अपटेड समाचार

दूरसंचार प्राधिकरणमा कार्यबाहक अध्यक्ष राख्न सरकारले गर्यो नियमावली संसोधन

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झाले दिएको राजीनामा सरकारले स्विकृत गरेसँगै सरकारले प्राधिकरणमा कार्यबाहक अध्यक्ष राख्ने तयारी गरेको छ ।

यसअघि दूरसंचार प्राधिकरणमा दोस्रो पटक नियुक्ती पाएपछि निकै विवादमा आएका झाले दिएको राजीनामा मन्त्रीपरिषदको १९ गतेको बैठकले स्वीकृत गरेको छ । उनको राजीनामा स्वीकृत भएसँगै मन्त्रीपरिषदले प्राधिकरणमा अधिकारसहितको कार्यबाहक अध्यक्ष राख्ने भएको हो ।

यसको लागि सरकारले दूरसंचार नियमावलीमा संसोधन गरिसकेको छ भने सो को बारे संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा बिहिबार जानकारी दिए ।

‘मन्त्रीपरिषदले दूरसंचार नियमावली आठौं संसाेधन २०७५ गरेको छ र सो संसोधित नियमावली राजपत्रमा प्रकाशित गर्न स्वीकृती दिएको छ,’ संचार तथा सूचना मन्त्री बाँस्कोटाले भने ।

हाल प्राधिकरणकै वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले निमित्त अध्यक्षको भरमा सो पदको जिम्मेवारी सम्हालिरहेका छन् । तर उनलाई प्राधिकरणको बोर्ड बैठक बोलाउने र दिर्घकालिन निर्णय गर्न सक्ने अधिकार दिईएको छैन् ।

प्राधिकरणको अध्यक्ष सरकारले पुन खुला प्रतिस्पर्धा गराएर नियुक्त गर्नुपर्ने हुन्छ । त्यसको लागि अझै केहि समय लाग्न सक्ने देखिन्छ ।

मन्त्री बाँस्कोटाले संसोधनमा के छ भन्ने जानकारी नदिएपनि त्यसमा कार्यबाहक अध्यक्षको बारेमा संसोधन रहेको मन्त्रालय स्रोतले बतायो । त्यसैले तत्कालका लागी सरकारले दूरसंचार नियमावलीमा नै संसोधन गरेर कार्यवाहक अध्यक्षको अधिकारसहित जिम्मेवारी दिन लागेको अनुमान गरिएको छ ।

‘संसोधित नियमावली आएपछि संभवत हालका निमित्तको जिम्मेवारी सम्हालिरहेका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई नै कार्यबाहक अधिकार दिने तयारी छ,’ मन्त्रालय स्रोतले भन्यो । त्यसको लागि राजपत्रमा संसोधित नियमावली प्रकाशित हुने बित्तिकै मन्त्रालयबाट पत्र दिईने स्रोतको भनाई छ ।