Technology Khabar ११ पुष २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगरम्बर झाले नेपालमा तीन वटा टेलिकम सेवा प्रदायक भए पुग्ने बताएका छन् ।
उनले अहिले सेवा प्रदायकहरुको संख्या धेरै भएपनि ती कम्पनीहरुको सेवाग्राही भने धेरै नभएको बताएका हुन् । राजधानीमा बुधवार आयोजित रिपोर्टस क्लबको कार्यक्रममा अहिलेसम्म ६ वटा सेवाप्रदायक रहेको सुनाउँदै झाले तीमध्ये नेपाल टेलिकम र एनसेलबाहेक अरुको धेरै सिम वा उपभोक्ता नभएको स्पष्ट पारे ।
उनले भने, ‘म यो सेक्टरलाई सफा गर्न तल्लिन छु । क्लिन द गार्वेज गर्छु । लाईसेन्स होल्ड गर्ने र विक्रि गर्ने काम अब हुँदैन् । यिनीहरुलाई सफाया गर्छु । र नयाँ सेवाप्रदायक पनि ल्याउनेमा लागिपरेको छु। कहीँकतै यो हुन नदिनको लागि माफियाहरुको चलखेल त होईन भन्ने मलाई शंका लाग्दैछ।’
नेपालमा तीन वटा सेवाप्रादायकभन्दा बढिको बजार नरहेको पनि उनले सुनाए । ‘हामीलाई तीन वटा सेवाप्रदायक भए पुग्छ । अहिले दुई वटा त देखियो । अरु पनि छन् । तर, तिनीहरुको प्रभावकारिता देखिएन । आज युटिएलमा ठूलो समस्या छ । एन.एस.टि.एलपनि छ, यो सुदुरपश्चिमतिर छ । तर, एउटापनि टावर सञ्चालनमा छैन । सिजीको पनि एउटापनि टावर सञ्चालनमा छैन । अब यो लाईसेन्स होल्ड गरेर राख्नेहरुबाट काम हुँदैन,’ उनले भने ।
झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफु पदमा नबस्ने बताए ।
‘मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । भोलि त्यस्तै अवस्था आयो भने, म स्वेच्छाले यो सरकारलाई सजिलो पार्नलाई, किनभने मेरो कारणले यदि सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई समेत बद्नामी हुन्छ भने म यो पद जुनसुकै बेला छोड्न पनि तयार छु,’ उनले भने ।
आफू कुशल, योग्य र कर्तव्यनिष्ठ प्रशासक भएकोले नै बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा प्राधिकरणको अध्यक्षमा नियुक्ती दिएको पनि झाले दाबी गरे । ‘त्यतिवेला एक महिनापनि काम गर्न पाएको थिईंन, सर्वोच्च अदालतमा रिट पर्यो । म दुई वर्ष काम गर्नबाट बञ्चित भएँ । र, ०७१ देखि ०७४ सम्म मैले काम गरें, उनले भने ।
झाले आफूले गरेको काम राम्रो भएको विज्ञ सम्मिलित समितिको निश्कर्षपछि २०७४ साल मंसिरबाट फेरी आफूलाई दोस्रो कार्यकालको लागि नियुक्ती गरिएको स्पष्ट पारे ।
वर्तमान सरकारले खुल्ला प्रतिष्पर्धामार्फत उक्त रिक्त पदको लागि विज्ञापन गरेपछि आफूले पनि प्रतिष्पर्धा गरेको र पहिलो नम्बरमा नाम निस्किएको उनले बताए ।
‘म लगायत हामी १७ जनाले आवेदन दिएका थियौं । त्यसमा तीन जनाको नाम सिफारिश भयो । एक नम्बरमा मेरै नाम सिफारिश भयो । र, वर्तमान सरकारले भदौ २१ गते मलाई पूनः नियुक्ती गर्यो,’ उनले भने ।
उनले आफू विवादित व्यक्ति नभएर चर्चित व्यक्ति भएको पनि बताए । ‘म चर्चित व्यक्तित्व हुँ । तर, विवादित होईन् । भ्रष्टाचारको कुरा गर्नुहुन्छ भने सावित हुने त परको कुरा हो, कुनै काण्डमा आजसम्म म आरोपित पनि भएको मान्छे होईन,’ उनले भने ।
नेपालको आफ्नै ‘स्याटलाईट’ हुनुपर्छ भनेर सोहीअनुसारको काम पनि आफूले अघि बढाएको झाले जनाए । ‘अब फाईभ–जी कसरी ल्याउने भन्नेतिरपनि लागिरहेको छु, उनले भने ।
‘मोवाईल डिभाईस म्यानेजमेन्ट सिष्टम’ र ‘ईन्टरनेश्नल कल मनिटरिङ’ जस्ता धेरै काम आफूले प्राधिकरणबाट अघि बढाएको उनले फेहरिस्त पेश गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘डिजिटल नेपाल’ को सपना साकार पार्नको लागि आफू खटिरहेको पनि उनले विश्वास दिलाए ।
प्रकाशित: ११ पुष २०७५, बुधबार