Technology Khabar ४ पुष २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । नेपाल टेलिकमले मंसिर मसान्तसम्ममा करिब ६ सय किलोमिटर अप्टिकल फाइबर जडान सम्पन्न गरेको छ ।
कम्पनीले विभिन्न स्थानमा जडान गर्ने लक्ष्य राखेको १ हजार किलोमिटर एडीएसएस (All
Dielectric Self-Supporting System) अप्टिकल फाइबरमध्ये मंसिर मसान्तसम्ममा करिब ६ सय किलोमिटर जडान सम्पन्न गरिसकेको जानकारी दिएको छ। बाँकी अप्टिकल फाइबर जडानका लागि समेत धमाधम कार्य भइरहेको कम्पनीको भनाई छ ।
कम्पनीले आफ्ना सेवाहरुको स्तरोन्नती गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तार कार्यलाई अघि बढाइरहेकोमा हालसम्म सम्पन्न भएका नेटवर्कहरुमा तामाकोशी–सिन्धुली–मन्थली, बसन्तपुर–खाँदबारी, हिले–भोजपुर, डडेलधुरा–दिपायल, दिपायल–सिलगढी–साँफेबगर–मगंलसेन, लमही–तुलसिपुर, सुर्खेत–दैलेख–दल्लु, छिन्चु–सल्लीबजार र बेनी–जोमसोम–मुक्तिनाथ रहेका छन् ।
अप्टिकल फाइबर नेटवर्कमार्फत पहाडी जिल्लाका सदरमकामहरु र विभिन्न जिल्लाका नगरपालिका तथा सहरोन्मुख क्षेत्रहरु आबद्ध हुने टेलिकमले जानकारी दिएको छ ।
यसबाट हाल सञ्चालनमा रहेका ३८ एक्सचेन्ज, ३४ बीटीएस र १९ वटा रिपिटरहरुमा अप्टिकल फाइबर जोडिने छन् भने चालु आयोजना सम्पन्न हुँदा कुल ६४ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार कार्य सम्पन्न हुनेछ । मुलुकभरका ७७ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न लक्ष्य पुरा गर्न बाँकी रहेका थप १३ जिल्लामा हाल सर्भे कार्य प्रारम्भ भइसकेको टेलिकमले उल्लेख गरेको छ ।
बाँकी जिल्लाहरु मध्ये ताप्लेजुङ, सोलुखुम्बु, बझाङ, दार्चुला, मनाङ, जाजरकोट, रुकुम र बाजुरामा नेपाल विद्युत प्राधिकरणको पूर्वाधार पुग्ने अवस्थामा रहकोले अब ती जिल्ला सदरमुकामलाई समेत अप्टिकल फाइबरले जोड्नका लागि कम्पनीले आवश्यक तयारी गरिरहको बताएको छ ।
हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा भने विद्युत सुविधा उपलब्ध नभएकाले यसका लागि आवश्यक अध्ययन भइरहेको छ । बाँकी अन्य जिल्लाहरुमा कम्पनीले पहिले नै अप्टिकल फाइबर पुर्याइसकेको दाबी गरेको छ ।
कम्पनीको ब्याकबोन प्रसारण निर्देशनालय, अप्टिकल आयोजना कार्यान्वयन विभागले अगाडि बढाईरहेको अप्टिकल फाइबर नेटवर्क विस्तार भएपछि कम्पनीका भ्वाइस र डाटा सेवा अझ गुणस्तरीय हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: ४ पुष २०७५, बुधबार