फेसबुकले स्थानीय समाचारहरुमा ३०० मिलियन डलर लगानी गर्ने

काठमाडौं । फेसबुकले विश्वभरकास्थानिय समाचारहरुमा लगानी गर्ने योजना अगाडि बढाएको छ ।कम्पनीले आगामी ३ वर्षमा विश्वभर ३०० मिलियन अमेरिकी डलर खर्च गरेर विश्वभर स्थानीय समाचारसँग संयोजन गर्ने छ ।

फेसबुकले यसका लागि विश्वभरका न्यूजरुमहरुसँग सहकार्य गर्दै त्यस्ता समाचारहरुको प्रबद्र्धन गर्ने बताईएको छ ।

पछिल्लो दिनहरुमा फेक न्यूज, भ्रामक सूचना र गूणस्तरहिन समाचारको आधार बनिरहेको भन्दै विश्वभर आलोचना खेपिरहेको फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई सहि सूचना दिन नयाँ योजना ल्याएको उल्लेख गरेको छ ।

फेसबुकका ग्लोबल न्यूज पार्टनरसिप्सका भाइस प्रेसिडेन्ट क्यामबेल ब्राउनले भने, ‘फेसबुकमा हामी निरन्तर फेक न्यूज, भ्रामक सूचना र गूणस्तरहिन समाचारहरुका विरुद्धमा लडिरहेका छौं, तर हामीसँग स्थानीय समाचार संस्थाहरुसँग सहकार्य गर्ने अवसर र जिम्मेबारी पनि सँगसँगै छ ।’

आलोचना गर्नेहरुले भने फेसबुकलाई हेट स्पीच र राजनैतिकरुपमा गलत सूचना दिने प्लेटफर्मको रुपमा आरोप लगाउँदै आएका छन् ।

पहिलो चरणमा अमेरिकाका स्थानीय समाचार संस्थाहरुसँग फेसबुकले सहकार्य गर्नेछ र उनीहरुलाई कसरी अनुसन्धान गर्न र समाचार संकलन र समाचार उत्पादनमा प्रविधि प्रयोग गरेर सुधार गर्न सकिन्छ भन्ने सिकाउनेछ । यसको लागि ट्रेनी कम्यूनिटी जर्नलिस्टहरु भर्ना गरिनेछ र तीनिहरुलाई स्थानिय समाचार कक्षमा राखिनेछ । त्यसैगरि फेसबुकले स्थानीय समाचार संस्थाहरुलाई दिगोरुपमा व्यवसाय गर्ने मोडलको बारेमा जानकारी दिनेछ ।

कम्पनीले यसको लागि-

पुलित्जर सेन्टरमा ५ मिलियन डलर लगानी गर्नेछ जहाँ स्थानीय समुदायलाई प्रभावित पार्ने किसिमका समाचार रिपोर्टिगका लागि अनुदान दिनेछ ।

त्यस्तै अमेरिकाका लागि रिपोर्टमा २ मिलियन डलर खर्च गर्नेछ जहाँ करिब १ हजार पत्रकारहरुले स्थानिय समाचार कक्षहरुमा आगामी ५ वर्षसम्म कार्य गर्नेछन् ।

१ मिलियन डलर नाइट लेन्फेस्ट लोकल न्यूज ट्रान्सफरमेसन फण्डमा दिनेछ भने अर्को १ मिलियन डलर लोकल मिडिया एसोसिएसन र लोकल मिडिया कन्र्सोटिएमलाई प्रदान गर्नेछ ।

अमेरिकी जर्नालिजम प्रोजेक्टमा १ मिलियन अमेरिकी डलर दिने प्रतिबद्धता गरेको छ भने बेलायतका प्रकाशकहरुलाई समुदायिक पत्रकारहरुलाई तालिम दिएर २ वर्षसम्म भर्ना गर्नका लागि ६ मिलियन डलर दिनेछ ।

यसबाहेक २० मिलियन डलर भन्दा बढि फेसबुकको एक्सिलेरेटर प्रोग्राम बिस्तार अन्तरगत स्थानीय प्रकाशकहरुलाई उनीहरुको सदस्यता र सब्सक्रिप्सन मोडलका लागि दिनेछ ।

‘कस्तो प्रकारको समाचार मानिसहरु फेसबुकमा चाहन्छन र उद्योगका पार्टनरहरुसँग कुराकानी गरेपछि हामीले एउटै स्पष्ट उत्तर सुन्यौँः मानिसहरु अधिक स्थानीय समाचारहरु चाहन्छन र स्थानीय समाचार कक्षहरुले थप सहयोग खोजिरहेका छन्,’ क्यामबेलले ब्लगमा भनेका छन् ।