नेपाल टेलिकमले फोरजीलाई फाइभजीमा स्तरोन्नति गर्ने, शेयरधनीलाई ५५ प्रतिशत लाभांस

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले अहिलेको चौथो पुस्ता अर्थात फोरजी प्रविधिलाई स्तरोन्नती गर्ने लक्ष्य लिएको छ ।

टेलिकमको सोमबार सम्पन्न एघारौं वार्षिक साधारणसभामा बोल्दै कम्पनीका अध्यक्ष संचार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङले डाटा सेवाको माग बढिरहेको हुँदा फोरजीलाई स्तरोन्नती गरेर फाइभजीमा जाने लक्ष्य रहेको बताए ।

उनले डाटा सेवाको माग बढदै गइरहेको वास्तविकतालाई मध्यनजर गरी निकट भविष्यमा नै देशैभरी चौथौ पुस्ताको मोबाइल सेवा (4G) विस्तार गर्न आपूर्ति गर्ने क्रममा रहेको 4GLTE उपकरणलाई 5G मा स्तरोन्नति गर्ने लक्ष्य रहेको बताए । ग्राहकहरूको घरसम्म अप्टिकल फाइबर मार्फत द्रूतगतिको ब्रोडब्याण्ड इन्टरनेट तथा भ्वाइस सेवा सञ्चालन गर्न सकिने र नेपालमा उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको इन्टरनेट सेवा फाइबर टू दि होम Fiber to The Home(FTTH) को विस्तारलाई समीक्षा वर्षमा पनि निरन्तरता दिइने जानकारी दिए ।

कम्पनीबाट सञ्चालित आयोजनाहरू तोकिएको समयमा सम्पन्न गर्ने उद्देश्यले आयोजना कार्यान्वयनको अनुगमन प्रणालीलाई प्रभावकारी बनाई तोकिएको अवधिभित्र आयोजना सम्पन्न गर्ने सम्बद्ध पक्षहरूलाई पुरष्कृत गर्ने र नियतवश ढिलाइ गर्नेलाई दण्ड जरिबाना गर्ने व्यवस्था कडाइका साथ लागू गर्ने व्यवस्था मिलाइने गुरुङले बताए ।

यसैबिच सो साधारणसभाले आर्थिक वर्ष २०७४।७५ को मुनाफा रकम मध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

२०७५ असार सम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको सभामा जानकारी दिईयो । साथै तीव्र प्रतिस्पर्धाको कारणले भ्वाइस तथा डाटा सेवाको महशुलमा ब्यापक कटौतीका बावजुद सञ्चालन आय रु.३९.०२ अर्व कायम गरी कुल आयमा १.५२ प्रतिशतल वृद्धि गर्न कम्पनी सफल भएको छ ।

त्यस्तै समीक्षा वर्षमा नाफा १३.७३ प्रतिशतले वृद्धि गरी रु.१७.४८ अर्ब पु¥याउन कम्पनी सफल भएको समेत जानकारी गराईएको थियो ।