टेलिकमको फोरजी लागत महंगो भएको सांसदहरुको आरोप,नाफा ग्यारेन्टीको सुझाब

Technology Khabar ११ माघ २०७५, शुक्रबार

टेलिकमको फोरजी लागत महंगो भएको सांसदहरुको आरोप,नाफा ग्यारेन्टीको सुझाब

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले बिस्तार गर्न लागेको फोरजी सेवाको लागत महंगो भएको र नाफा आर्जन हुने संभावना कम रहेको सांसदहरुले आरोप लगाएका छन् । संघिय संसदको अर्थ समितिमा शुक्रबार नेपाल टेलिकमको फोरजी सेवा बिस्तार र यसको लागत सम्बन्धमा आयोजित छलफलमा सांसदहरुले टेलिकमको फोरजी बिस्तारको लागत निकै महंगो भएको बताएका हुन् ।

अर्थ समितिको छलफलमा बोल्दै सांसद रामकुमारी झाँक्रीले चारवर्षसम्म टेलिकमले फोरजी बिस्तार गर्न नसकेर निजी क्षेत्रको एनसेललाई सबै व्यवसाय बुझाएको आरोप लगाईन् । उनले अहिले बिस्तार गर्न लागिएको फोरजी सेवा १२ महिनाभित्र गर्ने दाबी गरिएपनि कुनैपनि हालतमा त्यो संभव नभएको उनको भनाई थियो ।

‘यो १२ महिनामा पनि आउँदैन् र म ग्यारेन्टिका साथ भन्छु तपाईँको काम गर्ने तरिकाले आउँदै आउँदैन् । टेलिकमलाई उल्ट्याउने र केहि व्यक्ति मोटाउने काम हुँदैछ, यो प्रोजेक्ट स्टप गर्ने हो र फोरजीलाई अपग्रेड गर्नुपर्दछ,’ उनले भनिन् ।

सांसद झाँक्रीले निजी टेलिकम कम्पनी एनसेलले फोरजीमा अपग्रेड गर्दा ३ अर्बमा गरेको तर एनटिसीले भने फोरजीका लागि २३ अर्बमा डिजाइन किन गरेको ? यसको व्यवसायीक प्लान खै ? भन्दै प्रश्न गरेकी थिईन् । उनले ह्वावे कम्पनीले टेलिकमको विभिन्न प्रोजेक्टहरु ढिला गरेको भन्दै ह्वावेलाई कसैले लगाम लगाउनुपर्ने बताईन् ।

त्यस्तै सो बैठकमा सांसद घनश्याम भुषालले फोरजी प्रविधिमा अपग्रेड किन गरिएन र एनसेलको जस्तै अपग्रेड गर्दा कति लाग्दछ भन्ने जिज्ञासा राखेका थिए ।

‘फोरजीको कस्ट एक हिसावले सिन्कीको दाम भै सक्यो, फोरजीको कस्ट असाध्यै सस्तोमा आउँछ र यसको बजार मूल्य कति हो? आगामी २÷३ वर्षमा ५जीमा जानुपर्ने हुन्छ,’ सांसद भुषालले भने ।

सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने टेलिकमले फोरजीमा गरेको लागत धेरै भएको भन्दै कसरी नाफा हुन्छ भन्ने जानकारी माग गरे ।

‘एनसेलले प्रोफिट गर्यो तपाईँहरुले धेरै कष्टमा गर्दा कसरी प्रोफिट हुन्छ ? ५जीमा जाँदा फेरी लागत तिर्नुपर्दछ र यसको कष्टिंग कति पर्छ,’ उनले भने । उनले कुनैपनि सरकारी निकायले टेण्डर गर्दा अख्तियारले फाईल तान्ने गरेको बताए ।

समितिको बैठकमा सांसद तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले देश प्रदेशको आधारमा गईसकेको तर टेलिकमले विकास क्षेत्रको आधारमा फोरजी बिस्तारको अनुमान गरेको भन्दै आपत्ति व्यक्त गरे ।

‘एनटिसी बजारमा एक्लो छैन्। प्रतिस्पर्धी छन् , सस्तो संभावना थियो भने महंगोमा किन ? राज्यले नै झन्झटिलो र महंगो प्रकृया किन खोजेको हो ?’ उनले भने । सांसद पौडेलले टेलिकमले अहिले पनि फोरजी शुरु गरेन भने भएको बजार पनि जाने भन्दै त्यसपछि हात उठाएर घर घर फर्किए हुन्छ भन्ने चेतावनी दिएका थिए ।

बैठकमा सांसद जुली महतोले नेपाल दूरसंचार प्राधिकरणले गर्न लागेको फ्रिक्वेन्सी अक्सनमा सबै कम्पनीहरुलाई सहभागी बनाउने वातावरण बनाउन माग गरिन् । उनले अक्सनको फ्रिक्वेन्सी केहि टेलिकमलाई दिएर बाँकी भएको फ्रिक्वेन्सी अरु तीन कम्पनीहरुलाई दामासाहीमा भाग लगाउनुपर्ने बताईन् ।

सो बैठकमा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले टेलिकमले शुरु गर्न लागेको फोरजी टेण्डर कुनैपनि बहानामा नरोकिने दाबी गरे ।

‘नेपालको मौसम, भुगोल, यातायात वा अन्य डिजास्टरको कारण देखाएर परियोजना रोक्न मिल्दैन् । नेपाल टेलिकमको जिवन मरणको साँचो छ । यदि प्रतिस्पर्धी बजारमा यसलाई पठाउने हो भने अन्य गडबढि हुने छिद्रहरुको संभावनालाई बन्द गर्दै उसलाई कम्पिटिटीभ मार्केटमा जाने बाटो खुला गर्नुपर्दछ,’ मन्त्री बाँस्कोटाले भने ।

उनले फोरजी प्रविधिबाट गुणस्तरमा वृद्धि हुने र कभरेज एरिया पनि बढ्ने, आम्दानी पनि बढ्ने दाबी गरे । टेलिकमले अब भ्वाइसमा भन्दा डाटामा जानुपर्ने, भ्यालु एडेड सर्भिसमा जानुपर्ने र डाटामा ध्यानमा दिनुपर्ने उनले बताए । मन्त्री बास्कोटाले टेलिकमको बिलिंग सिस्टममा पनि समस्या देखिएको भन्दै अर्को सिस्टमको आवश्यकता भएको बताए ।

‘बिलिंग सिस्टम अर्ब ८० करोडमा किनेको तर अहिले राम्ररी काम नगर्ने छ । हामीसँग अल्टरनेट सोलुसन पनि छैन थप बिलिंग सिम्टम पनि चाहिएको छ,’ उनले भने ।

सांसदहरुले फोरजी प्रविधि आवश्यक भएपनि टेलिकमको व्यवसायीक योजना, नाफाको ग्यारेन्टी, र आगामी योजना स्पष्ट पारिनुपर्ने बताएका थिए ।

बैठकमा टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले फोरजी एलटिईको बोलपत्रदाताहरुसँग सम्झौता गर्ने प्रकृयामा रहेको र छिटै सम्झौता गरिने जानकारी दिएका थिए । उनले फोरजी सेवाको फाइदाहरुका बारेमा समेत बताएका थिए ।

easy care

प्रकाशित: ११ माघ २०७५, शुक्रबार