यस्तो डिजाइनमा आउनेछ एप्पलको नयाँ आइफोन, तीनवटा रियर क्यामरा

काठमाडौं । एप्पलले नयाँ आइफोनहरु सार्वजनिक गरेको केबल ३ महिना मात्र भएको छ तर नयाँ आइफोनको चर्चा शुरु भईसकेको छ ।

एप्पलको नयाँ आइफोन कस्तो डिजाइन र स्पेक सहित आउँछ भन्ने चर्चा विभिन्न कोणहरुबाट आईरहेको छ । यसैबेला नयाँ आइफोनको रेण्डर देखिएको छ ।

विभिन्न जानकारीहरु लीक गर्ने ट्वीटर एकाउन्ट अनलीक्सले नयाँ आइफोनको रेण्डर देखाएको छ ।
नयाँ आइफोनको बारेमा कुरा गर्नु अलि हतार भएपनि रेण्डरअनुसार आइफोनको डिजाइन नै पुरै परिवर्तन हुनेछ ।

तस्विरअनुसार नयाँ आइफोनमा तीनवटा क्यामरा हुनसक्नेछ भने यसको ब्याक प्यानल ग्लासद्धारा निर्मित हुनेछ । अझ रोचक विषय भनेको नयाँ आइफोनमा दुईवटा नभई तीनवटा क्यामरा हुनसक्नेछ । यसमध्ये दुईवटा ठाडो किसिमले राखिएको छ भने तेस्रो क्यामरा एलईडी फ्ल्याशको ठिक तल राखिएको छ ।

यी तीन क्यामरा र एलईडी फ्ल्याशलाई चारभुजाकारमा राखिएको छ, जून ह्वावे मेट २० प्रोको स्टायल जस्तै हो । यसअघि आएका केहि हल्लाहरुकाअनुसार तेस्रो क्यामरामा थ्रीडी टिओएफ सेन्सर हुनेछ ।

जानकारीअनुसार नयाँ आइफोन अझैपनि इन्जिनियरिंग भ्यालिडेसन टेस्टको चरणमा रहेको छ, त्यसैले यो डिजाइन धेरै पटक परिवर्तन हुनसक्नेछ ।

अर्को रिपोर्टअनुसार सन् २०१९ को आइफोन लाइनअपमा पनि तीनवटै आइफोनहरु आउनेछन्, यसअघि आएका आइफोन एक्सएस, आइफोन एक्सएस म्याक्स र आइफोन एक्सआर जस्तै । तर यी मोडलहरुमा क्यामरा भने फरक हुनेछ ।