Technology Khabar ४ माघ २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । सन् २०१९ को शुरुवात मै सबैभन्दा ठूलो डाटा ब्रिचको घट्ना बाहिर आएको छ । गएको वर्ष २०१८ मा विभिन्न डाटा चोरीको समाचारहरु बाहिर आएका थिए तर यो वर्षको शुरुवातमा नै नयाँ घट्ना सार्वजनिक भएको छ ।
रिसर्चर ट्रोय हन्टले यो डाटालीकको जानकारी बाहिर ल्याएका हुन्। सो लीक जानकारीअनुसार सन् २०१३ पछि सबैभन्दा ठूलो डाटा चोरी भएको अनुमान गरिएको छ । सन् २०१३ मा ३०० करोड मानिसहरुको याहु अकाउन्ट चोरी भएको थियो ।
हालै आएको रिपोर्टअनुसार नयाँ डाटा ब्रिचमा ७७ करोड ३० लाख मानिसहरुको ईमेल आईडी र २ करोड १० लाख पासवर्ड लीक भएका छन् । यसलाई ट्रोय हन्टले कलेक्सन वानको नाम दिएका छन् । जसमा कुल २ अर्ब ६९ करोड का ईमेल तथा पासवर्डको एक सेट भएको बताईएको छ । यसमा विभिन्न फरक फरक सोर्सद्धारा उपलब्ध जानकारीको आधारमा फरक फरक डाटा ब्रिचलाई जोडेर बनाईएको हो ।
उनकाअनुसार जम्मा ७७,२९,०४,९९१ वटा ईमेल आईडीहरु सार्वजनिक गरिएको छ ।
रिपोर्टअनुसार लोकप्रिय क्लाउड सर्भिस मेगामा (MEGA) सेभ गरिएका एक फाइल्सको ठूलो कलेक्सनमा पहुँच पाएका थिए जसको साइज ८७ जीबी थियो ।
यदि तपाईँ पनि आफ्नो ईमेल तथा पासवर्ड सुरक्षित छ वा त्यो पनि डाटा ब्रिचमा परेको छ भन्ने थाहा पाउन चाहनुहुन्छ भने त्यसको लागि तपाईँले यो वेबसाइटमा (Haveibeenpwned.com (HIBP) जानुपर्ने हुन्छ । यो वेबसाइटको होम पेजमा आफ्नो ईमेल आईडी राखेर चेक गर्न सक्नुहुनेछ ।
यदि तपाईँको ईमेल र पासवर्ड डाटा ब्रिचमा परेको छ भने त्यसमा सो बारेमा ‘Oh no-pwned!’ लेखेर जानकारी दिनेछ र कुन कुन स्थानमा तपाईँको ईमेल राखिएको छ भन्ने थाहा हुनेछ । यदि छैन भने सो बारेमा पनि ‘Good news – no pwnage found!’ लेखेर जानकारी दिनेछ ।
तपाईँको पनि ईमेल डाटा ब्रिचमा परेको छ भने तत्काल ईमेलको पासवर्ड बदल्नुहोस् । नत्र ह्याकरहरुले तपाईँको ईमेल आईडी नै हाईज्याक गर्न र त्यस बापत रकम माग्न सक्नेहुन्छ ।
हेडलाइन सम्पादित
प्रकाशित: ४ माघ २०७५, शुक्रबार