स्मार्टफोन चार्जमा राखेर ईयरफोनबाट गीत सुन्दा युवकको मृत्यु

Technology Khabar २३ माघ २०७५, बुधबार

स्मार्टफोन चार्जमा राखेर ईयरफोनबाट गीत सुन्दा युवकको मृत्यु

काठमाडौं । हामीमध्ये अधिकांश मानिसहरु स्मार्टफोन चार्जमा राखेको बेलामा पनि प्रयोग गरिरहेका हुन्छौं । तर फोन चार्ज गरिरहेको बेला फोन प्रयोग गर्ने कार्यले आफ्नो ज्यानै जानसक्ने खतरा छ भन्ने धेरैलाई थाहा नहुन सक्दछ ।

हालै एक व्यक्तिको स्मार्टफोन चार्जमा राखेर प्रयोग गर्दा मृत्यु भएको घटना सार्वजनिक भएको छ ।

थाईल्याण्डको चोनबुरी प्रान्तमा रहने क्रिस्टाडा सुपोल नामक एक २४ वर्षिय युवकको राती स्मार्टफोन चार्जमा राखेको बेला ईयरफोन लगाएर गीत सुनिरहेको बेला मृत्यु भएको हो ।

उनले आफ्नो स्मार्टफोन चार्जमा राखेका थिए भने सोहि फोनबाट सुतेर गीत सुनिरहेका थिए, सोहि बेला अचानक उनलाई करेन्ट लागेर उनको मृत्यु भयो ।

स्थानीय मिडिया रिपोर्टअनुसार क्रिस्टाडाले ईयरफोनको स्पीकर मुखमा दबाएर राखेका थिए र त्यहि बेला विद्युतको झट्का लागेर उनको मृत्यु भएको थियो ।

मिडिया रिपोर्टसकाअनुसार चोनबुरी प्रान्तमा भाडामा बसिरहेको क्रिस्टाडाको घरधनी आइतवार बिहान उनको कोठामा पुग्दा उनको मृत शरिर ओछ्यानमा भेटेका थिए ।

प्रहरीकाअनुसार क्रिस्टाडाको कानमा ईयरफोन प्रयोग भईरहेको थियो र प्रहरीले पनि सोहि ईयरफोनको माध्यमबाट करेन्ट लागेर मृत्यु भएको अनुमान गरेकोछ । प्रहरीकाअनुसार करेन्ट यति तिब्र र शक्तिशाली थियो की क्रिस्टाडाको कानको केहि भाग नराम्रोसँग जलेको थियो ।

चोनबुरी प्रान्तको प्रहरीकाअनुसार क्रिस्टाडासँग सामसंगको स्मार्टफोन थियो तर त्यसलाई चार्ज गर्नका लागि लोकल कम्पनीको चार्जर प्रयोग गरिएको थियो । सोहि कारणले चार्जिंगको समयमा विद्युत झड्का आउँदा उनको मृत्यु बताईएको छ।

‘क्रिस्टाडाको मृत्युबाट अन्य मानिसहरुले पनि नक्कली चार्जरको प्रयोग गर्दा र फोन चार्जिंगमा राखेर प्रयोग गर्दा तपाईँको पनि ज्यान जान सक्दछ भन्ने चेतना हुनुपर्दछ,’ प्रहरीले भनेको छ ।

प्रहरीले मृत शरिरलाई थप जाँचका लागि पठाएको छ ।

यसअघि पनि मलेशियाका १६ वर्षिय मोहम्मद आदिल अजहर जहरीनको मृत्यु ईयरफोन लगाएको कारण भएको थियो । उनको कानमा ईयरफोन प्रयोग गरिएको थियो र त्यसबेला नै करेन्ट लाग्दा उनको मृत्यु भएको थियो । ब्राजिलमा पनि फोन चार्जमा राखेर ईयरफोनमा गीत सुनिरहेका एक व्यक्तिको मृत्यु भएको समाचार बाहिर आएको थियो ।

माध्यम

प्रकाशित: २३ माघ २०७५, बुधबार

Comments are closed.

Loading...