शाओमीको ‘रेडमी’ नयाँ सब-ब्राण्ड बन्यो, ४८ मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन ल्याउँदै

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले यसअघि रेडमी सिरिजमा बजेट फोन सार्वजनिक गर्दै आएकोमा अब भने छुट्टै ब्राण्डको रुपमा घोषणा गरेको छ ।

कम्पनीले रेडमीलाई नयाँ सब ब्राण्डको रुपमा लन्च गरेको हो । रेडमी शाओमीको बजेट स्मार्टफोन सिरिज थियो जसमा सस्ता फोनहरु लन्च गर्ने गरिन्थ्यो । अब भने कम्पनीले यसलाई मुख्य ब्राण्डबाट अलग गरेर रेडमी सब ब्राण्डमा राखेको हो ।

कम्पनीले यो बारेमा चीनको माइक्रोब्लग वेबोमा घोषणा गरेको छ । कम्पनीले रेडमीलाई छुट्टै ब्राण्डको रुपमा ल्याउनुका साथै नयाँ डिभाइस पनि सार्वजनिक गर्ने तयारी गरेको छ । यहि जनवरी १० तारिखमा चीनको बेजिंगमा रेडमी ब्राण्डमा नयाँ डिभाइस लन्च गर्नेछ।

नयाँ डिभाइसको बारेमा धेरै जानकारी बाहिर नआएपनि कम्पनीले पहिलो स्मार्टफोनको रुपमा रेडमी सेभेन वा रेडमी प्रो २ ल्याउन सक्ने अनुमान छ । जसमा ४८ मेगापिक्सेलको रियर क्यामरा हुनेछ । कम्पनीले हालै सार्वजनिक गरेको सब ब्राण्ड रेडमीको फोटोको स्याडोमा लेखिएको ४८०० ले ४८ मेगापिक्सेलको क्यामरा हुनसक्ने अनुमान गरिएको छ । अर्को तर्फ यो आउन लागेको स्मार्टफोनको ब्याट्री पावर हुनसक्ने समेत अनुमान छ ।

कम्पनीका सिईओ लीउ जुनले भने,’यो विभाजन आवश्यक थियो, एमआई सिरिज र रेडमी सिरिजले दुई भिन्न बजारहरुमा पकड जमाउँछ । एउटाले सस्तो मूल्यको बजेट स्मार्टफोनहरु र अर्कोले हाई एण्डका स्मार्टफोनहरु ल्याउनेछ ।’