अनुमति बिना सिसी क्यामरा जडान, ठूला होटलले समेत नियम पालना गरेनन्

Technology Khabar २ फाल्गुन २०७५, बिहीबार

अनुमति बिना सिसी क्यामरा जडान, ठूला होटलले समेत नियम पालना गरेनन्

काठमाडौं ।

बाँके । बाँकेको नेपालगञ्जलगायत क्षेत्रमा २०० भन्दा बढी स्थानमा सिसी क्यामरा जडान गरिएको छ । अधिकांश ठाउँमा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै सिसी क्यामरा जडान गरिएको पाइएको छ ।

सरकारी, गैरसरकारी र निजी संस्था तथा निवासमा जडान गरिएका सिसी क्यामराको जिल्ला प्रशासनसँग यकिन विवरण छैन ।

नेपालगञ्जको सुर्खेत रोडमा मात्रै ५६ सिसी टिभी क्यामरा जडान गरिएको छ । यीमध्ये अधिकांश सिसी क्यामरा कानून विपरीत अनुमतिबिनै जडान भएका छन् । केही जडानकर्ता निकायले जडान गर्दा अनुमति लिए पनि त्यसपछि नवीकरण गरेका छैनन् । बाँकेमा ३८ संस्थाले मात्र सिसी क्यामरा राख्न अनुमति लिएका छन् ।

सडकमा मात्रै नभई नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सञ्चालन भइरहेको सामान्यदेखि उच्चस्तरका होटलले समेत अनुमतिबिनै सिसी क्यामरा जडान गरेको पाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालकाअनुसार नेपालगञ्जस्थित ठूला होटल स्नेहा, सिद्धार्थ र सोल्टीमा जडान गरिएका सिसी क्यामरा मापदण्ड विपरीत देखिएका छन् । यी होटलमा जडित क्यामरा प्रशासनको अनुमतिबिना जडान गरिएको पाइएको छ ।

नेपालगञ्ज र कोहलपुरका अधिकांश होटलले क्यामरा जडान गरे पनि प्रशासनको अनुमति लिएका छैनन् । नेपालमै नाम चलेका सोल्टी, सिद्धार्थ भ्यूका साथै नेपालगञ्जका चर्चित होटल सिटी प्यालेस, ग्यालेक्सी दरबार, सिग्नेट र स्नेहामा समेत अनुमतिबिनै सिसी क्यामरा जडान गरेको पाइएको छ । नेपालगञ्जको किचन हटले भने सरकारी मापदण्ड र प्रशासनको अनुमति लिएरै सिसी क्यामरा जडान गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्रको लगानीमा सञ्चालित होटल सोल्टी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाको लगानीमा रहेको होटल स्नेहाले समेत सिसी क्यामरा जडानको अनुमति नलिएको सहायक प्रजिअ अर्यालले बताए।

करोडौँ रुपैयाँ लगानीका होटलका साथै गैरसरकारी संस्था र निजी कम्पनीले सरकारी नीति तथा नियमको उलङ्घन गरेको पाइएको छ । रोकथाम तथा यस्ता निकायलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायले चासो दिएको छैन । जिल्लामा जताततै सिसी क्यामरा जडान गरिएको र अनुमति लिनेको सङ्ख्यामा कमी देखिएपछि जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि कडाइ गर्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालयले सिसी क्यामरा जडान गरेर पनि मापदण्ड पूरा नगरेका वा अनुमतिबिनै क्यामरा जडान गरेका होटल, गैरसरकारी, सरकारी निकाय र निजी कम्पनीलाई सात दिनभित्र अनुमित लिई मापदण्ड प¥याएर मात्रै क्यामरा जडान गर्न निर्देशन दिएको छ । कार्यालयका अनुसार तोकिएको सयमभित्रै अनुमति नलिए कानूनले तोकेअनुसारको कारवाही गरिनेछ ।

सहायक प्रजिअ अर्यालले सिसी क्यामरा राख्न अनुमति लिएकाले पनि अपनाउनु पर्ने सामान्य प्रक्रिया पूरा नगरेको बताए ।
“सिसी क्यामेरा राख्ने अनुमति लिएकाले कम्तीमा ९० दिनसम्म रेकर्ड सुरक्षित राख्नुपर्छ, सूचना स्पष्ट देखिने गरी राख्नु पर्छ । अधिकांशले मापदण्ड पूरा गरेका छैनन्”, उहाँले भने ।

Global Bank
easy care

प्रकाशित: २ फाल्गुन २०७५, बिहीबार

ताजा समाचार