डाटा शुल्क घटाउन भन्दै एनसेललाई दूरसंचार प्राधिकरणको पत्र, यस्तो छ अहिलेको सेवा शुल्क

Technology Khabar ९ मंसिर २०७५, आईतवार

डाटा शुल्क घटाउन भन्दै एनसेललाई दूरसंचार प्राधिकरणको पत्र, यस्तो छ अहिलेको सेवा शुल्क
Classic Tech

काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकहरुसँग लिँदै आएको डाटा सेवा शुल्क घटाउन भन्दै नेपाल दूरसंचार प्राधिकरणले पत्र पठाएको छ । प्राधिकरणले यहि मंसिर ३ गते एनसेल प्रालिलाई पत्र पठाउँदै डाटा सेवामा लिँदै आएको हालको सेवा शुल्कको बारेमा बिस्तृत जानकारी दिन भनेको छ ।

एनसेलले अन्य प्रतिस्पर्धी सेवा प्रदायकहरुको भन्दा महंगो शुल्क डाटा सेवामा ग्राहकहरुसँग लिईरहेको भन्ने गुनासोको आधारमा पत्र पठाएको प्राधिकरणले जानकारी दिएको छ ।

तर प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले पठाएको पत्रमा एनसेललाई हालको डाटा सेवा शुल्कको बारेमा जानकारी पठाउन मात्रै पत्र काटिएको बताए । ‘हामीले एनसेललाई ट्यारिफ गाइडलाईनअनुसार अहिलेको शुल्कको बारे आर्थिक विश्लेषणसहितको जानकारी गराउन भनेर पत्र पठाएका हौं, पत्रको जवाफ आईसकेको छैन्,’ प्रवक्ता अर्यालले टेक्नोलोजीखबरलाई भने ।

उनकाअनुसार एनसेलले पठाएको जवाफको आधारमा आगामी दिनमा प्राधिकरणले नयाँ कदम चाल्नेछ ।

सो पत्रमा हालको शुल्क प्रतिस्पर्धीको भन्दा धेरै रहेको र त्यसलाई सस्तो बनाउनका लागि एनसेललाई भनिएको प्राधिकरणका अर्का अधिकारीले दाबी गरे । हाल एनसेलले आफ्ना सेवा प्रयोगकर्ता ग्राहकहरुसँग औसतरुपमा ३ रुपैयाँ प्रति एमबीको नियमित डाटा सेवा शुल्क लिईरहेको र सो सेवा शुल्क महंगो भएको हुँदा घटाउन पत्र पठाएको प्राधिकरणकै ती अधिकारीको भनाई छ ।

‘एनसेलको हालको डाटाको शुल्क महंगो छ, त्यसलाई कम्पनीले प्रतिस्पर्धी कम्पनीहरुको सरह बनाउनु पर्दछ, त्यसैको लागि बोर्डबाटै पारित गरेर हामीले पत्र काटेका हौं,’ ती अधिकारीले दाबी गरे ।

ती अधिकारीकाअनुसार सो पत्र पठाएर जानकारी गराउन भन्दा पनि एनसेलले सेवा शुल्क कसरी कम गर्न सक्दछ भन्ने विषय स्पष्ट पार्न भनिएको हो । यसअघि पनि पटक पटक अनौपचारिक छलफलमार्फत सो शुल्क घटाउन भनिएको ती अधिकारीले स्पष्ट पारे

प्राधिकरणले यसअघि नेपाल टेलिकम र एनसेलको डाटाको सेवा शुल्क एकै दिन बोर्डबाट पारित गरेको थियो । प्राधिकरणकाअनुसार २०७० साल माघ १० गते नेपाल टेलिकमको डाटा शुल्क प्रति एमबी रु.१ (कर बाहेक) लिन अनुमति दिईएको थियो भने सोहि मितिमा एनसेलको डाटा शुल्क प्रति एमबी रु.३ (कर बाहेक) लिन अनुमति दिईएको थियो ।

त्यस्तै अर्को टेलिकम कम्पनी स्मार्ट टेलिकमले पनि डाटा सेवा तर्फ १ रुपैयाँ ५० पैसा (कर बाहेक) प्रति एमबी सेवा नियमित शुल्क लिईरहेको छ ।

हालसम्म पनि एनसेलले प्राधिकरणबाट अनुमति लिएको सोहि सेवा शुल्कअनुसार नै ग्राहकहरुसँग डाटामा शुल्क लिईरहेको छ, जून प्रतिस्पर्धीको भन्दा तीन गुणा अधिक भएको गूनासो रहेको छ। प्राधिकरणले आगामी दिनमा एनसेलको शुल्कलाई प्रतिस्पर्धी कम्पनीको हाराहारीमा नै ल्याउने गरि तयारी गरिरहेको प्राधिकरणका अधिकारीहरुको भनाई छ।

प्राधिकरणकाअनुसार भ्वाइसमा भने प्रतिस्पर्धी कम्पनीहरुको सेवा शुल्कमा धेरै अन्तर नभएपनि डाटामा भने अत्यधिक भिन्नता देखिएको भन्दै सो पत्र काटिएको हो ।

भ्वाइस तर्फ नेपाल टेलिकमको नियमित शुल्क १ रुपैयाँ ५० पैसा रहेको छ भने एनसेलको १ रुपैयाँ ९९ पैसा रहेको छ । अर्को टेलिकम कम्पनी स्मार्ट टेलिकमले पनि भ्वाइस सेवा तर्फ नियमित शुल्क १ रुपैयाँ ५० पैसा (कर बाहेक) लिँदै आएको छ ।

TK Viber

प्रकाशित: ९ मंसिर २०७५, आईतवार

Loading...