दूरसंचार प्राधिकरणले तीनवटा फ्रिक्वेन्सी ब्याण्ड अक्सन गर्दै, यस्तो छ फ्रिक्वेन्सीको आधार मूल्य

Technology Khabar ३ पुष २०७५, मंगलवार

दूरसंचार प्राधिकरणले तीनवटा फ्रिक्वेन्सी ब्याण्ड अक्सन गर्दै, यस्तो छ फ्रिक्वेन्सीको आधार मूल्य
Classic Tech

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हाल प्रयोगमा नआएको र बाँकी रहेको फ्रिक्वेन्सी अक्सन गर्ने निर्णय गरेको छ । प्राधिकरणको बोर्डले तीन वटा ब्याण्डविथमा अक्सन गर्ने निर्णय पारित गरेसँगै ९००, १८०० र २१०० मेगाहर्ज ब्याण्डमा अक्सन गर्ने भएको हो ।

सो निर्णयअनुसार प्राधिकरणले ९०० मेगाहर्ज ब्याण्डमा ३ मेगाहर्ज को २ वटा स्लट, १८०० मेगाहर्ज ब्याण्डमा २ मेगाहर्जको १६ वटा स्लट र २१०० मेगाहर्ज ब्याण्डमा ४०० मेगाहर्जको २ वटा स्लटका लागि अक्सन गर्ने भएको हो ।

सो बारेमा सोमबारको बोर्ड बैठकमा निर्णय भएको र भोली अक्सन गर्ने सूचना प्रकाशित हुने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

‘यी फ्रिक्वेन्सीहरुको अक्सनमा क्राईटेरिया तोकिएको छ र त्यो क्राइटेरिया पुरागरेपछि मात्र अक्सनमा सहभागी हुन पाईनेछ,’ उनले भने ।

प्राधिकरणका प्रवक्ता अर्यालकाअनुसार ९०० मेगाहर्ज ब्याण्डको आधार मूल्य ४ करोड ८० लाख तोकिएको छ भने २१०० मेगाहर्जका लागि ३ करोड ६० लाख अक्सन मूल्य रहेको छ । त्यस्तै २१०० मेगाहर्जका लागि १२ करोड रुपैयाँ तोकिएको छ ।

प्राधिकरणकाअनुसार सो फ्रिक्वेन्सी अक्सनमा सहभागी हुनका लागि आधारभूत टेलिफोन र मोबाइल सेवा संचालनको अनुमति लिएको हुनुपर्नेछ । त्यस्तै प्राधिकरणलाई तिर्ने बाँकी बक्यौता चुक्ता भएको हुनुपर्नेछ भने कुनैपनि डिफल्टमा नपरेको हुनुपर्नेछ । प्राधिकरणकाअनुसार यसअघि नै पर्याप्त फ्रिक्वेन्सी ओगटेको कम्पनीले पनि अक्सनमा सहभागी हुन पाउनेछैन् ।

सो फ्रिक्वेन्सी प्रविधि तटस्थताको आधारमा दिईनेछ भने अक्सनमा सहभागी हुने कम्पनीले ९०० र १८०० मेगाहर्जका लागि न्यूनतम ५ प्रतिशत बिडिंग धरौटी राख्नुपर्नेछ भने २१०० मेगाहर्ज ब्याण्डका लागि त्यस्तो धरौटी केवल १ प्रतिशत मात्र तोकिएको छ ।

प्राधिकरणले फ्रिक्वेन्सी अक्सनका लागि थ्री स्टेप प्रणाली अपनाउने प्रवक्ता अर्यालले जानकारी दिए । पहिलो चरणमा बेस प्राइसअनुसार अक्सन शुरु हुनेछ भने दोस्रो चरणमा धेरै बोल्ने कम्पनीको मूल्यलाई आधार मानेर अक्सन हुनेछ र तेस्रो चरणमा सबैभन्दा धेरै रकम कबोल गर्ने कम्पनीको मूल्य नै खरिद मूल्यको रुपमा हुनेछ ।

मोबाइल सेवा संचालनका लागि ९०० मेगाहर्ज ब्याण्ड सबैभन्दा उपयुक्त मानिन्छ भने त्यसपछि १८०० मेगाहर्ज ब्याण्डलाई लिने गरिन्छ । ९०० मेगाहज २जी र थ्रीजी दुबैको लागि उपयुक्त ब्याण्ड मानिएको छ भने १८०० मेगाहर्ज ब्याण्ड फोरजी सेवा बिस्तारका लागि उत्कृष्ट मानिएको छ ।

