५ बर्षमा आइसीटीमा १ लाख रोजगारी सिर्जना गर्नेः श्रम मन्त्री

Technology Khabar १८ मंसिर २०७५, मंगलवार

५ बर्षमा आइसीटीमा १ लाख रोजगारी सिर्जना गर्नेः श्रम मन्त्री

काठमाडौं ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सूचना प्रविधि (आईसीटी) को क्षेत्रबाट नै लाखौं रोजगारी सिर्जना गर्न सकिने बताएका छन् ।

प्रविधि पत्रकार मञ्च(टीजेएफ) र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले आईतबार काठमाडौंमा संयुक्त रुपमा गरेको कार्यक्रममा मन्त्री बिष्टले अब कुन देशमा कहिले रोजगारी खुल्छ भनेर नसोध्न आग्रह गरे । उनले देशभित्रै युवाले काम गरेर बस्ने र बाँच्ने वातावरण कहिले बन्छ भनेर सोध्न अनुरोध गर्दैै त्यसको सुरुआत आईसीटी क्षत्रेबाट नै हुने बताए ।

‘देशभित्रै काम गर्ने संस्कति बसाउने कुरा महत्वपूर्ण छ । यसका लागि मध्यमस्तरका जनशक्तिलाई आईसीटी क्षत्रेमा आवद्ध गर्ने हाम्रो योजना हो,’ मन्त्री बिष्टले भने, ‘अहिले ८५ हजारलाई रोजगारी दिने सम्भावनाको कुरा प्रतिवेदनले भनेको छ । हामी वातावरण सुधारेर त्यलाई लाखौंमा लैजान चाहान्छौं ।’

मन्त्री बिष्टले देशभित्र रोजगारी सिर्जना गर्नेमा सरकारको ध्यान भएकाले अरु विषय दोस्रो प्राथमिकतामा रहेको सुनाए ।

कार्यक्रममा शिक्षा तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले सरकारले जनशक्ति प्रक्षेपण कार्यदल बनाएर सरकारले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक छ भनेर अध्ययन गर्न सुरु गरेको बताए । अब त्यसैका आधारमा शिक्षाका नीति र कार्यक्रमहरु बनाइने बताए । त्यसबाट आवश्यक जनशक्तिको उत्पादन देशभित्रै भएर कामका लागि विदेशिनुपर्ने अवस्था हट्ने उनको विश्वास छ ।

सचिव बरालले आईसीटी शिक्षा र शिक्षामा आईसीटीको प्रयोग दुई अन्तर सम्बन्धित विषय भएकाले यसलाई प्राथमिकतामा राखेर शिक्षा मन्त्रालयले काम गरिरहेको उल्लेख गरे ।

कार्यक्रमका सहभागीहरुले पनि सरकारले योजना बनाएर महत्वका साथ काम गरे सूचना प्रविधि (आईसीटी)को क्षेत्रमा ब्यापक मात्रामा रोजगारी सिर्जना गर्न कठीन नरहेको एक बताएका छन् ।

कार्यक्रममा सहभागीहरुले प्रविधिको क्षेत्रमा रहेका विभिन्न समस्या समाधनमा सरकार अग्रसर भएमा ब्यापक मात्रामा रोजगारी सिर्जनाको सम्भाब्यता रहेको बताए ।

प्रविधिको क्षेत्रमा हाल तथ्यांक व्यवस्थापनको समस्या छ । यस्तै यो क्षेत्रमा वैदेशिक लगानी भित्रिन सकिरहेको छैन । सरकारी दस्तावेजहरुमा विकास र समृद्धिको आधारका रुपमा सूचना प्रविधि क्षेत्रलाई राखे पनि त्यसअनुरुप कार्ययोजना बनाएर काम नगर्दा सम्भाब्यतालाई मूर्त रुप दिन नसकिएको कार्यक्रममा सहभागीहरुले बताए ।

कार्यक्रममा सहभागीहरुले सरकारले गफ मात्रै गर्ने र काम नगर्ने अवस्थाको अन्त्य गर्न आईसीटी क्षेत्रबाटै सुरुआत हुने अपेक्षा व्यक्त गरे । उनीहरुले समस्याहरु हटाएर आईसीटी क्षेत्रलाई रोजगारीको प्रमुख आधार बनाउन सकिने अवस्थालाई सरकारले गम्भीर रुपमा लिएर नीति, योजना तथा कार्यक्रम बनाएर थोरै वर्षभित्रै महत्वपूर्ण उपलब्धी हात लाग्ने उल्लेख गरे ।

Global Bank
easy care

प्रकाशित: १८ मंसिर २०७५, मंगलवार

ताजा समाचार