अपटेड समाचार
तस्विरः गूगलबाट

टेक कम्पनी एप्पलले एकै दिन शेयर बजारमा ७५ अर्ब डलर गूमायो

काठमाडौं । टेक कम्पनी एप्पलले एकै दिनमा शेयर बजारबाट ठूलो आम्दानी गुमाएको छ । विश्व बजारमा पहिलो ट्रिलियन कम्पनी बनेको एप्पलको शेयर बिहिवार ७५ अर्ब डलर नोक्सानीमा परेको छ ।

आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने जानकारी दिएलगत्तै कम्पनीको शेयरको कुल मूल्यमा ७५ अर्ब डलरको नोक्सानी भएको छ। वाल स्ट्रिटमा बिहीवार एप्पलको शेयर मूल्य १० प्रतिशतले खस्किएको हो ।

सन् २०१८ का अन्तिम तीन महिनामा एप्पलको आम्दानी ८४ अर्ब डलर मात्र हुने बताएको थियो जबकि यसअघि सो आम्दानी ८९ अर्ब डलर हुने ठानिएको थियो।

एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीको आम्दानी घट्नुका पछाडि चीनमा उसको बिक्रीमा आएको मन्दीलाई दोष लगाएका छन्।

विगत १६ वर्षमा यो पहिलो पटक हो जब एप्पलले आफ्नो आम्दानी कम हुने प्रक्षेपण गरेको हो । जसले गर्दा कम्पनीको शेयर मूल्य १० प्रतिशतले घट्यो ।

अन्य कम्पनीहरू जस्तै मोबाइल कम्पनी एप्पलका निम्ति पनि क्रिसमस जस्तो चाडको मौसम फलदायी मानिन्छ। तर यो वर्ष त्यस्तो भएन् ।

एप्पलको आइफोनको बिक्रीमा गिरावट आउनुलाई कम्पनीको आम्दानी घट्नुको प्रमुख कारण ठानिएको छ।

पहिले पहिले आइफोनको नयाँ संस्करण बजारमा आउने वित्तिकै मानिसहरू त्यसलाई किन्न निकै उत्सुक हुन्थे र कम्पनीको शोरुम बाहिर लामो लाइन लाग्ने गर्थ्यो।

बीबीसीका प्रविधि सम्वाददाता डेव ली भन्छन्, ‘अचेल मोबाइल फोनका राम्रा गुणस्तरका कारण हामी नयाँ मोडल किनिहाल्न उत्सुक हुँदैनौँ। अहिले त आइफोनका नयाँ संस्करणको मूल्यै नै एक हजार डलर पुगिसक्यो।’

एप्पलको मुख्य आम्दानी हुने डिभाइस चीनमा बिक्री कम हुनुपनि आम्दानी घट्नुको अर्को कारण हो । कम्पनीले चीनमा आएको मन्दीको अनुमान गर्न सकेन जसले गर्दा समस्यामा पर्यो । त्यसैगरि पछिल्लो दिनमा अमेरिका र चीनबिच भएको व्यापार युद्धले पनि एप्पललाई समस्या धकेलेको विश्लेषकहरुले अनुमान गरेका छन् ।

गएको अगस्टमा मात्रै कम्पनीले अन्य टेक कम्पनीहरु अमेजन, गूगल, माइक्रोसफ्टलाई उछिन्दै पहिलो ट्रिलियन कम्पनी बनेको थियो ।