

काठमाडौं ।

काठमाडौं । नेपालको मोबाइल डाटा विश्वको सस्तो डाटा शुल्कमा परेपनि सार्क मुलुकहरुमध्ये महंगो मोबाइल डाटा प्लान भएको देखिएको छ । हालै सार्वजनिक एक रिपोर्टअनुसार दक्षिण एशियाली सार्क मुलुकहरुमध्ये नेपाल महंगो मध्ये दोस्रो मुलुकको सूचीमा परेको छ ।
नेपाल सार्क मुलुकमध्ये केबल माल्दिभ्स भन्दा सस्तो डाटा मुलुक भएको सूचीमा मात्र रहेको रिपोर्टको तथ्यांकबाट स्पष्ट हुन्छ ।

तर मूल्यको आधारमा मात्रै हेर्ने हो भने नेपालको मोबाइल डाटा विश्वको सस्तोमा परेको छ । हालै सार्वजनिक रिपोर्टमा विश्वका २३० मुलुकहरुमध्ये नेपाल सस्तो डाटा उपलब्ध हुने देशहरुमध्ये ४५ औं स्थानमा रहेको छ।

अनुसन्धान संस्था बेलायतको केबल डट को डट यूकेले गरेको अनुसन्धानअनुसार नेपालको मोबाइल डाटा सस्तो मध्येमा सस्तो मूल्य हुने देशहरु मध्ये ४५ औं नम्बरमा परेको हो ।

सन् २०१८ मा गरिएको अनुसन्धानमा आधारित सो रिपोर्टअनुसार नेपालको १ जीबी डाटाको औसत मूल्य २.२५ अमेरिकी डलर अर्थात २५६ रुपैयाँ ५३ पैसा रहेको छ । नेपालमा सस्तो मोबाइल डाटा ३७ रुपैयाँको रहेको तथा सबैभन्दा महंगो ७ सय ३४ रुपैयाँ ५० पैसाको रहेको थियो ।

त्यसैगरि एशियाली मुलुकहरुमध्ये सस्तो मोबाइल ब्रोडब्याण्ड डाटा हुने देशहरुको सूचीमा १४ औं सस्तो मुलुक रहेको छ । सो संस्थाले नेपालको विभिन्न २७ वटा प्लानहरुको मूल्यांकनको आधारमा नेपालको स्थान सूची निकालेको हो ।

तर दक्षिण एशियाली तथा सार्क मुलुकहरुको आधारमा हेर्दा नेपालको डाटा प्लान महंगो मध्येमा परेको छ । दक्षिण एशियाली मुलुकहरुमध्ये नेपालभन्दा पछाडि अर्को सार्क मुलुक माल्दिभ्स मात्र रहेको छ ।

माल्दिभ्स निकै महंगो मोबाइल डाटा भएको देशमा परेको छ जसको स्थान ११६ औं स्थानमा छ, जहाँ १जीबी डाटाको औसत मूल्य ५.२७ अमेरिकी डलर रहेको छ । सार्क देशहरुमध्ये क्रमशः भारत, श्रीलंका, बंगलादेश, भुटान, अफगानिस्तान र पाकिस्तान भन्दा पछाडि नेपाल रहेको छ । पाकिस्तानमा १ जीबी मोबाइल डाटाको औसत रेट १.८५ अमेरिकी डलर रहेको रिपोर्टमा उल्लेख छ ।

हालै सार्वजनिक भएको सो रिपोर्टअनुसार सस्तो मोबाइल डाटा प्लान हुने देशमा छिमेकी मुलुक भारत परेको छ । भारतमा १ जीबी मोबाइल डाटाको मूल्य विश्वमै सबैभन्दा सस्तो रहेको रिपोर्टमा उल्लेख छ । भारतीयहरुले १जीबी डाटा केबल ०.२६ अमेरिकी डलरमा प्रयोग गर्ने गर्दछन् ।

सो सूचीको दोस्रो स्थानमा किर्गीस्तान परेको जहाँ १ जीबीको औसत मूल्य ०.२७ अमेरिकी डलर छ । केबल डटको डटयूकेको रिपोर्टअनुसार काजकस्तान, यूक्रेन, रुवाण्डा, सुडान, श्रीलंका,मंगोलिया, म्यानमार र कंगो क्रमशः तेस्रोदेखि १० औं स्थानसम्म रहेका छन् ।

विकसित मुलुकहरु भने यो सूचीअनुसार महंगो मोबाइल ब्रोडब्याण्ड डाटा शुल्क भएको देशहरुमा परेका छन् । सूचीले अमेरिका, बेलायतजस्ता देशहरुमा पनि निकै महंगो मोबाइल ब्रोडब्याण्ड डाटा प्लान रहेको देखाएको छ । बेलायतमा १ जीबी डाटाको मूल्य ६.६६ अमेरिकी डलर देखाएको छ भने अमेरिकामा १जीबी मोबाइल ब्रोडब्याण्डको मूल्य १२.३७ अमेरिकी डलरसहित १८२ औं स्थानमा रहेको छ ।

विश्वको सबैभन्दा महंगो मोबाइल ब्रोडब्याण्ड डाटा जिम्बाबेमा रहेको छ जून सूचीको २३० औं स्थानमा रहेको छ । जिम्बाबेमा औसत ७५.२० अमेरिकी डलर पर्दछ । त्यसैगरि निकै महंगो मोबाइल ब्रोडब्याण्ड उपलब्ध भएको यूरोपेली देशमा ग्रीस परेको छ । ग्रीसमा १ जीबी मोबाइल ब्रोडब्याण्डको मूल्य ३२.७१ अमेरिकी डलर रहेको छ ।

छिमेकी मुलुक चीन पनि महंगो मोबाइल डाटा प्लान भएको देशमा परेको छ, जहाँ औसतमा ९.८९ अमेरिकी डलर १ जीबी मोबाइल डाटालाई तिर्नुपर्दछ ।

सो संस्थाले विश्वका २३० देशहरुको ६ हजार ३ सय १३ भन्दा बढि मोबाइल डाटा प्लानहरुको अध्ययन गरेको थियो ।

माध्यम स्रोत

Sajilo Visa

प्रकाशित: २२ फाल्गुन २०७५, बुधबार

तपाइको प्रतिक्रिया