फ्रिक्वेन्सी अक्सनको तयारीमा दूरसंचार प्राधिकरण, मोबाइल ब्रोडब्याण्ड सेवा पनि खुला गरिने

Technology Khabar ११ मंसिर २०७५, मंगलवार

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक फ्रिक्वेन्सी अक्सन (बोलकबोल) मार्फत बिक्री गर्ने भएको छ । पहिलो चरणमा प्राधिकरणले दुई ब्याण्डका फ्रिक्वेन्सीहरु अक्सन गर्ने तयारी गरेको छ ।

फ्रिक्वेन्सी अक्सनको लागि हाल प्राधिकरणले ९०० मेगाहर्ज ब्याण्ड र १८०० मेगाहर्ज ब्याण्डसहित अन्य २ ब्याण्डका फ्रिक्वेन्सी बोलकबोल गराउने तयारी गरेको हो ।

फ्रिक्वेन्सी अक्सनको तयारी धेरै समयअघि देखि प्राधिकरणले गरेको भएपनि हालसम्म अक्सन गर्न सकेको थिएन् । तर अब फेरी फ्रिक्वेन्सी अक्सनको प्रस्ताव बोर्डमा गएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बताए ।

‘मैले बोर्डमा फ्रिक्वेन्सी अक्सनको प्रस्ताव राखेको छु, तर अहिलेसम्म छलफल हुन सकेको छैन्, यस विषयमा ढिलोचाँडो निर्णय हुनेछ,’ अध्यक्ष झाले भने ।

उनले फ्रिक्वेन्सी त्यसै राखेर फाइदा नहुने भएको र त्यसलाई प्रयोग गर्न दिए सरकारलाई राजस्व आउने हुँदा सकेसम्म छिटै अक्सन गरिने स्पष्ट पारे । फ्रिक्वेन्सी अक्सनका गरेपछि सो फ्रिक्वेन्सी किन्नका लागि नयाँ कम्पनीपनि आउनसक्ने उनले जानकारी दिए ।

मोबाइल सेवा संचालनका लागि ९०० मेगाहर्ज ब्याण्ड सबैभन्दा उपयुक्त मानिन्छ भने त्यसपछि १८०० मेगाहर्ज ब्याण्डलाई लिने गरिन्छ । ९०० मेगाहज २जी र थ्रीजी दुबैको लागि उपयुक्त ब्याण्ड मानिएको छ भने १८०० मेगाहर्ज ब्याण्ड फोरजी सेवा बिस्तारका लागि उत्कृष्ट मानिएको छ ।

प्राधिकरणले यी दुई ब्याण्डको फ्रिक्वेन्सी मोबाइल सेवा प्रदायकहरुका बिचमा मात्र सिमित अक्सन गर्नेछ ।

९०० ब्याण्डमा हाल ३ मेगाहर्ज फ्रिक्वेन्सी बाँकी छ भने १८०० मेगाहर्जमा ११ मेगाहर्ज फ्रिक्वेन्सी बाँकी छ । ९०० मेगाहर्ज ब्याण्डको ३ मेगाहर्जमध्ये यसअघि एसटिएमसँग फिर्ता लिईएको २.४ मेगाहर्ज हो । त्यस्तै १८०० मेगाहर्जको फ्रिक्वेन्सीमा १६ मेगाहर्ज प्रयोगमा आएको छैन् ।

त्यसैगरि प्राधिकरणले २१०० मेगाहर्ज ब्याण्ड र २३०० मेगाहर्ज ब्याण्डको पनि अक्सनका लागि तयारी गरेको छ ।

यी चारवटै ब्याण्डका फ्रिक्वेन्सीहरु हालका मोबाइल सेवा प्रदायक कम्पनीहरु नेपाल टेलिकम, एनसेल, यूटिएल र स्मार्ट टेलिकमबिच बढाबढको आधारमा बिक्री गरिनेछ ।

प्राधिकरणले बढाबढको लागि दूरसंचार सेवाको रेडियो फ्रिक्वेन्सी(बाँडफाँट तथा मूल्य सम्बन्धी) नीति पहिलो संशोधन, २०७३ लाई आधार मान्नेछ ।

सो नीतिमा प्रतिस्पर्धात्मक वा बढाबढको माध्यमबाट बितरण हुनसक्ने फ्रिक्वेन्सीलाई तत्काल प्रतिस्पर्धात्मक वा बढाबढको माध्यमबाट बितरण गरिने उल्लेख छ ।

नीतिअनुसार नै प्राधिकरणले फ्रिक्वेन्सी अक्सनको लागि आधारमूल्य तोक्न सक्नेछ । ९०० मेगाहर्ज ब्याण्डलाई २जी र ३जीको लागि सर्वोत्तम व्याण्ड मानिएको हुँदा यो ब्याण्डमा प्रति मेगाहर्ज (अनपेयर्ड) का लागि २.४ करोड रुपैयाँ प्रति वर्ष कायम गरिएको छ ।

त्यस्तै १८०० मेगाहर्ज ब्याण्डलाई हालको टूजीको निरन्तरता र फोरजीका लागि सर्वोत्तम ब्याण्ड मानेर प्रति मेगाहर्ज अनपेयर्डका लागि १.८ करोड रुपैयाँ प्रतिवर्ष कायम गरिएको छ ।

