अबैधरूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने दुईजना पक्राउ

Technology Khabar ९ माघ २०७५, बुधबार

अबैधरूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने दुईजना पक्राउ
सांकेतिक

काठमाडौं ।

काठमाडौं । नेपाल प्रहरीले अबैधरूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने कार्यमा संलग्न दुई जना भारतीयलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका २६ सामाखुसी सरकारीधारा रोममार्ग वस्ने भारत जयपुर राजस्थानका ३५ वर्षीय सुनिल कुमार र ४१ वर्षीय राम करन जाटलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

सुनसरी धरान नगरपालिका-१९ जिमिचोक स्थायी वतन भएका काठमाडौं महानगरपालिका-२६ बस्ने ३३ वर्षीय संजिप राईले भाडामा लिएको सो घरमा अवैध अन्तर्राष्ट्रिय कल बाईपास संचालन गरिरहेको अवस्थामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले फेला पारी सो कार्य संचालन गर्ने उपकरणहरुसहित उनीहरुलाई पक्राउ गरेको नेपाल प्रहरीले जानकारी दिएको छ।

उनीहरूबाट १२८ पोर्टको भिओआइपी गेटवे १ थान, एन्टेना ३२ थान, ल्यापटप १ थान, राउटर १ थान, तार सहितको मिडिया कन्भर्टर १ थान, मल्टीप्लग १ थान, युपीएस १ थान, नखोलिएको रिचार्ज कार्ड १३ थान, एनटिसी सिमकार्ड १५ थान, एनसेल सिमकार्ड १० थान, स्मार्ट सिमकार्ड ११ थान, एडप्टर १ थान, अप्टिकल बक्स १ थान, प्रयोग नभएका सिमकार्ड ७ थान, मोबाईल ३ थान र भारतीय गणराज्यबाट जारी भएका राहदानीको फोटोकपी ३० पाना बरामद भएको छ ।

प्रहरीकाअनुसार अन्तर्राष्ट्रिय भिओआइपी कल चीनमार्फत ल्याउने, भारतबाट उपकरण ल्याउने, विभिन्न भारतीय नागरिकको कागजातपत्रको आधारमा सिमकार्ड लिने, अनलाइनमार्फत सम्पर्क गरी कोठा भाडामा लिने, उनीहरुमध्ये १ जनाले भारतमा रही प्रविधिको सहयोग गर्ने गरेको र ३ महिना नेपालमा बसी सो कार्य संचालन गर्ने योजनामा उनीहरू रहेको हाल खुल्न आएको छ ।

उनीहरूलाई दूरसंचार ऐन, २०५३ अन्तर्गत थप अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ९ माघ २०७५, बुधबार