प्रधानमन्त्री ओलीले भने- ‘राइड सेयरिङ’ गर्ने मोटरसाइकललाई कुनै रोकावट हुँदैन्

Technology Khabar ३ माघ २०७५, बिहीबार

प्रधानमन्त्री ओलीले भने- ‘राइड सेयरिङ’ गर्ने मोटरसाइकललाई कुनै रोकावट हुँदैन्
फाइल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राइड सेयरिङ गरेर यात्रु बोक्ने मोटरसाइकललाई कुनै रोकावट नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले यात्रु बोक्ने मोटरसाइकललाई बिना छलफल अचानक कारबाही भएको बताएका हुन् ।

उनले बुधबार साँझ प्रसारित जनतासँग प्रधानमन्त्री कार्यक्रममा एक प्रश्नको जवाफ दिँदै भने, ‘मलाई लाग्छ कतै भुलचुकले त्यस प्रकारको काम भएको होला । मलाई पनि जानकारी थिएन् । मलाई जानकारी भएपछि मैले पनि अलिकति रुची राखेको छु । तत सम्बन्धमा त्यस प्रकारको कुनै रोकावटको काम हुँदैन् ।’

उनले अबदेखि ‘राइड सेयरिङ’ टुटल र पठाओजस्ता कम्पनीहरुलाई मोटरसाइकलमा अब यात्रु ओसार्न बन्देज नलगाइने बताए।

‘यो ‘इनोभेसन’ वा नयाँ खोजसँग जोडिएको कुरा त धेरै भन्न मिल्दैन किनभने यस्तो अभ्यास विभिन्न देशहरुमा छ । यहिँ थाइल्याण्ड, भियतनामलगायत अरू देशमा पनि छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता अभ्यासहरू कानुनको दायरामा छैनन् भने हुनुपर्छ। किनकी परिवर्तित सन्दर्भले कानुनको माग गर्छ, कानुनले परिवर्तित सन्दर्भको माग गर्ने होइन। यदि कोही कानुनी दायरामा आउन जरूरी छ भने कानुनी अभ्यासमा ल्याउन सकिन्छ।’

उनले यात्रु बोक्ने मोटरसाइकलमाथिको कारबाही अनौठो र अचानक भएको दोहोर्‍याए।

‘कम्पनी कसैले दर्ता गर्यो गरेन् । कम्पनी दर्ता गरेर चलाउन आह्वान पनि गरेको छैन। तर पछाडि बसेको को हो भनेर चालकलाई सोध्ने। अनि चलाउने को हो र मोटरबाइक कसको हो भनेर पछाडि बसेकाले सोध्ने अभ्यासतिर जानु वाञ्छनीय हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण कम्पनी दर्ता गर्ने कानुनको निर्माण प्रबन्ध गरेर व्यवस्थित गर्ने दिशामा जानुपर्छ। अचानक त्यसमा अप्रत्यासित ब्रेक लगाउँदा समस्या हुन सक्छ।’

नभएको प्रबन्धमा कानूनी उपचार खोज्ने भन्दा भएको कानूनी उपचार खोज्नु पर्ने उनले स्पष्ट पारे ।

यसअघि मंगलबार ट्राफिक प्रहरीले निजी सवारीमा दर्ता भएका मोटरसाइकलहरुले शुल्क लिएर यात्रु ओसारेको भन्दै चार मोटरसाइकललाई नियन्त्रणमा लिएको थियो।

ट्राफिक प्रहरीको कारबाहि पछि प्रविधिमा आधारीत भएर संचालन हुँदै आएको राइड सेयरिङ टुटल र पठाओको विषयमा पक्ष र विपक्षमा निकै बहस हुँदै आएको छ ।

सो कार्यक्रम हेर्नकाे लागि यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।

TK Viber

प्रकाशित: ३ माघ २०७५, बिहीबार

Loading...