अपटेड समाचार

इन्टरनेटको मूल्य पुस १५ देखि बढ्ने,दूरसंचार सेवा शुल्क लिने आइस्पानको निर्णय

काठमाडौं । ग्राहकले प्रयोग गर्दै आएको इन्टरनेट सेवाको मूल्य फेरी बढ्ने भएको छ । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई इन्टरनेट सेवाको शुल्क बढाउने चेतावनीसहितको ध्यानाकर्षण पत्र दिएका छन् ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्था इन्टरनेट सर्भिस प्रोभाइडर अफ नेपाल(आइस्पान)ले संचार तथा सूचना प्रविधि मन्त्रिलाई ध्यानाकर्षण पत्र दिँदै यहि पुष १५ गतेदेखि इन्टरनेटको शुल्कमा वृद्धि गर्ने बताएको हो ।

आइस्पानले इन्टरनेटको शुल्क नबढाउने र यसअघि लाग्दै आएको दूरसंचार सेवा शुल्क मिनाहा गर्ने विषयमा मन्त्रालयसँग भएको सम्झौता पालना नभएको भन्दै पुस १५ गतेदेखि दूरसंचार सेवा शुल्क १३ प्रतिशत थप लिने चेतावनी दिएको हो ।

‘उक्त सम्झौता भएको ५ महिना व्यतित भैसक्दा पनि तहा र तहा अन्तरगर्तको नेपाल दूरसंचार प्राधिकरणलाई उक्त सम्झौता कार्यान्वयनको लागि पटक पटक अनुरोध गर्दा समेत कुनै निकास नआएको हुँदा यस इन्टरनेट सेवा प्रदायक संस्थाको आकस्मिक बैठक बसी यहि मिति २०७५ पुस १५ गतेबाट लागू हुने गरि १३ प्रतिशत अतिरिक्त दूरसंचार सेवा शुल्क लिने निर्णय गरेको हुँदा सोको जानकारी गर्दछौं,’– मन्त्रिलाई बुझाएको पत्रमा भनिएको छ ।

उनीहरुले मन्त्रिलाई बुझाएको ध्यानाकर्षण पत्रमा नेपाल विद्युत प्राधिकरणले आफ्नो नेटवर्क प्रयोग गरे बापत इन्टरनेट सेवा प्रदायकहरुले प्रयोग गर्दै आएको विद्युतको पोलहरुमा ५ गुणा भन्दा बढी भाडा वृद्धि गरेको दाबी गरेका छन् । सो भाडा वृद्धिले आइस्पानलाई थप अन्याय र हतोत्साहित बनाएको हुँदा इन्टरनेटको थप शुल्क वद्धि गर्न बाध्य हुने चेतावनी दिएका छन् ।