ह्वावेकी मेङद्वारा क्यानाडाको सीमा निकाय विरुद्ध मुद्दा दर्ता, अमेरिका विरुद्ध पनि मुद्धा गर्दै

Technology Khabar २० फाल्गुन २०७५, सोमबार

ह्वावेकी मेङद्वारा क्यानाडाको सीमा निकाय विरुद्ध मुद्दा दर्ता, अमेरिका विरुद्ध पनि मुद्धा गर्दै

काठमाडौं ।

टोरन्टो । चिनीया टेक कम्पनी ह्वावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउले आफू विरुद्ध गैरकानुनी थुना, खानतलास र पुछताछ गरेको भन्दै क्यानाडा सरकार, यसको सीमा निकाय तथा राष्ट्रिय प्रहरी विरुद्ध मुद्दा दर्ता गरेकि छिन् ।

वान्झाउका वकीलहरुले ब्रिटिस कोलम्बिया सर्वोच्च अदालतमा आफ्नो मौलिक हक सुरक्षित गरिपाऊँ भन्दै मुद्दा दर्ता गरेका छन् । अमेरिकी सरकारको अनुरोधमा क्यानडाले मेङलाई गत वर्ष डिसेम्बर १ तारिखमा पक्राउ गरेको थियो ।

ह्वावेका संस्थापककी छोरी मेङमाथि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लङ्घन गरेको तथा इरानसँग व्यवसाय सञ्चालन गर्न बैंकहरुलाई गलत विवरण दिएको आरोप लागेको छ ।

पछिल्लो समय क्यानडा सरकारले मेङलाई अमेरिकी अधिकारी समक्ष सुपुर्दगी गर्न प्रक्रिया थालनी गरेको छ । मेङलाई हाल क्यानडा छाड्न नपाउने गरी जमानतमा रिहा गरिएको छ, र उनी क्यानडाको भ्यानकुभरमा बसिरहेकि छिन। चीनले मेङको गिरफ्तारीलाई राजनीतिक कारण भन्दै विरोध गरिरहेको छ ।

मेङको गिरफ्तारीका विषयमा चीन र क्यानडाबीच पनि तिक्तता छाएको छ । चीनले पनि राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै क्यानडाका पूर्व कुटनीतिज्ञ माइकल कोभरिग र क्यानडाका व्यवसायी माइकल स्पाभोरलाई डिसेम्बर १० तारिखमा गिरफ्तार गरेको छ ।

गत शुक्रबार क्यानडाको न्याय विभागका अधिकारीहरुले सुपुर्दगी प्रक्रिया शुरु गर्न अनुमति दिएका थिए । सुपुर्दगी प्रक्रिया प्रारम्भ गर्न बुधबार मेङलाई अदालतमा उपस्थित गराइँदैछ । तर यो प्रक्रिया पूरा हुन महिनौं वा कहिलेकाहिँ वर्षौं लाग्न सक्छ ।

यसैबिच ह्वावेले अमेरिका विरुद्ध पनि मुद्धा दर्ता गर्ने तयारी गरेको छ । ह्वावेले अमेरिकाको टेक्सासमा यहि बिहिबार अमेरिकी सरकारविरुद्ध मुद्धा दायर गर्न लागेको रोयटर्सको रिपोर्ट आएको छ ।

ह्वावेले यूएस डिफेन्स अर्थोराईजेसन एक्टको विरुद्धमा चुनौती दिने बताईएको छ । चीनले सो ऐन आफू विरुद्ध प्रयोग गरिएको आरोप लगाउँदै आएको छ । अमेरिकाले सो ऐन अन्तरगत नै ह्वावेलाई अमेरिकी उपकरण तथा प्रविधि प्रतिबन्धित ईरानलाई बिक्री गरेको आरोप लगाएको थियो ।

Global Bank
easy care

प्रकाशित: २० फाल्गुन २०७५, सोमबार