Technology Khabar ३ माघ २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । अमेरिकी कानून निर्माताहरुले चिनियाँ टेलिकम्यूनिकेसन्स कम्पनीहरु प्रतिबन्ध लगाउन सक्ने किसिमको नयाँ विधेयक प्रस्तावित गरेका छन् ।
सो विधेयकअनुसार कुनैपनि अमेरिकी चीप तथा अन्य उपकरणहरु ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेड, जेडटिई कर्प र अन्य चिनियाँ टेलिकम्यूनिकेसन्स कम्पनीहरुलाई बिक्रीका लागि रोक लगाउने छ । यस्तो रोक अमेरिकी प्रतिबन्धहरु तथा निर्यात नियन्त्रण कानूनहरुको उलंघन गर्ने कम्पनीहरुका लागि लागू हुनेछ ।
अमेरिकी सिनेटरहरुले प्रस्ताव गरेको ‘टेलिकम्यूनिकेसन्स डिनाइल अर्डर इनफोर्समेन्ट एक्ट’मा विशेष गरेर ह्वावे र जेडटिईको बारेमा स्पष्ट उल्लेख गरिएको रिपोर्टमा बताईएको छ ।
सिनेटर कटनले भने ‘ह्वावे चीनको इन्टेलिजेन्स संकलन गर्ने एजेन्सी हो र कानून निर्माताहरुले अमेरिकाको स्वार्थको रक्षा गर्ने कदम चाल्नुपर्दछ र कानून बनाउनुपर्दछ । यदि ह्वावे जस्ता चिनियाँ टेलिकम्यूनिकेसन्स कम्पनीहरुले अमेरिकी नियमनको उलंघन गर्दछन भने उनीहरुलाई प्रतिबन्ध लाग्नेछ ।’
प्रस्ताव गरिएको विधेयक पास हुन केहि समय लाग्नेछ ।
ह्वावेले टि मोबाइल यूएस इन्क र अन्य अमेरिकी व्यवसायीक कम्पनीहरुबाट व्यवसायीक गोप्य जानकारीहरु चोरेको बारेमा अनुसन्धान गरिरहेको रिपोर्ट वाल स्ट्रीट जर्नलले प्रकाशित गरेको थियो । जर्नलकाअनुसार ह्वावेले टि मोबाइल टेक्नोलोजीको ट्याप्पी भन्ने प्रविधि चारेको थियो, जसले मानव औँलाहरुको उपयोग गर्दछ र स्मार्टफोनहरुको परिक्षण गर्न उपयोग गरिएको थियो ।
यस्तो प्रस्तावित कानूनको बारेमा कडा प्रतिक्रिया चीनले दिएको छ । चीनको फरेन मिनिस्ट्रीकी प्रवक्ता हुवा चुनिङ्गले अमेरिकी कानूनलाई ‘हिस्टेरिया’ भनेकी छन्, जसले अमेरिका र चीनबिचको तीतो व्यापार युद्धलाई तिब्रता दिनेछ । उनले यो विधेयकलाई रोक्नको लागि अमेरिकी कानून निर्माताहरुसँग आग्रह गरेकी छन् ।
प्रकाशित: ३ माघ २०७५, बिहीबार