इन्टरनेट सेवा प्रदायकले विद्युत पोलको बढेको भाडा नतिर्ने, उच्च स्तरिय समिति गठनको माग

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल(आइस्पान)ले नेपाल विद्युत प्राधिकरणले बढाएको पोल तथा ओपिजीडब्लू (OPGW) फाइबरको भाडादर स्वीकार नगर्ने निर्णय गरेको छ ।

संघले बुधवार पत्रकार सम्मेलन गरेर विद्युत प्राधिरकरणले ५०० प्रतिशतले पोलको भाडा बढाएको दाबी गर्दै इन्टरनेट सेवा प्रदायकहरुको सेवामा अवरोध सिर्जना गरेमा त्यसको सम्पूर्ण जिम्मेवारी विद्युत प्राधिकरणले नै लिनुपर्ने बताएका छन् ।

आइस्पानका अध्यक्ष भोजराज भट्टले विद्युत पोलको भाडा बढ्दा इन्टरनेटको पनि भाडाा बढ्ने भन्दै यसको लागि उच्च स्तरिय समिति गठन गरिनुपर्ने माग गरे ।

त्यस्तो समितिमा संचार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसंचार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपाल सम्मिलिन हुनुपर्ने माग गरिएको छ ।

आइस्पानले हाल कायम रहेको ग्राहकसँग लिने इन्टरनेट सेवाकोशुल्क पुरानो भाडादरलाई आधार मानी दिईरहेकोमा नयाँ भाडादरले सेवा प्रदायकहरुलाई ठूलो अन्यौल सिर्जना गरेको उल्लेख गरेको छ ।