विद्युतीय हस्ताक्षरको प्रयोग बारेमा धितोपत्र दलाल व्यवसायीलाई तालिम

Technology Khabar १३ मंसिर २०७५, बिहीबार

विद्युतीय हस्ताक्षरको प्रयोग बारेमा धितोपत्र दलाल व्यवसायीलाई तालिम
Global IME Bank

काठमाडौं ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विद्युतीय हस्ताक्षरको आवश्यकता र यसका विविध आयामहरुका सम्बन्धमा सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई मंसिर १२ गते नेपाल सर्टिफाइङ्ग कम्पनी प्रालिसँगको सहकार्यमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

बोर्डको आ.व. २०७५।७६ को वार्षिक कार्यक्रम अन्तर्गत बोर्डको सूचना प्रबिधि नीति, २०७५ तर्जुमा गरी कार्यान्वयन गर्ने र बजार सहभागीहरुका कामकारवाही तथा गतिविधिहरुलाई क्रमशः डिजिटलाइज बनाउँदै लैजान आवश्यक व्यवस्था गर्ने कार्यक्रम रहेको परिप्रेक्ष्यमा सो अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नेपाल सर्टिफाइङ्ग कम्पनीका तर्फबाट निर्देशक दिपक भण्डारीले विद्युतीय हस्ताक्षर Digital Signature को आवश्यकता, यसको महत्व, विशेषता, फाइदा, प्रयोग गर्ने तरिका, धितोपत्र बजारमा ग्राहक परिचय विवरण, खरिद बिक्री आदेश तथा धितोपत्र दलाल व्यवसायीहरुले बोर्डमा पेश गर्नुपर्ने विवरणमा विद्युतीय हस्ताक्षर प्रयोग गर्न सकिने जस्ता विषयवस्तुहरु समेटिएको प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीले विद्युतीय कारोबार ऐन कार्यान्वयनमा आए यस मार्फत हुने कारोबारलाई विश्वसनीय, कानून सम्मत र सुरक्षित बनाउन विद्युतीय हस्ताक्षरको प्रयोगको शुरुवात गर्नु आवश्यक देखिनुका साथै धितोपत्र तथा वस्तु विनियम बजारमा प्रविधिको उच्चतम प्रयोग हुने हुनाले विस्तारै यसको प्रयोगको दिशामा धितोपत्र व्यवसायी लाग्नुपर्ने र बोर्ड सोही दिशामा अगाडि बढने बताए ।

सम्पूर्ण धितोपत्र दलाल व्यवसायी तथा बोर्डका कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा सहभागीहरुले विद्युतीय हस्ताक्षरको सुरक्षा तथा यसको पूर्वाधार सम्बन्धमा जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाएको बोर्डले जानकारी दिएको छ ।

Sajilo Visa

प्रकाशित: १३ मंसिर २०७५, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार