सामाजिक संजाललाई प्रतिबन्ध गर्ने कुरा छैन- सञ्चारमन्त्री बाँस्कोटा

Technology Khabar १० फाल्गुन २०७५, शुक्रबार

सामाजिक संजाललाई प्रतिबन्ध गर्ने कुरा छैन- सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सामाजिक संजालको सदूपयोग र प्रयोगको लागि सूचना प्रविधि सम्बन्धी विधेयक ल्याएको बताएका छन् ।

उनले सो विधेयकमा डिजिटल हस्ताक्षर, साइबर बुलिंग, साइबर सुरक्षालगायतको व्यवस्था पनि उल्लेख रहेको बताए । उनले सामाजिक संजाललाई प्रतिबन्ध गर्ने कुरा कतै नभएको जानकारी दिए ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सूचना प्रविधि सम्बन्धी विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले सूचना प्रविधिको सबैभन्दा बढी सदुपयोग गर्दै समग्र सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित पार्न नयाँ विधेयक ल्याएको स्पष्ट पारे ।

संसार भरी नै साईबर बुलिङ गर्न नपाईने भन्दै सरकारले सामाजिक सञ्जाललाई नै प्रतिबन्ध लगाउने नियतअनुसार विधेयक नल्याएको उनले स्पष्ट पारे ।

‘हामीले उत्तरी छिमेकको जस्तो सामाजिक संजालको टेक्नोलोजी विकास गर्न सकेका छैनौं, तर पनि हामी एक्टिभ सामाजिक संजाल प्रयोगकर्तामध्ये हौं,’ उनले भने ।

सामाजिक सञ्जालको नियमनका लागि बेलायत र अमेरिकामा पनि कडा सजायको व्यवस्था रहेको भन्दै उनले पुर्वाग्रहपूर्ण ढंगले विधेयकलाई नहेर्न आग्रह गरे ।

साइबर सुरक्षाको विषय राष्ट्रिय सुरक्षाको विषय भएकाले सरकारले त्यसलाई प्राथमिकताका साथ व्यवस्थित गर्न स्पष्ट ऐन बनाउन खोजेको उनले बताए ।

जसले संजालको नेटवर्किंग दर्ता गरेर कम्पनी चलाउँछ उनले अवश्य नै दर्ता गरेर चलाउँछन्, उनले विभिन्न मुलुकहरुमा फेसबुकजस्ता सामाजिक संजालको दर्ता रहेको भन्दै स्पष्ट पारे । कुनै सत्ता माथिको नियन्त्रणको हिसाबले नल्याएको र कसैप्रति पूर्वाग्रह भएर नल्याएको उनको भनाई थियो ।

TK Viber

प्रकाशित: १० फाल्गुन २०७५, शुक्रबार

Loading...