जिबिजि बिजफेस्ट सम्पन्न, स्टार्टअप संस्थापक र युवाहरु बिच अन्तरक्रिया

Technology Khabar २४ पुष २०७५, मंगलवार

जिबिजि बिजफेस्ट सम्पन्न, स्टार्टअप संस्थापक र युवाहरु बिच अन्तरक्रिया

काठमाडौं ।

काठमाडौं । काठमाडौंका प्रविधी व्यबसायीहरुको समुह गुगल बिजनेस ग्रुपले आयोजना गरेको जिबिजि बिजफेस्टमा १०० भन्दा बढी नवउद्यमहरुले आफुले उत्पादन गरेका सामान र प्रदान गर्ने सेवाहरुको प्रदर्शनी गरेका छन् ।

पौष २१ गते शनिबार ग्यालेक्सी पब्लिक स्कुलको परिसरमा आयोजित सो बिजफेस्टमा पाँच हजार भन्दा बढी स्टार्टअपहरुमा रुची भएका युवाहरुले अवलोकन गर्नुका साथै स्टार्टअप संस्थापकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए ।

सो मेलाले नेपालमा स्थापना भएका सबै प्रकारका स्टार्टअपहरुलाई एउटै ठाउँमा ल्याउने जमर्को गरेको थियो । मोबाईल गेम बनाउने कम्पनीहरु, एनिमेसन, डिजिटल मार्केटिङ, अन्लाईन सपिङ, अन्लाईन शिक्षा प्रदान गर्ने, अन्लाईन स्वास्थय सेवा प्रदान गर्ने, नेपाली ब्रान्डका लुगा उत्पादन गर्ने देखि आधुनिक कृषिमा संलग्न कम्पनीहरु उक्त मेलामा सहभागि थिए । मेलाले विद्यार्थी र भविष्यमा आफ्नै स्टार्टअप गर्ने सोच बनाएका युवाहरुलाई स्टार्टअप सुरु गरिसकेकाहरुसँग अन्तरकृया गर्ने र उनिहरुबाट सिक्ने अवसर प्रदान गरेको थियो ।

‘समाजमा विद्यमान विभिन्न चुनौतीमै अवसर देखेर तिनै समस्या समाधान गर्न स्थापना भएका स्टार्टअपहरु यत्रतत्र देख्न सक्छौँ । त्यसैले गुगल बिजनेस ग्रुपले नेपाली स्टार्टअपका यिनै समस्याहरुको मध्यनजर गरी सबैलाई एकै ठाउँमा ल्याउने, निःशुल्क प्रदर्शनी गर्ने र उनीहरुका संभावित ग्राहकसँग जोडिने अवसर प्रदान गर्ने हेतुले यो प्रदर्शनी आयोजना गरेको हो,’ गुगल बिजनेस ग्रुप काठमाडौंका प्रबन्धक अमित अग्रवालले भने ।

कार्यक्रममा विशेषज्ञहरूले गुगलका विभिन्न नयाँ नयाँ प्रविधी सम्बन्धी प्रस्तुति पनि दिएका थिए जुन स्टार्टअपहरुको व्यापार प्रवर्धन र विस्तार गर्न एकदमै महत्वपूर्ण हुने आयोजक कम्पनीको दाबी छ ।

प्रदर्शनीमा ‘गुगल माई बिजनेस’ लक्षित एउटा विशेष स्टल पनि रहेको थियो । सहभागि स्टार्टअपहरूले उक्त स्टलमार्फत आफूलाई गुगलको व्यापार निर्देशिका (गुगल बिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गरेका थिए । निर्देशिकामा सूचीकृत भएपश्चात ग्राहकहरूले व्यवसाय र त्यसका विवरणहरू पत्ता लगाउन सक्नेछन् । यसका साथै उक्त व्यवसायहरू गुगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखापर्ने सम्भावना बढ्ने आयोजकको दाबी छ ।

गुगल बिजनेस ग्रुपले नेपालमा यस प्रकारको कार्यक्रम अब वार्षिक रुपमा आयोजना गर्ने जनाएको छ ।

easy care

प्रकाशित: २४ पुष २०७५, मंगलवार