त्यसैगरि नीतिले २१०० मेगाहर्ज ब्याण्डलाई माथिल्लो प्रविधि चल्ने ब्याण्डका आधारमा प्रति मेगाहर्ज (अनपेयर्ड) १ करोड २० लाख रुपैयाँ प्रति वर्ष कार्यम गरेको छ । यो ब्याण्डको प्रयोग मूल रुपमा थ्रीजी सेवाको लागि प्रयोग हुन्छ ।

प्राधिकरणले यसअघि नै ७०० मेगाहर्ज र २६०० मेगाहर्ज ब्याण्ड अक्सन गर्ने योजना ल्याएको भएपनि अहिलेसम्म अक्सनमा जान सकेको छैन् । फ्रिक्वेन्सी नीतिले पनि ७०० मेगाहर्ज र २६०० मेगाहर्ज ब्याण्डको लागि छुट्टै प्रावधान तोकेको छ । प्राधिकरणले यी दुई फ्रिक्वेन्सीहरु भने खुला प्रतिस्पर्धाको माध्यमबाट अक्सन गराउन लागेको हो ।

खुला प्रतिस्पर्धामा हालको सेवा प्रदायकभन्दा बाहिरका मोबाइल सेवा संचालन गर्न चाहने कम्पनीहरुले पनि अक्सनमा भाग लिएर फ्रिक्वेन्सी खरिद गर्न सक्ने प्रावधान छ । त्यस्तो कम्पनीहरुलाई फ्रिक्वेन्सी अक्सनबाट फ्रिक्वेन्सी दिईएमा एकिकृत मोबाइल ब्रोडब्याण्ड सेवाको अनुमति दिनुपर्ने नीतिमा रहेकोछ ।

मोबाइल ब्रोडब्याण्ड सेवा खुला गर्ने

फ्रिक्वेन्सी अक्सनका साथै प्राधिकरणले मोबाइल ब्रोडब्याण्ड सेवा खुला गर्ने तयारी गरेको छ । प्राधिकरणले नयाँ मोबाइल सेवा प्रदायकको रुपमा इच्छुक कम्पनीहरुका लागि मोबाइल ब्रोडब्याण्ड खुला गर्न लागेको हो ।

प्राधिकरणले मोबाइल ब्रोडब्याण्ड सेवा खुला गर्ने निर्णयका साथ सरकारलाई सिफारिस गर्नेछ भने सोहि सिफारिसको आधारमा सरकारले खुला प्रतिस्पर्धाबाट नयाँ मोबाइल सेवा प्रदायकको छनौट गर्नेछ ।

यससम्बन्धि प्रस्ताव निकै अगाडिदेखि प्राधिकरण संचालक समितिमा रहेपछि सो विषयमा छलफल हुन सकेको थिएन् । तर फेरी बोर्ड बैठकमा सो बारेमा छलफल हुने बताईएको छ ।

प्राधिकरणका अध्यक्ष झाले धेरै अगाडि बोर्डमा सो विषयमा प्रस्ताव गरेको भएपनि अहिले फेरी नयाँ चरणबाट प्रस्ताव गरेको जानकारी दिए ।

‘फ्रिक्वेन्सी अक्सनका साथमा मोबाइल ब्रोडब्याण्ड खुला गर्ने विषय आएको हो, नीतिमा पनि सो विषय रहेको छ, फ्रिक्वेन्सी अक्सनबाट नयाँ मोबाइल कम्पनीहरु आउन सक्नेछन्,’ अध्यक्ष झाले भने ।

कुन कम्पनीसँग कति छ फ्रिक्वेन्सी

हाल नेपाल टेलिकमसँग सबैभन्दा धेरै फ्रिक्वेन्सी रहेको देखिन्छ । टेलिकमले ९०० मेगाहर्ज ब्याण्डमा ९.६ मेगाहर्ज ब्याण्डविथ लिएको छ भने १८०० मेगाहर्ज ब्याण्डमा १५ मेगाहर्ज ब्याण्डविथ छ । त्यस्तै २१०० मेगाहर्ज ब्याण्डमा १० मेगाहर्ज र २३०० मेगाहर्ज ब्याण्डमा ३० मेगाविथ ब्याण्ड प्रयोग गरिरहेको छ ।

एनसेल प्रालिसँग ९०० मेगाहर्ज ब्याण्डमा ८ मेगाहर्ज ब्याण्ड छ भने १८०० मेगाहर्ज ब्याण्डमा ११ र २१०० मेगाहर्ज ब्याण्डमा १० मेगाहर्ज ब्याण्डविथ रहेको छ ।

सेवा संचालनमा नरहेको यूटिएलसँग पनि ९०० मेगाहर्ज ब्याण्डमा ५ मेगाहर्ज ब्याण्डविथ छ भने १८०० मेगाहर्जमा १२ मेगाहर्ज ब्याण्ड रहेको छ ।

स्मार्ट टेलिकमसँग ९०० मेगाहर्ज ब्याण्डमा ५ मेगाहर्ज र १८०० मा १२ मेगाहर्ज ब्याण्डविथ छ भने नेपाल स्याटेलाइटसँग ९०० मेगाहर्ज ब्याण्डमा ४.४ र १८०० मेगाहर्ज ब्याण्डमा ९ मेगाहर्ज फ्रिक्वेन्सी रहेको छ ।

प्रकाशित: ११ मंसिर २०७५, मंगलवार

तपाइको प्रतिक्रिया