विश्वको आधा भन्दा बढि जनसंख्या इन्टरनेटको पहुँचमा, ९६ प्रतिशत पुग्यो मोबाइल नेटवर्क कभरेज

Technology Khabar २४ मंसिर २०७५, सोमबार

विश्वको आधा भन्दा बढि जनसंख्या इन्टरनेटको पहुँचमा, ९६ प्रतिशत पुग्यो मोबाइल नेटवर्क कभरेज


काठमाडौं । विश्वको कुल जनसंख्याको आधा भन्दा बढि मानिस इन्टरनेटमा जोडिएका छन् । हालै सार्वजनिक इन्टरनेटशनल टेलिकम्यूनिकेसन यूनियन(आईटियू) International Telecommunication Union (ITU) को अध्ययन अनुसार सन् २०१८ को अन्त्यसम्म कुल जनसंख्यामध्ये ३ अर्ब ९० करोड मानिसहरु इन्टरनेट प्रयोग गरिरहेका छन् ।

रिपोर्टअनुसार पहिलो पटक विश्वको आधा भन्दा बढि जनसंख्या अनलाइनमा हुने देखिएको छ ।
विश्वमा इन्टरनेटमा जोडिने जनसंख्याको मूख्य आधार विकासशिल मुलुकहरुमा बढ्दो इन्टरनेटको पहुँच रहेको छ ।

विकासशिल मुलुकहरुमा सन् २००५ को तुलनामा हेर्दा ७.७ प्रतिशतको इन्टरनेट पहुँच बढेर हाल सन् २०१८ मा ४५.३ प्रतिशत पुगेको छ ।

आईटियूका सबै क्षेत्रहरुमध्ये तिब्र गतिमा वृद्धि भएको क्षेत्र अफ्रिका देखिएको छ, जहाँ सन् २००५ मा २.१ प्रतिशत इन्टरनेट पहुँच भएकोमा सन् २०१८ मा २४.४ प्रतिशत मानिसहरुले इन्टरनेट प्रयोग गरिरहेका देखिएको छ ।

त्यसैगरि विकसित मुलुकहरुमा भने सुस्त र स्थित वृद्धि देखिएको छ, जहाँ सन् २००५ मा ५१.३ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेकोमा सन् २०१८ मा ८०.९ प्रतिशत मानिसहरु इन्टरनेटको पहुँचमा रहेका छन् ।

अरब मुलुकहरुमा ५४.७ प्रतिशत मानिसहरु इन्टरनेट प्रयोग गरिरहेका छन भने एशिया प्यासिफिक क्षेत्रमा ४७ प्रतिशत मानिसहरुले इन्टरनेट प्रयोग गर्ने गर्दछन् ।

विश्वमा सबैभन्दा न्यून वृद्धि यूरोप र अमेरिकामा देखिएको छ, जसमध्ये यूरोपमा ७९.६ प्रतिशत प्रयोगकर्ता रहेका छन भने अमेरिकामा ६९.६ प्रतिशत प्रयोगकर्ता रहेका छन् ।

फिक्स्ड र मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता
ब्रोडब्याण्डको वृद्धि निरन्तररुपमा स्थिरतासहित भएको देखिन्छ । फिस्क्ड ब्रोडब्याण्ड प्रयोगकर्ताहरु निरन्तर बढिरहेका छन् । सन् २०१७ को तुलनामा फिक्स्ड ब्रोडब्याण्ड कनेक्सनमा वृद्धि हुँदै सन् २०१८ मा १अर्ब १० करोड पुगेको छ जबकी सन् २०१७ मा ९४ करोड २० लाख मात्र थियो ।

रिपोर्टअनुसार सन् २०१८ मा सक्रिय मोबाइल ब्रोडब्याण्डको पहुँचमा उल्लेख वृद्धि हुँदै १०० जनामध्ये ६९.३ जना मानिसमा पुगेको छ, जून जनसंख्याको आधारमा ५ अर्ब ३ करोड हो । जसमध्ये सबैभन्दा अगाडि एशिया प्यासिफिक क्षेत्र छ भने त्यसपछि अरब मुलुकहरु र अफ्रिका रहेको छ ।

अतिकम विकसित मुलुकहरुमा, मोबाइल ब्रोडब्याण्ड पहुँच दर सन् २००७ को शुन्यबाट बढेर सन् २०१८ मा प्रति १०० मा २८.४ प्रयोगकर्ता पुगेका छन् ।

मोबाइल नेटवर्क कभरेज
आईटियूकाअनुसार विश्वको जनसंख्यामध्ये ९६ प्रतिशत मानिसहरु मोबाइल सेल्यूलर नेटवर्कको पहुँचमा पुगेका छन भने ९० प्रतिशतले थ्रीजी अथवा त्यो भन्दा तिब्र गतिको नेटवर्कमार्फत इन्टरनेटमा पहुँच पुर्याएका छन् ।

सार्वजनिक रिपोर्टअनुसार विश्वभर सन् २०१८ माा आधा भन्दा बढि घरधुरीसँग कम्तिमा एउटा कम्प्यूटर रहेको छ, जून सन् २००५ मा कुल घरधुरीमध्ये एक चौथाईसँग मात्र थियो। विकसित मुलुकहरुमा ८३.२ प्रतिशत घरधुरीसँग कम्प्यूटर छ भने विकासशिल मुलुकहरुमा त्यस्तो प्रतिशत ३६.३ रहेको छ ।

आईटियूका महासचिव होउलिन झाओले ५० प्रतिशतभन्दा बढि इन्टरनेट प्रयोगकर्ता पुगेका भन्दै भने, ‘विश्वको सूचना समाजलाई थप समावेशी बनाउन एउटा महत्वपूर्ण कदम हो ।’

उनले अझ डिजिटल अर्थतन्त्रको फाईदाबाट अझै कयौं मानिसहरु विश्वभर प्रतिक्षारत रहेकोमा सावधान हुनुपर्ने जोड दिँदै थप लगानी गर्न उत्प्रेरित गर्नुपर्ने बताए ।

प्रकाशित: २४ मंसिर २०७५, सोमबार

Comments are closed.

Loading...