Technology Khabar १८ फाल्गुन २०७५, शनिबार
काठमाडौं ।
काठमाडौं । प्रविधिको माध्यमबाट कारसेवा उपलब्ध गराउँदै आएको कम्पनी लीफ्ट (Lyft)ले प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । राइड हेलिंग कम्पनी लीफ्टले अर्को प्रतिस्पर्धी कम्पनी उबरलाई पछाडि पार्दै पब्लिक कम्पनी बन्ने तयारी गरेको हो ।
लीफ्टले अमेरिकी सेयर बजारमा सूचिकृत हुनका लागि शुक्रबाट फाइल दर्ता गरेको छ । यो कम्पनीले प्राथमिक शेयर निष्कासन गरेर १०० मिलियन अमेरिकी डलर अर्थात ११ अर्ब ५० करोड रुपैयाँ भन्दा बढि रकम उठाउने लक्ष्य लिएको छ । यो रकम लगानीकर्ताको मागको आधारमा तलमाथि हुनसक्ने छ ।
अमेरिकी स्टक एक्सचेन्ज नास्डाकमा यसलाई लीफ्ट नाममा शेयर कारोबार हुनेछ ।
करिब १ वर्षदेखि लगानीकर्ताहरुले यस प्रकारको कम्पनीहरु बजारमा लगानी गर्न सकियोस भनेर प्रतिक्षारत थिए ।
लीफ्टको आईपिओको लागि जेपी मोर्गन चेज एण्ड कम्पनी, एजी एण्ड जेफर्स फाइनान्सियल ग्रुपले नेतृत्व गर्नेछ । हाल सो कम्पनीको बजार मूल्य १५.१ बिलियन अमेरिकी डलर गरिएको छ ।
कम्पनीले अहिलेसम्म कतिवटा शेयर बिक्री गर्नेछ वा त्यसको मूल्य श्रेणी बताएको छैन् ।
कम्पनीले दिएको आवेदनअनुसार सन् २०१८ मा कम्पनीले २.२ बिलियन अमेरिकी डलर आम्दानी गरेको थियो जून सन् २०१७ को तुलनामा दोब्बर भन्दा बढि हो ।
कम्पनीले आम्दानीका साथै घाटा पनि गरिरहेको उल्लेख गरेको छ । कम्पनीले सन् २०१८ मा मात्रै ९९१ मिलियन डलर घाटा बेहोरेको उल्लेख छ ।
लीफ्टले अमेरिकी राइडसेयरिंग बजारमा करिब ३४ प्रतिशत बजार हिस्सा ओगटेको छ । बाँकी बजार हिस्सा भने उबरले लिएको छ ।
हाल लीफ्टमा भाइबरको मूख्य कम्पनी राकुटेन, जनरल मोटर्स, अल्फाबेटलगायतका कम्पनीहरु मूल्य शेयरहोल्डर हुन् ।
सन् २००७ मा स्थापना भएको कम्पनीले हालसम्म भेन्चर क्यापिटलबाट ५.१ बिलियन डलर उठाईसकेको छ । यो कम्पनीले विश्वभर ३०० वटा बजारमा सेवा प्रदान गरिरहेको छ भने कम्पनीले सन् २०१८ मा ३०.१ मिलियन राइड लिएको थियो ।
प्रकाशित: १८ फाल्गुन २०७५, शनिबार