बुधबार बेलुकी नेपालभर इन्टरनेट किन रोकियो ? यस्तो छ कारण

Technology Khabar १२ पुष २०७५, बिहीबार

बुधबार बेलुकी नेपालभर इन्टरनेट किन रोकियो ? यस्तो छ कारण

काठमाडौं ।

काठमाडौं । नेपालको अधिकांश स्थानमा बुधवार बेलुका करिब ७ बजेपछि इन्टरेटमा समस्या देखियो, जसका कारण अधिकांश प्रयोगकर्ता समस्यामा परे । बुधवार बेलुका अचानक नेपालभर इन्टरनेटमा समस्या आउनुको कारणमा भारतमा आएको प्राविधिक समस्या कारक रहेको छ ।

सो समस्या भारतबाट नेपालमा ल्याईने इन्टरनेटको अप्टिकल फाइबरमा प्राविधिक समस्याका कारण भएको बताईएको छ । भारतबाट नेपालमा इन्टरनेट ल्याउने चेन्नईमा रहेको हबमा समस्या देखिँदा नेपालभर इन्टरनेट सेवा रोकिएको थियो ।

नेपालभित्र आउने विभिन्न रुटहरुमध्ये एउटा चेन्नईको हब हुँदै आउँछ र त्यहाँ बेलुका अप्टिकल फाइबर परिवर्तन गर्दा केहि समय रोकिएको एक आइएसपीका प्राविधिकले जानकारी दिए ।
‘नेपालमा ब्याण्डविथ दिने भारतीय कम्पनीहरुले चेन्नईमा नयाँ फाइबर राख्दा केहि समय समस्या आएको हो,’ उनले भने ।

त्यसैगरि नेपाल टेलिकमसहित मोबाइल सेवा प्रदायक कम्पनीहरुले दिँदै आएको इन्टरनेट सेवामा पनि समस्या आएको थियो ।

टेलिकमका सह प्रवक्ता सोभन अधिकारीले केहि समय टेलिकमको इन्टरनेट स्लो भएको र विभिन्न रुटबाट टेलिकमले इन्टरनेट ब्याण्डविथ भित्र्याउने गरेको हुँदा सो रुटमा केहि समस्या हुँदा टेलिकमको इन्टरनेट स्लो भएको बताए । ‘हाम्रो इन्टरनेट सेवा विभिन्न ४ वटा रुट हुँदै नेपाल भित्रने हुँदा एउटा रुटमा केहि गडबढी नै भएपनि धेरै समस्या भएन्,’ उनले भने ।

केहि इन्टरनेट सेवा प्रदायक(आइएसपी)हरुको सेवामा बुधबार राती अबेरसम्म समस्या आएको देखिएपनि अधिकांशको सेवा करिब आधा घण्टाभित्र पुन सुचारु भएको थियो ।

नेपालमा आउने इन्टरनेट ब्याण्डविथ भारत र चीनबाट ४ वटा रुट हुँदै आउने गर्दछ । जसमा भारबाट काकरभिट्टा, बिरगंज र भैरहवाका साथै चीनबाट रसुवाहुँदै इन्टरनेट सेवा आउने गर्दछ ।

Global Bank
easy care

प्रकाशित: १२ पुष २०७५, बिहीबार

ताजा समाचार