टेलिकमको फोरजी बिस्तार प्रकृया बारे बिज्ञहरुसँग छलफल गरिने

Technology Khabar १३ माघ २०७५, आईतवार

टेलिकमको फोरजी बिस्तार प्रकृया बारे बिज्ञहरुसँग छलफल गरिने

काठमाडौं ।

काठमाडौँ । नेपाल टेलिकमको सेवालाई थप विस्तार गर्दै समयानुकूल बनाउने विषयमा सरकारले विशेष ध्यान दिई पारदर्शिरुपमा प्रक्रिया अगाडि बढाउनुपर्ने र ढिलाइ गर्न नहुनेमा जोड दिइएको छ।

प्रतिनिधिसभाको अर्थ समितिको आइतवारको बैठकमा बोल्ने अधिकांश सांसदले नेपाल टेलिकमले सेवा फोर जीको विस्तारमा प्रभावकारी तवरले लाग्नुपर्ने र त्यसमा कुनै पनि प्रकारको अनियमितता हुन नहुने बताए।

पछिल्लो पटक नेपाल टेलिकमले एक चिनियाँ कम्पनीलाई फोर जी सेवा विस्तारको जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रको माध्यमबाट सो कम्पनीले फोर जी सेवा विस्तारको जिम्मा पाएको सन्दर्भमा त्यसको लागत बढी भएको उनीहरुले गुनासो गरे । टेलिकमले १९ अर्ब रुपैयाँ लगानीमा आगामी एक वर्षभित्र देशभरी प्रमुख काम पूरा गर्ने गरी फोर जी सेवा विस्तार गर्न लागिएको यसअघिको बैठकमा जानकारी दिएको थियो ।

ठूलो परिमाणको रकम खर्च गर्दा अपनाइएको प्रक्रिया गलत त भएको छैन भन्दै सांसदहरुले विषयविज्ञसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए। काम रोक्ने भन्ने विषय नभए पनि सम्बन्धित क्षेत्रका विज्ञसँग मसिनो छलफल गरी लागत सेवा तथा सेवाको गुणस्तरका विषयमा समेत जानकारी लिँदा उपयुक्त हुने उनीहरुको भनाइ थियो।

पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र पाण्डेले निजी क्षेत्रले धमाधम काम गरिरहेको र सेवा विस्तार गरिरहेको सन्दर्भमा टेलिकमले पनि तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । उनले काम रोक्ने भन्दा पनि पारदर्शिता र सेवाको विषयमा भने प्रष्टताको जरुरी रहेको हुँदा विषय विज्ञसँग परामर्श गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै पूर्वअर्थमन्त्री तथा सांसद विष्णुप्रसाद पौडेलले सेवा विस्तारलाई थप सहजीकरण गर्नुपर्ने बताए । हालकै अवस्थामा टेलिकमको फोरजी सेवा बिस्तारमा अवरोध मात्रै हुने अवस्था आए टेलिकमको हालत भृकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता कारखाना जस्तै हुने भएकाले विषय विज्ञ तथा सूचना प्रविधिको क्षेत्रमा जानकार व्यक्तिसँग परामर्श गर्नुपर्ने बताए ।

पूर्वअर्थमन्त्री तथा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सेवा विस्तारमा परिणाम निकाल्ने गरी समय तालीका बनाइएको छ कि छैन भन्ने विषयमा समान धारणा जरुरी रहेको भन्दै थप छदफलको आवश्कता औंल्याएका थिए ।

सांसद जुलीकुमारी महत्तो, रामकुमारी झाँक्री र मेटमणि चौधरीले भने ३३ महिनामा सक्ने भनिएको फोरजी सेवा बिस्तारको काम छोटो समयमै सकिने टेलिकमको दाबी र धेरै रकम रकम खर्च गर्नुपर्ने अवस्था भएकाले गुणस्तरीयताको सम्बन्धमा ध्यान दिइएन कि भन्ने विषयमा आवश्यक छलफल जरुरी रहेको बताए।

समितिले यही माघ १५ गते विषय विज्ञहरुसँग आवश्यक छलफल गरी उपयुक्त सुझाव लिने निर्णय गरेको छ ।

समितिका सभापति कृष्णप्रसाद दाहालले सेवा विस्तारलाई भरपर्दो, परिणाममुखी बनाउन आवश्यक छलफल र परामर्श जरुरी रहेकाले विषय विज्ञको सुझावका आधारमा उपयुक्त निर्णय गरिने जानकारी दिए।

Global Bank
easy care

प्रकाशित: १३ माघ २०७५, आईतवार

ताजा समाचार