लिथियम आयोन ब्याट्री यात्रुबोक्ने प्लेनमा लैजान प्रतिबन्ध, अमेरिकाको नयाँ नियम

काठमाडौं । अमेरिकाले बुधवारदेखि यात्रुसहित उडान गर्ने प्लेनमा लिथियम आयोन ब्याट्री ढुवानी गर्न रोक लगाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ ट्रान्पोर्टेशन तथा फेडेरल एभिएस एडमिनिस्ट्रेसनले लिथियम आयोन ब्याट्रीको खतराबाट बचाउन र हवाई यात्रुहरुको सुरक्षालाई जोड दिँदै नयाँ नियम जारी गरेको हो ।

यो अन्तरिम नयाँ नियमले लिथियम आयोन शेलहरु तथा ब्याट्रीहरुलाई यात्रुबाहक हवाईजहाजको कार्गो एरियामा राख्न रोक लगाएको हो । यो नियमले कार्गो बोक्ने एरोप्लेनहरुका लागि पनि नयाँ निर्देशन दिएको छ, जसअनुसार प्लेनमा ढुवानी गर्नुपर्ने त्यस्ता ब्याट्रीहरु ३० प्रतिशत भन्दा धेरै चार्ज गरिएको हुनुहुनेछैन् ।

अमेरिकी सेक्रेटरी अफ ट्रान्सपोर्टेसन, एलेन एल चाओले नयाँ नियमको बारेमा भने, ‘यो निमयले यातायातमा हुने लिथियम ब्याट्रीहरुले ल्याउने नयाँ चुनौतीहरुलाई सम्बोधन गर्दै यात्रागर्ने मानिसहरुको सुरक्षालाई मजबुत बनाउँछ ।’

तर यो नियमले हवाई यात्रा गर्ने यात्रुहरुले आफ्नो साथमा लगेजमा बोक्ने वा प्रयोग गर्ने स्मार्टफोनहरु, ट्याबलेटहरु, र ल्यापटपहरुमा भने कुनै प्रभाव पार्नेछैन् । तर उनीहरुले सो त्यस्तो डिभाइसहरु लगेजको रुपमा प्याक गरेका छन भने त्यसलाई पूर्णरुपमा स्विच अफ गरिएको हुनुपर्नेछ ।

सन् २०१६ मा यूएनको अन्तराष्ट्रिय नागरिक उड्डन प्राधिकरण(आईकाओ)ले पनि यस्तै किसिमको प्रतिबन्ध सबै मुलुकहरुका लागि जारी गरेको थियो । तर यस्तो नियम यात्रु क्याबिनमा हुने इलेक्ट्रोनिक डिभाइसहरुका लागि भने लागू गरिएको छैन् ।