साओमीको रेडमी ब्राण्डमा पहिलो स्मार्टफोन नोट सेभेन सार्वजनिक, ४८ मेगापिक्सेल क्यामरा

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर साओमीले आफ्नो नयाँ सब-ब्राण्ड रेडमी(Redmi) को पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले चीनमा आयोजित एक कार्यक्रममा हालै सब ब्राण्डको रुपमा घोषणा गरेको रेडमी अन्तरगत रेडमी नोट ७ (Redmi Note 7) स्मार्टफोन लन्च गरेको हो ।

कम्पनीका संस्थापक लीउ जुनले रेडमी अन्तरगतको पहिलो स्मार्टफोन लन्च गरे । यो स्मार्टफोनमा क्वालकमको स्न्यापड्रागन६६० प्रोसेसरको नयाँ अप्टिमाइज्ड गरिएको भर्सन प्रयोग गरिएको छ ।

कम्पनीका संस्थापक तथा सीईओ लीउकाअनुसार यसले स्ट्याण्डर्ड भर्सनको स्न्यापड्रागन ६६० भन्दा उच्चस्तरको कार्यदक्षता देखाउँछ ।

रेडमी नोट सेभेनमा ६.३ इन्चको फूलएचडी प्लस वाटरड्रप डिस्प्ले राखिएको छ, जून रेडमी सिरिजको पहिलो वाटरड्रप डिस्प्ले फोन हो । यो स्मार्टफोनमा ४००० एमएएचको ब्याट्री प्याक राखिएको छ जसले क्विक चार्ज ४ (QC 4) स्ट्याण्डर्ड सपोर्ट गर्दछ ।

फोटोग्राफीका लागि यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामरा राखिएको छ भने सेल्फीका लागि १३ मेगापिक्सेलको क्यामरा प्रयोग गरिएको छ ।

रेडमी नोट सेभेन तीन वटा भेरिएन्टमा उपलब्ध हुनेछ, जसमा ३/३२ जीबी, ४/६४ जीबी र ६/६४ जीबी छन्। यसको मेमोरी बढाउन माइक्रो एसडी कार्ड पनि प्रयोग गर्न सकिन्छ ।

यो स्मार्टफोन ब्लू, ट्वीलाइट गोल्ड र ब्ल्याक कलर अप्सनमा उपलब्ध हुनेछ जसको शुरुवाती मूल्य ९९९ चीनियाँ युआन अर्थातदेखि शुरु हुन्छ ।

हाल चीनमा मात्र उपलब्ध रहेको यो स्मार्टफोन संभवत केहि दिनभित्रै अन्य बजारहरुमा पनि उपलब्ध हुनसक्नेछ ।

नेपाली बजारमा भने साओमीले भर्खरै रेडमी नोट ६ प्रो (Redmi Note 6 Pro)सार्वजनिक गरेको हुँदा नयाँ स्मार्टफोन केहि महिनामा आउन सक्ने अपेक्षा गर्न सकिन्छ ।