यी चारवटै ब्याण्डका फ्रिक्वेन्सीहरु हालका मोबाइल सेवा प्रदायक कम्पनीहरु नेपाल टेलिकम, एनसेल, यूटिएल र स्मार्ट टेलिकमबिच बढाबढको आधारमा बिक्री गरिनेछ ।

प्राधिकरणले बढाबढको लागि दूरसंचार सेवाको रेडियो फ्रिक्वेन्सी(बाँडफाँट तथा मूल्य सम्बन्धी) नीति पहिलो संशोधन, २०७३ लाई आधार मान्नेछ ।

९०० मेगाहर्ज ब्याण्डलाई २जी र ३जीको लागि सर्वोत्तम व्याण्ड मानिएको हुँदा यो ब्याण्डमा प्रति मेगाहर्ज (अनपेयर्ड) का लागि २.४ करोड रुपैयाँ प्रति वर्ष कायम गरिएको छ ।

त्यस्तै १८०० मेगाहर्ज ब्याण्डलाई हालको टूजीको निरन्तरता र फोरजीका लागि सर्वोत्तम ब्याण्ड मानेर प्रति मेगाहर्ज अनपेयर्डका लागि १.८ करोड रुपैयाँ प्रतिवर्ष कायम गरिएको छ ।

त्यसैगरि नीतिले २१०० मेगाहर्ज ब्याण्डलाई माथिल्लो प्रविधि चल्ने ब्याण्डका आधारमा प्रति मेगाहर्ज (अनपेयर्ड) १ करोड २० लाख रुपैयाँ प्रति वर्ष कार्यम गरेको छ । यो ब्याण्डको प्रयोग मूल रुपमा थ्रीजी सेवाको लागि प्रयोग हुन्छ ।

अक्सनबाट नयाँ फ्रिक्वेन्सी थप गरेसँगै टेलिकम कम्पनीहरुले आफ्नो सेवाको गुणस्तरमा सुधार गर्न सक्नेछन् । त्यसैगरि फोरजी सेवामा अहिले देखिएको सुस्तता कम भएर त्यसको गुणस्तरमा पनि वृद्धि हुनेछ ।

फ्रिक्वेन्सी बिक्री भएसँगै सरकारलाई भने एकै पटक ठूलो मात्रामा राजस्व आम्दनी हुनेगर्दछ ।

कुन कम्पनीसँग कति छ फ्रिक्वेन्सी

हाल नेपाल टेलिकमसँग सबैभन्दा धेरै फ्रिक्वेन्सी रहेको देखिन्छ । टेलिकमले ९०० मेगाहर्ज ब्याण्डमा ९.६ मेगाहर्ज ब्याण्डविथ लिएको छ भने १८०० मेगाहर्ज ब्याण्डमा १५ मेगाहर्ज ब्याण्डविथ छ । त्यस्तै २१०० मेगाहर्ज ब्याण्डमा १० मेगाहर्ज र २३०० मेगाहर्ज ब्याण्डमा ३० मेगाविथ ब्याण्ड प्रयोग गरिरहेको छ ।

एनसेल प्रालिसँग ९०० मेगाहर्ज ब्याण्डमा ८ मेगाहर्ज ब्याण्ड छ भने १८०० मेगाहर्ज ब्याण्डमा ११ र २१०० मेगाहर्ज ब्याण्डमा १० मेगाहर्ज ब्याण्डविथ रहेको छ ।

सेवा संचालनमा नरहेको यूटिएलसँग पनि ९०० मेगाहर्ज ब्याण्डमा ५ मेगाहर्ज ब्याण्डविथ छ भने १८०० मेगाहर्जमा १२ मेगाहर्ज ब्याण्ड रहेको छ ।

स्मार्ट टेलिकमसँग ९०० मेगाहर्ज ब्याण्डमा ५ मेगाहर्ज र १८०० मा १२ मेगाहर्ज ब्याण्डविथ छ भने नेपाल स्याटेलाइटसँग ९०० मेगाहर्ज ब्याण्डमा ४.४ र १८०० मेगाहर्ज ब्याण्डमा ९ मेगाहर्ज फ्रिक्वेन्सी रहेको छ ।

यो पनि हेर्नुहोस्- 

TK Viber

प्रकाशित: ३ पुष २०७५, मंगलवार

Loading...