Technology Khabar १९ पुष २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा बिस्तारको जिम्मा जेडटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनललाई दिएको छ । टेलिकमले संचार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार टेण्डरमा आएका कम्पनीहरुलाई नै जिम्मा दिएको हो ।
यसअघि मन्त्रालयले पनि फोरजी सेवा बिस्तारको कार्य छिटो सक्न र टेण्डरको काम अगाडि बढाउन टेण्डरमा परेका भेण्डरहरुसँग छलफल गरेको थियो । हाल टेलिकमले फोरजी सेवा बिस्तारको लागि कोर र र्यानतर्फ टेण्डर पारेका जेडटिई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनल (सिसिएसआई) कम्पनीलाई जिम्मा दिएको हो ।
मन्त्रालयले फोरजी सेवा बिस्तारको लागि काम अगाडि बढाउन निर्देशन दिएको र त्यही अनुसार टेलिकमले काम अगाडी बढाउने मन्त्रालय स्रोतले जानकारी दियो । त्यसैगरी यहि पुस १७ गते दुबै कम्पनीहरुलाई पत्र दिईसकेको टेलिकम स्रोतले पुष्टी गरेको छ।
‘मन्त्रालयको निर्देशनअनुसार नै टेलिकमले दुबै कम्पनीहरुलाई लेटर अफ इन्टेन्ट दिएको छ, अब त्यसपछि उनीहरुसँग कन्ट्रयाक्ट साइन हुन भने केहि समय लाग्न सक्छ,’ टेलिकम स्रोतले भन्यो ।
यसअघि संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले फोरजी बिस्तारको लागि भेण्डरहरुसँग समयमा नै सक्न र तोकिएको रकममा नै बिस्तार गर्नुपर्ने बताएका थिए । उनले टेण्डरबाट आएका कम्पनीहरुलाई नै दिने तर सो कार्य कम्पनीहरुले १२ महिनाभित्रै सक्नुपर्ने बताउँदै आएका छन् ।
मन्त्रिपरिषदको निर्णयहरु बारेमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा फोरजी सेवा बिस्तारका लागि टेलिकमलाई निर्देशन दिएको संचार तथा सूचना मन्त्री बाँस्कोटाले जानकारी दिए । ‘फोरजी परियोजना बिस्तार त्यसैपनि ढिलो भएईसकेको र टेण्डर प्राप्त कम्पनीहरुलाई ठोस निर्देशन दिएका छौं, यो परियोजना १२ महिनाभित्र सक्नुपर्छ,’ मन्त्री बास्कोटाले भने ।
त्यसैगरि उनले फाइभजी प्रविधि अपग्रेड गर्नको लागि पनि कम्पनीहरुलाई निर्देशन दिएको जानकारी दिए । ‘फाइभजी प्रविधि पाइलट प्रोजेक्टको रुपमा भएपनि बिस्तार गर्नुपर्छ, त्यो अपग्रेड फ्रि अफ कष्टमा हुनुपर्दछ भनेर निर्देशन दिएका छौं,’ उनले बताए ।
यसअघि फोरजी सेवा बिस्तारमा कोर नेटवर्क बिस्तार तर्फ चिनियाँ कम्पनीहरु हुवावे, जेटीई र सिंगापुरको कम्पनी मिभिनिरले टेण्डर दर्ता गराएका थिए। रेडियो एक्सेस नेटवर्क (र्यान) विस्तारका लागि भने जेडटीई र सीसीएसआईले मात्रै टेण्डर हालेका थिए। रेडियो एक्सेस नेटवर्क र्यान विस्तारका लागि टेलिकमले नेटवर्क एक र नेटवर्क दुई गरी तत्कालिन ५ विकास क्षेत्रलाई दुई भागमा बाँडेर टेन्डर आहवान गरेको थियो। परियोजनाको कुल लागत कोरतर्फ करिब ३ अर्ब र र्यानतर्फ करिब १९ अर्ब ९ करोड रहेको छ ।
प्रकाशित: १९ पुष २०७५, बिहीबार