दूरसंचार प्राधिकरणद्धारा आइटेल कम्यूनिकेसनको आइएसपी लाइसेन्स खारेज

Technology Khabar २२ माघ २०७५, मंगलवार

दूरसंचार प्राधिकरणद्धारा आइटेल कम्यूनिकेसनको आइएसपी लाइसेन्स खारेज

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले दुईवटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले धेरै समयदेखि राजस्व नतिरेका तथा समयावधिभित्र नविकरण गर्न असफल भएका दुई कम्पनीहरुको इन्टरनेट सेवा प्रदायक (आइएसपी)को अनुमतिपत्र रद्ध गरेको हो ।

रद्ध भएका कम्पनीहरुमा आइटेल कम्यूनिकेसन प्रालि र सेभेन स्टार नेट प्रालि रहेका छन् ।

प्राधिकरणले सो बारेमा मंगलबार नै कम्पनीको वेबसाइटमार्फत सार्वजनिक सूचना प्रकाशित गरि दुबै कम्पनीहरुको लाइसेन्स रद्ध गरिएको जानकारी दिएको छ ।

यसमध्ये आइटेल काठमाडौंमा संचालनमा रहेको थियो, जून कम्पनी कुनै समयमा चर्चित र ठूलो आइएसपी कम्पनीमध्येमा पर्दथ्यो । यस कम्पनीले विगतदेखि नै प्राधिकरण र सरकारलाई तिर्नुपर्ने राजस्व नतिरेको र समयमा कम्पनी नविकरण नगरेको हुँदा रद्ध गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

आइटेलले प्राधिकरणका विरुद्धमा जिल्ला अदालत काठमाडौंबाट लाइसेन्स खारेजीको प्रकृया रोक्नका लागि गएको पुस १७ गते निषेधाज्ञा समेत जारी गराएको थियो । सो कम्पनीले जारी गराएको निषेधाज्ञाको विरुद्ध प्राधिकरणले भ्याकेट दर्ता गरेको थियो र सो निषेधाज्ञा खारेज गराएको थियो । निषेधाज्ञा खारेज गर्दै जिल्ला अदालतले कम्पनी समयभित्रै नविकरण भएको नदेखिएको उल्लेख गरेको थियो ।

प्राधिकरणकाअनुसार आइटेलले आर्थिक वर्ष २०७२/७३ देखि नै रोयल्टी र ग्रामिण दूरसंचार कोष बापतको रकम बुझाएको छैन् ।

सो आवमा कम्पनीले करिब ९ लाख रुपैयाँ थप दस्तुरसहित रोयल्टी तिर्न बाँकी छ भने आव २०७३÷७४ मा रोयल्टी र ग्रामिण दूरसंचार कोषमा जरिवाना र थप दस्तुरसहित १० लाख भन्दा बढी राजस्व भुक्तानी गर्नुपर्ने छ । कम्पनीले आव २०७४/७५ को अडिट रिपोर्ट, रोयल्टी र ग्रामिण दूरसंचार कोष केहि पनि प्राधिकरणमा बुझाएको छैन् । अडिट रिपोर्ट नै नबुझाउँदा कति राजस्व प्राप्त हुने भन्ने यकिन हुन नसकेको प्राधिकरणले जनाएको छ ।

स्थापनामा जेन टेक प्रालिको नाममा २०६५ पुस २१ गते आइएसपीको अनुमति पत्र प्राप्त गरेको थियो । सोहि कम्पनी त्यसपछि ओटेल कम्यूनिकेसन प्रालिको नाममा २०७० कात्तिक ५ गते नाम परिवर्तन भएर संचालनमा रहेको थियो ।

ओटेल कम्पनी त्यसपछि २०७२ साल चैत्र ३ गतेदेखि भने आइटेल कम्यूनिकेसन प्रालिको नाममा कारोबार गर्दै आएको कम्पनी रजिष्ट्रारको कार्यालयको तथ्यांकमा देखिन्छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयको तथ्यांकअनुसार कुल ५ करोड अधिकृत पूँजी रहेको ओटेल कम्यूनिकेसनमा सागर उप्रेती, उदय रत्न ताम्राकार, प्रदिप रत्न ताम्राकार, र विजय रत्न ताम्राकारको संयुक्त लगानी रहेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार आइटेलका केबल इन्टरेट सेवा प्रयोगकर्ता २ हजार ४ जना छन भने फाइबरतर्फ ४ हजार १४६ गरि कुल ६ हजार १ सय ५० ग्राहक मंसिर महिनासम्म रहेका छन् ।

अपडेट गरिएको

easy care

प्रकाशित: २२ माघ २०७५, मंगलवार

ताजा समाचार