Technology Khabar १८ मंसिर २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । एउटा सात वर्षको बच्चाले काम गरेर कति कमाउन सक्छ ? कमाइ हाले पनि कति रूपैयाँ कमाउला? तपाईँले सोच्नुहोला की यति सानो बच्चाले कहिँ काम गर्छ र ?
तर सात वर्षे सानो बालक रेयान जो करोडौं रुपैयाँ यूट्यूब च्यानलबाट कमाउने गर्दछन् भन्दा तपाईँलाई आश्चार्य लाग्यो होला । रेयान हरेक साता यूट्यूबमा खेलौनाहरुको रिभ्यू गर्दछन र वार्षिक अर्बौं रुपैयाँ कमाउँछन् ।
धनाढयहरुको बारेमा जानकारी दिने फोर्ब्स पत्रिकाले रेयानलाई सन् २०१८ मा संसारमा धेरै आम्दानी गर्ने ‘यूट्युब स्टार’ भनेको छ। उनले यो वर्ष करिब २२ मिलियन डलर (करिब अढाई अर्ब नेपाली रुपैयाँ) कमाएको फोर्ब्सले जनाएको छ।
रेयान २०१७ मा पनि यो सूचीमा परेका थिए। रेयानको गत वर्षको कमाइ १ करोड १० लाख डलरभन्दा बढी थियो। गत वर्ष उनी धनाढ्य यूट्युब स्टार सूचीको आठौं स्थानमा मात्र थिए। तर यो वर्ष उनको कमाइ दोब्बरले वृद्धि भएसँगै उनी एक नम्बरमा पर्न सफल भएका हुन्।
यूट्यूबमा रेयानका भिडियोहरु करोडौं मानिसहरुले हेर्ने गरेका छन् । उनले यूट्यूबमा ‘रेयान टोयज रिभ्यू’ नामक च्यानल चलाउने गर्दछन् । जसमा उनले खेलौनाहरुको बारेमा जानकारी दिने र रिभ्यू गर्ने गर्दछन् ।
उनको खेलौना प्रतिको आशक्तिका कारण उनका आमाबुबाले उनको लागि सन् २०१५ मा यूट्यूब च्यानल खोलेका थिए । उनी अमेरिकाको बासिन्दा भएको बताईएको छ ।
उनको च्यानलका भिडियो हालसम्म २६ अर्बभन्दा बढी पटक हेरिएका छन्। यो च्यानलमार्फत् उनले आफ्ना दर्शकलाई खेलौनाको ‘छुट्टै संसार’ लैजाने टिप्पणी विश्लेषकले गरेका छन्।
यूट्युबका ‘स्टार’ को धनाढ्य सूचीमा करिब २ करोड १५ लाख डलर कमाएर जेक पल दोस्रो नम्बरमा परेका छन्। तेस्रो नम्बरमा भने २ करोड डलर कमाइ गर्ने ड्यूड परफेक्ट छन्। तर यी सबैलाई रेयानले उछिनेका हुन् ।
गत वर्ष रेयानकी आमाले अमेरिकी पत्रिका वासिङटनपोस्टलाई एक अन्तर्वार्ता दिएकी थिइन्। जसमा उनले रेयानका बारेमा थोरै कुरा मात्र बताएकी थिइन्। ‘रेयान सानै उमेरदेखि खेलौनाको सौखिन थियो,’ उनले भनेकी थिइन्, ‘ऊ टिभी र यूट्युबमा आउने रिभ्यु हेर्थ्यो। तीन वर्ष छदैंदेखि उसको यसमा लगाव छ।’
रेयानकी आमाले पनि आफ्नो परिचय दिन मानिनन्। ‘उसले मलाई सानैदेखि गनगन गर्थ्यो,’ उनले भनिन्, ‘म अरू बच्चा जस्तो यूट्युबमा किन देखिन्नँ भन्थ्यो। त्यसपछि हामीले उसलाई यो सम्भव छ बाबु भनेर सम्झायौं र खेलौना किन्न गयौं। पहिलोपटक हामीले उसलाई एक रेल किनिदियौं र यहीँबाट यो सब सुरु भयो।’
रेयानको एउटै भिडियो ८० करोडभन्दा बढीले हेरेका छन्। मार्च २०१५ मा सुरु भएको उनको च्यानलमा एक करोड ७३ लाखभन्दा बढी सब्सक्राईबर छन्।
प्रकाशित: १८ मंसिर २०७५, मंगलवार