तस्वीर: रातोपाटी डटकमबाट लिईएको ।

जब टेलिफोन टावर माग गर्दै उपल्लो डोल्पाका जनप्रतिनिधि सिंहदरबार पुगे

काठमाडौं। दुर्गम हिमाली जिल्ला डोल्पाका जनप्रतिनिधि टेलिफोन टावर स्थापना गर्ने माग लिएर सिंहदरबार आइपुगेका छन् ।

उपल्लो डोल्पामा बस्ती रहेदेखि गाँउघरमै टेलिफोनको सेवा सुविधा उपभोग गर्न नपाएका जनताको माग लिएर जनप्रतिनिधिहरु काठमाडौं आएका हुन्।

सदरमुकाम दुनैदेखि उत्तरी क्षेत्रमा पर्ने डोल्पो बुद्ध, शे–फोक्सुण्डो, छार्काताङसोङ गाउँपालिका जनप्रतिनिधि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान राज्यमन्त्री धनबहादुर बुढालाईसँगै लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेको शे-फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी टुण्डुप गुरुङले बताए ।

टेलिफोन असुविधा भोग्दै आएका डोल्पाका जनताका लागि टावर माग्न गाउँपालिकाका अध्यक्ष, वडा सदस्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भेटे ।

मन्त्रालयमा मन्त्री बाँस्कोटलाई अध्यक्ष गुरुङले आफ्नो क्षेत्रका जनताका समस्या सुनाउँदै भने, ‘सदरमुकाम दुनैबाट उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पातिर लाग्यो भने बीच बाटोमा कतै पनि टेलिफोनको सुविधा छैन, हिँड्दाहिँड्दै बाटोमै बिरामी पर्यो भने सम्पर्क गर्न सकिँदैन ।’

‘घरमा बिरामी परेका मान्छेलाई लाखौँ पैसा तिरेर हेलिकप्टरमार्फत उद्धार गरेर औषधि उपचारका लागि जिल्ला बाहिरका ठूला अस्पतालमा लैजान खोज्दा पनि सम्पर्क गर्न सकिँदैन, टेलिफोन टावर नहुँदा उपचार गर्छु भन्दा पनि उपचार नपाएर थुप्रै नागरिकको ज्यान गइरहेको छ,’ उनले भने ।

अध्यक्ष गुरुङकाअनुसार टेलिफोन गर्नकै लागि भनेर उपल्लो डोल्पाका कतिपय गाउँका स्थानीयवासी चार–पाँच दिन पैदल हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । यस्ता समस्याबाट छुटकारा पाइने आशामा आफूसहित सिंहदरबार आएको जानकारी दिए।

मोबाइल टावर माग गर्न उपल्लो डोल्पाबाट उनीसहित जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढालगायत १६ जनाको टोली काठमाडौं आइपुगेको हो । उपल्लो डोल्पामा टावरको समस्याले त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत ठूलो सास्ती हुने गरेको छ ।

‘पदयात्रा, अवलोकन, भ्रमणका लागि सदरमुकाम दुनैबाट उपल्लो डोल्पा छिरेपछि पुनःसदरमुकाम नर्फकुञ्जेल घरपरिवारसँग सम्पर्क हुँदैन,’ शे–फोक्सुण्डो–४ का वडाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले भने ।

उपल्लो डोल्पा र तल्लो डोल्पाका छ वटा स्थानीय तहका १२ वटा स्थानमा मोबाइल टावर राखिदिन आफूहरुले माग गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयान राज्यमन्त्री धनबहादुर बुढाले बताए।

उनका अनुसार डोल्पो बुद्ध गाउँपालिका वडा नं ६ सिमेनको पञ्जाक लेक, सोही गाउँपालिका–२ कलाङ लेक, शे–फोक्सुण्डो गाउँपालिका वडा नं १ साल्दाङका ज्याङग्याल लेक, सोही गाउँपालिका वडा नं ५ तालाका लेक, वडा नं ७ मा पर्ने किनुक लेक र सोही गाउँपालिकामै पर्ने पुग्मो लेकमा टेलिफोन टावर निर्माणको माग गरिएको छ ।

त्यसैगरी छार्काताङसोङ गाउँपालिका– १ मा पर्ने छार्काको तारच्याक लेक, सोही गाउँपालिकामा पर्ने दाड गाउँमा पर्ने पडका लेक, डोल्पो बुद्ध गाउँपालिमा ४, ५ र ६ मा पर्ने पाङरो लेक, काइके गाउँपालिका–१ मा पर्ने तचनपल्टी लेकमा र ठूलीभेरी नगरपालिकाको रहमा टेलिफोन टावरको माग गरिएको छ भने मुड्केचुला गाउँपालिका वडा नं ४ अदलेकमा राखिएको टावरको क्षमता अभिवृद्धिका लागि सञ्चारमन्त्रीसँग माग गरिएको छ ।

उपल्लो डोल्पाका नागरिक सञ्चार असुविधाको सवालमा पीडित हुँदै आएकाले आगामी ज्येष्ठ महीनासम्ममा टावर निर्माण गरी सञ्चालनमा ल्याउने सङ्घीय सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रतिबद्धता व्यक्त गरेको राज्यमन्त्री बुढाले जानकारी दिए ।

टेलिफोन टावर माग गर्न उपल्लो डोल्पाबाट काठमाडौं आईपुगेका जनप्रतिनिधिसँग कुरा गर्दै मन्त्री बाँस्कोटाले डोल्पाका सबै स्थानीय तहमा मन्त्रालयले निःशुल्क मोबाइल एप्स बनाइ दिने, उपल्लो डोल्पाका गाउँपालिकामा ल्याप्टप, फोटोकपी मेशिनलगायतका उपकरण प्रदान गर्ने आश्वासन दिएका थिए।

त्यस्तै दुर्गम जिल्ला डोल्पाका विद्यार्थीलाई विज्ञान प्रविधिमा अग्रसर गराउन ६ वटा माध्यामिक विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।