फोरजी टेण्डरको लागत घटाउन अर्थ समितिको निर्देशन, ५ वर्षे योजना बनाउनुपर्ने

Technology Khabar १५ माघ २०७५, मंगलवार

फोरजी टेण्डरको लागत घटाउन अर्थ समितिको निर्देशन, ५ वर्षे योजना बनाउनुपर्ने
फाइल
Global IME Bank

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले बिस्तार गर्न लागेको फोरजी सेवा बिस्तारको लागि सबै विकल्पहरु खुला गर्दै प्रकृयामा रहेको ठेक्काको लागत अझ घटाउन(मितव्ययी हुन) निर्देशन दिएको छ ।

अर्थ समितिको मंगलबारको बैठकले टेलिकमको फोरजी बिस्तारको हाल प्रकृयामा रहेको ठेक्कालाई अझ मितव्ययी हुने गरी गर्ने वा प्रविधिको स्तर वृद्धिगरी फोरजी सेवा उपलब्ध गराउने वा छोटो प्रकृया अबलम्बन गरी नयाँ बोलपत्र आब्हान गरेर सस्तो विकल्प छनौट गर्न निर्देशन दिएको हो ।

समितिले लाभ लागतको विश्लेषण गर्न निर्देशन दिँदै त्यस्तो निर्णयप्रति प्रकृयामा संलग्न सबैले जिम्मेवारीता र जवाफदेहिता बहन गर्न गराउन पनि निर्देशन दिएको छ ।

त्यसैगरि फोरजी सेवा बिस्तारको लागि सम्झौता भएको मितिले १२ महिनाभित्र मुलुकभर सेवा प्रवाह हुने आधार सुनिश्चित हुनेगरी लागू गर्न समेत निर्देशन दिएको छ । यदि १२ महिनामा काम सम्पन्न गर्दा उपकरण र सेवाको गुणस्तरमा कुनै सम्झौता नहुने र तोकिएको काम सम्पन्न नभएमा सम्झौतामा संलग्न हुने सम्बद्ध सबै पक्ष जवाफदेहि हुने व्यवस्था गर्ने निर्देशन दिएको हो ।

फोरजी सेवा बिस्तारबाट आगामी ५ वर्षमा नेपाल टेलिकमको वित्तिय अवस्था सुदृढ भई सरकारलाई प्राप्त हुने राजस्व र लाभांश दोब्बर हुने आधारसहितको विश्वसनिय व्यवसायीक योजना बनाई लागू गर्न समेत अर्थसमितिले निर्देशन दिएको छ ।

मंगलबार समितिले दूरसंचार क्षेत्रका विज्ञहरुको सुझाव समेत लिएको छ ।

सो छलफलमा नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कँडेलले अहिलको प्रविधिलाई अपग्रेड गर्नुभन्दा नयाँ टेण्डरबाट फोरजी बिस्तार गर्नुपर्ने सुझाव दिए । उनले टेलिकमका ग्राहकहरु पुनः फर्काउने हो भने छर्लाङ्ग मार्ने किसिमको अपडेट हुनुपर्ने बताए ।

‘एनटिसीलाई अझै घिस्याउने हो भने यसललाई श्राप दिए जस्तो हुनेछ र यसलाई धरासायी बनाउने कार्य हो,’ उनले भने ।

नेपाल टेलिकमका पूर्व महाप्रबन्धक सुरेश पुडासैनीले फोरजी सेवा बिस्तारमा जानै पर्ने भन्दै यसमा सम्बद्ध कर्मचारीहरुलाई विश्वास गर्नुपर्ने भन्दै नियत नै खराब भए कारबाही गर्न सकिने बताए ।

त्यसैगरि कार्यक्रममा विश्वनाथ गोयलले नेपाल टेलिकमले २ वर्षमा फोरजी सेवा बिस्तार गर्न नसक्दा व्यापार गर्न नसकेको भन्दै ८ अर्ब रुपैयाँसम्म गुमाएको बताए ।

‘यसअघि परफरमेन्स नै नगरेको कम्पनीलाई नै फोरजी टेण्डर दिन लागेको र त्यो गंभिर हो । ठेक्का क्यान्सिल वा रोक्ने भन्दा पनि क्लज थपेर ठेकेदारलाई कसरी कस्ने ?’ उनले भने ।

सूचना प्रविधि क्षेत्रका अभियन्ता तथा राष्ट्रिय अविश्कार केन्द्रका अध्यक्ष महाबिर पुनले फोरजी बिस्तार नगर्दा राजस्व कम हुँदै जाने हुँदा यो बढाउने कार्य गर्नुपर्ने बताए । उनले ई गर्भनेन्सको लागि पनि फोरजी बिस्तार आवश्यक भएको बताए ।

कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले कुनै व्यक्तिको लहडमा फोरजी टेण्डर नभएको भन्दै कानूनअनुसार नै टेण्डर पारेको कम्पनीलाई दिएको बताए ।

‘हाम्रो बिधिले पुरानै कम्पनी पर्यो त के गर्न सकिन्छ ? हामीले घटि कबोल गरेकोलाई दिएको तर गुणस्तरमा कम्प्रोमाइज गर्दैनौं,’ मन्त्री बाँस्कोटाले भने ।

कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फोरजी सेवा बिस्तार र व्यवसायीक योजना बारे जानकारी दिएका थिए । उनले पूर्वाधारमा पनि लगानी हुने र त्यो दिर्घकालिन हुने भन्दै फोरजी सेवा बिस्तारपछि टेलिकमको आम्दनीमा पनि वृद्धि हुने बताए ।

‘अहिलेकै अवस्थामा अपग्रेड गरेर काठमाडौं भित्रै पनि फोरजीको फुल कभरेज गर्न सकिँदैन्, ७/८ वर्ष फोरजीको बजारीकरण गर्न सके यसैले बाँच्न सकिनेछ,’ उनले दाबी गरे ।

छलफलमा सांसदहरुले फोरजी सेवा बिस्तारको प्रकृया, महंगो मूल्य, टेण्डर प्रकृया, समयावधी र व्यवसायीक योजनाहरुको बारेमा विभिन्न जिज्ञासा राखेका थिए ।

Sajilo Visa

प्रकाशित: १५ माघ २०७५, मंगलवार

तपाइको प्रतिक्रिया